काठमाडौं, ५ चैत । नेपालको मूल्य वृद्धि सरकारले अनुमान गरेभन्दा बाहिर देखिएको छ। देशको आर्थिकस्थितीमा सुधार देखिए पनि मूल्यवृद्धिमा भने चाप देखिएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/ ७७ को ७ महिनासम्मको नयाँ रिपोर्टमा मूल्यवृद्धि सरकारले अनुमान गरेभन्दा बढी भएको देखिएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मुल्य वृद्धिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको सुरुवातबाट नै सरकार आफुले लिएको मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै गएको छ । चालु आर्थिक वर्षको सात महिनासम्ममा मुल्यवुद्धि भने ७ प्रतिशत भएको छ ।
गत आर्थिक वर्षको माघ महिनासम्म मूल्यवृद्धि ४.३५ प्रतिशतमात्रै थियो ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।
त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वद्धि उच्च रहेको छ ।
माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।
यस अवधिमा क्षेत्रअनुसार सबैभन्दा धेरै महंगी काठमाडौं उपत्यकामा देखिएको छ । काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । गत महिनासम्म तराईमा मूल्यवृद्धि धेरै थियो ।
यसैगरी अहिले तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको माघमा काठमाडौं उपत्यकामा ५.१९ प्रतिशत, तराईमा ३.४४ प्रतिशत, पहाडमा ४.९१ प्रतिशत र हिमालमा ५.२७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।