यी हुन् ७७ सालका सार्वजनिक बिदा

काठमाडौं, १८ चैत । सरकारले २०७७ सालको सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीमा शनिवार बाहेक बर्ष भरी कुल १३ सार्वजनिक विदा परेको छ ।

देशभर हुने सार्वजनिक विदामा नव वर्ष, महाशिवरात्री, होली, दशैँ तिहार विदा, मजदुर दिवस, संविधान दिवस, महिला दिवस र बुद्ध जयन्ति रहेका छन् । यस पटक दशैँ र तिहारको एक एक वटा विदा शनिवार कै दिन परेको छ ।

सरकारले पर्व बिदामा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा राखेको छ ।

त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ । भदौ ५ गते शुक्रबार तीज बिदा दिएको छ भने जितिया पर्वमा पनि महिला कर्मचारीहरुको लागि बिदा दिएको छ ।

२०७७ सालमा ६४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो ।

उक्त सूचीअनुसार वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुनेछ । त्यस्तै, नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १९), बुद्ध जयन्ती (बैशाख २५), संविधान दिवस (असोज ३), दशैं बिदा (कात्तिक ७ देखि ११), तिहार बिदा (कात्तिक २९ देखि मंसिर १) सम्म हुनेछ ।

त्यस्तै, महिला दिवस (फागुन २४ गते), शिवरात्री (फागुन २७ गते) तथा फागुपूर्णिमा (चैत १५ गते पहाडी ५६ जिल्ला र १६ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ । यसो गर्दा बिदा कुल ६७ दिन हुन जान भए पनि संविधान दिवस, दशैं र तिहारमा १/१ दिन शनिबार पर्ने भएकोले कुल बिदा ६४ दिनमा सीमित हुन लागेको हो ।

यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा (साउन २० गते), इन्द्रजात्रा (भदौ १६ गते, घोडेजात्रा (चैत २९ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ । हरितालिका तिजमा भदौ ५ गते महिलालाई बिदा दिइनेछ ।

त्यस्तै, उभौली पर्व (वैशाख २५ गते), गौरा पर्व (भदौ १० गते), इदुल फित्र, छठपर्व (मंसिर ५ गते), क्रिसमस डे (पुस १० गते), उधौली पर्व (पुस १५ गते), माघेसंक्रान्ति (माघ १ गते), सोनाम ल्होसार (माघ ३० गते), ग्याल्पो ल्होसार (चैत १ गते) सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित वाती, क्षेत्र वा जिल्लामा बिदा दिने व्यवस्था गरिएका छ ।

जितिया पर्व (भदौ २५गते) पनि जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा दिइनेछ ।

त्यस्तै, वसन्त पञ्चमीमा शिक्षण संस्थामा बिदा दिइने छ । अन्तर्राष्ट्रिय अपांग दिवसमा मंसिर १८ मा अपांगता भएका कर्मचारीका लागि बिदा दिइनेछ ।

महागुरु फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते र गुरु नानकको जन्म जयन्तीका दिन मंसिर १५ गते पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ ।

गणतन्त्र दिवस (जेठ १५ गते), जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस (जेठ २१ गते), निजामति सेवा दिवस (भदौ २२ गते), राष्ट्रिय एकता दिवस (पुस २७ गते), शहीद दिवस (माघ १६ गते) तथा राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते)लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन ।

सरकारका कुटनीतिक नियोगहरुलाई सम्बन्धित देशको बिदा अनुसार बढीमा १८ दिन अतिरिक्त बिदा आफैंले व्यवस्थापन गर्नसक्ने जनाइएको छ । कार्यालय समय भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म र अन्य समयमा १० बजेदखि ५ बजेसम्म हुनेछ । शुक्रबार आधा दिन ३ बजेसम्ममात्रै कार्यालय खुल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here