आन्तरिक कर्जा घट्यो, विदेशी विनिमय सञ्चिति बढ्यो

काठमाडौं, ८ बैशाख । चालु आर्थिक वर्षको पहिलो आठ महिना फागुन सम्ममा कुल आन्तरिक कर्जा ४.८ प्रतिशतले बढेको छ । यो गत वर्षको भन्दा कम हो ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा १३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुन मसान्तमा यस्तो कर्जा १२.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको २०७६ फागुन मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.३ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७५ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.९ प्रतिशत र १४.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्र्फ ११.३ प्रतिशत, निर्माण क्षेत्रतर्फ ११.६ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ९.९ प्रतिशत र सेवा क्षेत्रतर्फ १४.३ प्रतिशतले कर्जा बढेको छ ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६.१ प्रतिशतले बढेको छ ।

गत फागुन मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.३ प्रतिशत, ३१.४ प्रतिशत र ४९.९ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३३.५ प्रतिशत र ४७.५ प्रतिशत रहेको थियो ।

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.९ प्रतिशत रहेको छ । २०७५ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४५ प्रतिशत रहेको थियो ।

चालु खाता घाटा घट्यो

समीक्षा अवधिमा चालु खाता घाटा रु.१२४ अर्ब ९३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१९१ अर्ब ४९ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ६८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १० करोड रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३७ अर्ब ८४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५८ अर्ब ९९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनासम्ममा ५१ करोड ७० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको छ ।

विदेशी विनिमय सञ्चिति १०२ खर्बले बढ्यो

२०७६ असार मसान्तमा रु.१० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले बृद्धि भई २०७६ फागुन मसान्तमा रु.११ खर्ब ३६ अर्ब ५१ करोड बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ फागुन मसान्तमा ९ अर्ब ६० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ फागुन मसान्तमा रु.९८३ अर्ब ५५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७६ फागुन मसान्तमा रु.१५२ अर्ब ९६ करोड पुगेको छ । २०७६ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here