महालेखाको प्रतिवेदनमा टेलिकमको नाफाबारे तथ्य अपूर्ण: नेपाल टेलिकम

काठमाडौं, ४ वैशाख । नेपाल टेलिकमले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा टेलिकमको नाफाबारे उल्लेख तथ्य अपूर्ण रहेको बताएको छ ।

महालेखा परीक्षकको कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकको नाफा उल्लेख्य रहेको तर त्यसअनुसार त्यसलाई नियमन गर्नुपर्ने उल्लेख गरेको थियो ।

महालेखाको प्रतिवेदनमा अनुगमन र नियन्त्रण शिर्षकको बुँदा नम्बर २०५ मा दूरसञ्चार सेवाको मुल्य नियमन बारे उल्लेख छ ।

महालेखाले अमेरिका, बेलायत, यूरोप, जापान, चीन, भारत, मलेसिया, लगायतका देशमका टेलिकम कम्पनीहरुको नाफा र नेपालका कम्पनीहरुको नाफालाई तुलना गरेको छ ।

प्रतिवेदनमा नेपाल टेलिकमको सञ्चालन नाफा ५८ प्रतिशत रहेको र अर्को एक निजी कम्पनी (एनसेल)को नाफा ६२.४० प्रतिशत रहेको उल्लेख छ । अन्य देशमा टेलिकम क्षेत्रमा २४ देखि ३८ प्रतिशत सम्म नाफा भएको तर नेपालमा भने अत्यधिक भएको प्रतिवेदनमा भनिएको छ ।

तर, नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भने महालेखाको प्रतिवेदनमा रहेको सूचना अपूर्ण रहेको जिकीर गरेकी छिन् । प्रवक्ता प्रतिभा वैद्यका अनुसार नेपाल टेलिकमको खुद सञ्चालन नाफा ३८.६२ प्रतिशत मात्रै रहेको छ ।

त्यस्तै प्रतिवेदनमा उल्लेख अन्य देशका कम्पनीको नाफा आधिकारीक नभएको हुन सक्ने पनि उनले तर्क गरेकी छिन् ।

यस्तै फ्रिक्वेन्सी प्रयोग गरेबापत नेपाल टेलिकमले सरकारलाई प्रत्येक प्रत्येक ५/५ वर्षमा २० अर्ब बराबरको कर तिर्न पर्ने तर, अन्य देशमा त्यसबापत धेरै कर नहुने भएकाले अन्य देशका टेलिकमसँग नेपालका दूरसञ्चार प्रदायकको तुलना गर्न नमिल्ने पनि उनले बताइन् ।

नेपाल टेलिकमले आफ्नो एघारौं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७४/७५ मा मात्रै १७ अर्ब ४८ करोड खुद नाफा गरेको उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here