रेमिट्यान्स आप्रवाह २२ प्रतिशतले घट्ने

काठमाडौं, बैशाख ११ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण दक्षिण एशियामा आउने रेमिट्यान्समा करीब २२ प्रतिशतले कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

त्यो भनेको करीब १०९ अर्ब अमेरिकी डलर बराबरको रकम हो ।

महामारीलाई रेमिट्यान्सको आँखाबाट हेर्दा देखिने आर्थिक परिदृष्य निराशाजनक रहेको बताउँदै उसले महामारी र त्यसका कारण सिर्जित बन्दाबन्दीले अधिकांश मुलुकको आर्थिक वृद्धि नराम्रोसँग प्रभावित हुने र त्यसको प्रभाव रेमिट्यान्समा देखिने निश्कर्ष निकालेको हो ।

सन् २०१९ मा दक्षिण एशियामा आउने विप्रेषण ६.१ प्रतिशतले बढेको थियो ।

‘कोरोनाभाइरसका कारण सिर्जित आर्थिक मन्दी र तेलको मूल्यमा आएको कमी रेमिट्यान्समा आउने कमीका मुख्य कारण हुन्’ बैंकले भनेको छ ।
खासगरी खाडी मुलुक, मलेशिया, अमेरिका, युरोपेली संघ र बेलायतबाट आउने रेमिट्यान्समा उल्लेख्य मात्रामा कमी आउने छ । यी मुलुक र क्षेत्र नेपाली कामदारका पनि मुख्य गन्तव्य हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्समा १० प्रतिशतसम्मले कमी आउने बताएको छ । यद्यपि कोरोनाभाइरसको प्रभाव भने आगामी आर्थिक वर्षसम्मै देखिने र समस्या यथावन रहने सम्भवना रहेको पनि विज्ञहरुले बताएका छन् । गत वर्ष नेपाल भित्रिने रेमिट्यान्समा १६.५ प्रतिशतले वृद्धि भएको थियो ।

विश्व बैंकका अनुसार विश्वव्यापीरुपमा भने रेमिट्यान्स आप्रवाहमा २० प्रतिशतले कमी आउने छ ।

युरोप र मध्य एशियामा रेमिट्यान्स २७.५ प्रतिशतले घट्ने छ भने आफ्रिकाको सहारा क्षेत्रमा २४.१ प्रतिशत, मध्यपूर्व र उत्तरी अफ्रिकामा १९.६ प्रतिशत, दक्षिण अमेरिका र क्यारिवियन क्षेत्रमा १९.३ प्रतिशत र पूर्वी एशिया र प्रशान्त क्षेत्रमा १३ प्रतिशतले कमी आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here