बढ्दो गर्मीसँगै यी कुराहरुमा विशेष ध्यान दिनुहोस्

काठमाडौं । गर्मी बढ्दो क्रममा भएतापनि लकडाउनको कारण अधिकांस घरभित्रै रहेका कारण त्यति अनुभव गर्न पाएका छैनन् । गर्मी महिना अनेकौ रोगले सताउने हुनाले स्वास्थ्यमा पनि बढ्ता ध्यान दिनुपर्दछ ।

आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनुपर्छ । गर्मी मौसममा डि–हाइड्रेसन (जल विनियोजन), भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ ।

त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनैपर्छ । यो स्थितिबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ।

गर्मी महिना लागे लगत्तै सनस्क्रिनको समुचित उपयोगले छालामा घामको तत्कालिक र दीर्घकालिक प्रभावबाट धेरै मात्रामा जोगिन सकिन्छ । केही सनस्क्रिन वा सनब्लकले सूर्यको परावैजनी किरणको कुप्रभावबाट जोगाउन सक्छ ।

सनब्लक र सनक्रिममा खासै भिन्नता छैन दुवैले सूर्यको विकिरणबाट बचाउँछ । तरपनि सनस्क्रिनले युभीबीको प्रभावबाट बचाउँछ भने सनब्लकमा जिंक अक्साईड पनि हुने भएकोले सम्मुचमा सूर्यको परावैजनी किरणलाई छालाको सम्पर्कमै आउन रोक्छ ।

सूर्यको परावैजनी किरणका कारण छालाको रंगमा परिवर्तन आउनुका साथै जलन हुने तथा छालामा समय अगावै बुढ्यौली निम्तिने हुन्छ । यसका कारण छालामा सुख्खापन आउनुका साथै चाउरीपना आउने, सेतो दाग देखिने तथा कालान्तरमा क्यान्सर हुने पनि हुनसक्छ ।

खोला, ताल तलैया छेउछाउको बालुवाको थुप्रो, पानी, कंक्रिटबाट सूर्यको हानीकारक किरण बढ्ता परावर्तित हुन्छ भने घर वा सवारी साधनको झ्यालबाट आउने अप्रत्यक्ष किरणले पनि छालामा हानी पुर्याउछ । छालालाई घामको कारणले हुने क्षतिबाट जोगाउन दिनभरको घामबाट सकेसम्म टाढा रहनु फाइदाजनक हुन्छ ।

गर्मी मौसममा छाला सम्बन्धि अन्य समस्या गर्मी मौसममा संक्रामक (सरुवा) रोगहरु तुलनात्मक रुपमा बढी नै लाग्ने गर्दछ । टाईफाइड, औलो, कालाज्वर लगायतका सरुवा रोगहरुका लक्षण चिन्ह विभिन्न खाले छालाका समस्या पनि हुनसक्छ ।

विभिन्न खालका घाउ खटिरा जस्ता संक्रमणहरु सुुरुमा भाइरसका कारण उत्पन्न भएपनि त्यसमा ब्याक्टेरियाले थप आक्रमण गरेपछि स्थिति जटिल अवस्थामा पुग्न सक्छ ।

यसैगरी यो मौसममा आँखा पाक्ने समस्याका साथै बहुला कुकुर तथा सर्पको टोकाइका कारण छालामा पनि समस्या देखिन सक्छ । गर्मी मौसमसँगैको आगलागीका कारण पनि छाला डढ्ने, चोटपटक लाग्ने हुन्छ ।

गर्मी मौसममा शरीरको पसिना उत्पादन तथा उत्सर्जन दरमा वृद्धि हुन्छ । यहि उच्च मात्राका पसिनाको कारण शरीरमा आद्र्रता बढ्छ । यसले गर्दा छालामा ब्याक्टेरियल तथा फंगस संक्रमण हुने सम्भावना बढ्छ ।

यदि पसिना ग्रन्थीको मुख थुनियो भने शरीरका विभिन्न भागमा स–साना विमिरा, डण्डीफोर लगायतका छालाका समस्या बढी आउँछ । यस्तो समस्या हुँदा चिलाउने, जलन हुने, पिप भरिने, दुख्ने आदि हुन्छ ।

विशेषगरी अधिक मोटोपना भएका व्यक्तिको घाँटी पछाडि, स्तनमुनि, घुँडा पछाडि, काखी तथा काछ अर्थात् छाला जोडिने ठाउँको छाला बाक्लिने, छालाको रङ परिवर्तन हुने समस्याका साथै गर्मी मौसममा फंगस संक्रमण हुने, पाछिने हुन्छ ।

सरुवा रोग तथा छाला सम्बन्धी समस्याको स्थायी समाधानका लागि नियमित रुपमा सरसफाई गर्नुको विकल्प छैन । लामखुट्टेको टोकाईका कारण हुने औलो, कालाज्वरमा पनि कतिपय छालाका समस्या हुन सक्छन् ।

अतः गर्मी बढेसँगै लामखुट्टेबाट बच्नका लागि लिक्विडेटर बाल्ने, म्याट बाल्ने, धुप जलाउने भन्दा लामो बाहुला भएको लुगा लगाउने, झुल लगाउने, झयाल ढोकामा तारजाली ठोक्ने बुद्धिमानी हुन्छ ।

बढी गर्मी भएको ठाउँमा दिनमा दुईपटक सम्म नुहाउने गर्नु पर्दछ । पोलिस्टर वा नाईलन मिक्स सिन्थेटिक एवं जिन्स लुगाफाटा भन्दा सेतो, चहकिलो रङको सुतीको कपडा लगाउने गर्नुपर्दछ ।

हावा खेल्ने खुकुलो खालको लुगा स्वस्थ्यकर हुन्छ । भित्री लुगा दिनहुँ फेर्ने गर्नु पर्दछ । शरीरको आद्र्रता कायम राख्न अधिक मात्रामा पानी पिउनु पर्दछ । घरमा आएपछि अर्थात् कामबाट फर्केपछि एकैछिनको आराम पछि हातमुख धुने गर्नु पर्दछ ।

अझै पनि काखी गन्ध आउँछ भने डियोडेरेन्ट स्प्रे तथा लोसन प्रयोग गर्न सकिन्छ । तर सधैंभरि डियोडेरेन्ट वा परफ्युम प्रयोग गर्नु भन्दा नियमित शारीरिक सरसफाईमा ध्यान दिनु बुद्धिमानी हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here