आजसम्म नेपालमा ८२ जना कोरोना संक्रमित पत्ता लागेका छन् । एक हप्ता पहिले उदयपुर इपिसेन्टर देखिएको थियो भने अहिले नेपालगञ्ज देखिएको छ । यसले आम मानिसमा चिन्ता बढाएको छ । मैले गरेको अध्ययन अनुसन्धानले नेपालको स्थिति यस्तो छ ।
– नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको साढे ३ महिना भयो । यो अबधिमा ६ बर्षको बालिकादेखि ८१ बर्षकी हजुरआमा संक्रमित भएका छन् । ६५ बर्षकी दीर्घ रोग भएकी बाग्लुंगकी आमा पनि संक्रमित हुनुभएको छ ।
खुसीको कुरा के छ भने एक जना संक्रमितलाई पनि आइसीयुमा राख्न परेको छैन, भेन्टिलेटर प्रयोग गर्नुपरेको छैन । कसैको पनि मृत्यु भएको छैन ।
– २-३ वटा केस बाहेक अरु संक्रमितमा कुनै पनि लक्षण देखिएको छैन । कोहि पनि गम्भीर भएका छैनन् ।
– बिरामी भएर तथा अस्पताल पुगेर जांच गर्दा कोरोना संक्रमण देखिएको छैन । विदेशबाट आएका केहि संक्रमित आफै कोरोना संक्रमण टेस्ट गर्न अस्पताल गएका थिए भने अधिकांश संक्रमितलाई स्थानीयको उजुरीको आधारमा, क्वारेन्टाइनमा बसेका मध्ये परिक्षण गर्दा तथा कन्ट्याक्ट ट्रेसिंगको आधारमा रोग पत्ता लगाइएको छ ।
– एकै परिवारमा कोहि संक्रमित छन्, कोहि संक्रमित छैनन् ।
– कोरोना संक्रमण भित्रभित्रै भुसको आगो भएको छ कि भन्ने शंका ब्यापक छ । तर यो सत्य होइन । संक्रमण धेरै फैलिएको भए उपचार खोज्ने, अस्पताल जाने, आइसीयुमा भंर्ना हुने तथा मृत्यु हुनेको संख्या बढ्ने थियो ।
यसबाट भन्न सकिन्छ कि संक्रमित छन्, तर ठूलो संख्यामा छैनन् ।
– नेपालमा देखिएको कोरोना संक्रमण अरु देशमा भन्दा फरक छ । मलाइ लाग्छ, हामीकहाँ आएको कोरोना भाइरसको स्ट्रेन निकै कमजोर छ । हाम्रो हावापानी, खानपिन, परम्परा आदिको कारण पनि यहाँको कोरोना भाइरस घातक नदेखिएको हुनसक्छ ।
– नेपालका अनुसन्धानकर्ताले हामीकहाँ देखिएको कोरोना भाइरसको जिनम टेस्ट गर्न बाहिर पठाउनु पर्दछ । यसबाट थाहा हुन्छ कि अमेरिका, बेलायत, युरोप आदि देशमा फैलिएको कोरोना भाइरस र नेपालमा देखिएको कोरोना भाइरस एकै प्रजाति हो कि फरक हो ? भन्ने तथ्य ।
– उदयपुर, बिरगंज र नेपालगंजमा एकै समुदायमा धेरै संक्रमित छन् । यसको कारण सामाजिक दुरी कायम नभएकोले मात्र हो कि अन्य कुनै जेनेटिक कारण छ ? यसको अनुसन्धान हुनु जरुरी छ ।
– विश्व तथ्यांक हेर्ने हो भने, WHO, CDC आदिको रिपोर्ट हेर्ने हो भने एकजना संक्रमितले २ देखि ३ जनालाई मात्र संक्रमण सार्न सक्दछ । चीनको बुहानमा कोरोना संक्रमण पिकमा पुग्दा एक संक्रमितले औसतमा ५ जनालाई सारेको बताइएको थियो ।
केहि समयपछि बुहानमा एक संक्रमितले ४ जना, ३ जना हुँदै सार्ने डर घटेको थियो | तसर्थ एकजनाले हामीले कल्पना गरेजस्तो धेरै व्यक्तिलाई संक्रमण सार्न सक्दैन ।
– नेपालमा संक्रमित अधिकांश विदेशबाट आएका व्यक्तिलाई देखिएको छ | लकडाउन, क्वारेन्टाइन आदिको कारण उनीहरु समुदायमा निस्किन पाएनन् ।कोरोना भाइरस मान्छेलाई लाग्ने बित्तिकै र १५ दिनभित्र जति अरुलाई संक्रमण सार्न सक्छ, १५ दिनपछि सार्ने क्षमता घट्दै जान्छ ।
त्यसैले बाहिरबाट आएका व्यक्तिहरुबाट स्थानीयमा त्यति धेरै सर्न पाएको छैन ।
– संक्रमित मध्ये ८५ % लाई आफै निको हुने र १५ % मा गम्भीर लक्षण देखिने, ८-१० % लाई आइसीयु / भेन्टिलेटर चाहिने, ३ % को मृत्यु हुने विश्वव्यापी तथ्यांक तथा दावी नेपालमा लागु भएको छैन । यहाँ ९० % लाई लक्षण देखिएको छैन । १० % लाई हल्का देखिएको थियो । आइसीयु, भेन्टिलेटर र मृत्यु अरु देशमा जस्तो यहाँ आबश्यक भएको छैन ।
– अन्य देशमा मलेरिया, एचाइभी, इबोला, जापानिज इन्फ्लुएन्जा आदिमा प्रयोग गरिने औषधि चलाइरहेका छन् । हामीकहाँ ती औषधि चलाउनु परेको छैन । सामान्य पारासिटामोल, खोकीको औषधि, सास फेर्न सजिली हुने औषधि र २-३ हप्ता अस्पताल बसेर निको भएका छन् ।
– अन्य देशमा जनसंख्या धेरै भएका सहरमा हजारौं / लाखौँ संक्रमित भएका छन् । तर नेपालमा जनसंख्या धेरै भएका सहरमाभन्दा सिमाबर्ती क्षेत्रमा संक्रमित धेरै छन् | बोर्डर १०० % शिल गर्ने हो भने हाम्रो आन्तरिक अवस्था बलियो छ ।
– तसर्थ कोरोना संक्रमणको कारण हामी आत्तिनु पर्दैन । सामाजिक दुरी कायम गर्ने हो भने हामी अझै सुरक्षित हुन्छौं ।
अर्को कुरा संक्रमित पत्ता लाग्नु राम्रो कुरा हो । परिक्षण जति बढायो, संक्रमित पता लाग्ने अनि उनीहरुलाई आइसोलेसनमा राख्ने अवसर मिल्छ । उनीहरुले समुदायलाई रोग सार्न पाउंदैनन् | सरकारले PCR परिक्षण ब्यापक रुपमा गर्नु जरुरी छ ।