आईएनजीओले गरे सरकारलाई साढे ४ करोडको मेडिकल सामग्री सहयोग

काठमाडौं, २४ वैशाख । अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआईएन)ले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको छ ।

एआइएनको पहलमा १६ वटा संस्थाले संयुक्त रुपमा खरिद गरेको ती मेडिकल सामग्री झण्डै रु. ४ करोड ५३ लाख नेपाली रुपैयाँ बराबरको रहेको उसले बताएको छ ।

हस्तान्तरण गरिएको सामग्रीमा पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीइ) सेट, सेफ डेलिभरी किट, इन्फ्रारेड थर्मोमिटर, वाटर एण्ड एयर प्रुफ एप्रोन, सर्जिकल स्टेरिल ग्लोब्स, युटिलिटी ग्लोब्स, केएन९५ मास्क र सर्जिकल मास्क, सर्जिकल गगल्स तथा खासगरी कोरोना भाइरस नियन्त्रणका लागि पहिलो पंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य, स्यानिटाइजर र किटनाशक वस्तु लगायत छन् ।

सहयोग गर्ने आईएनजीओहरुमा एक्सन एड, आड्रा नेपाल, केयर नेपाल, फेयरमेड, गुड नेभर्स इन्टरनेशनल नेपाल, आइएनएफ नेपाल, आइपास नेपाल, लुथरन वल्र्ड फेडेरेसन, माउन्टेन चाइल्ड, वन हर्ट हेल्थ, अक्सफाम, प्लान इन्टरनेशनल, प्राक्टिकल एक्सन, युएमएन, वाटर एडसहित गैसस न्याय हेल्थ नेपाल रहेका छन् ।

स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको उक्त संयुक्त सहायताका अलावा कोभिड–१९ को पूर्वतयारी र प्रतिकार्यका लागि एआइएनमा आवद्ध १ सय २९ मध्ये ६५ वटा संस्थाले सक्रिय रुपमा काम गरिरहेका छन् ।

यी संस्थाहरुले अहिलेसम्म कोभिड–१९ को रोकथाम र प्रतिकार्य तथा जीविकोपार्जन र आर्थिक उत्थानशीलता निर्माणका लागि कम्तिमा २ अर्ब रुपैया सहयोग गरेको एआईएनले बताएको छ ।

मेडिकल सामग्रीहरु बुधवार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, समाज कल्याण परिषद्का कार्यवाहक सदस्य सचिव शिवकुमार बस्नेत तथा एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे ।

सो अवसरमा मन्त्री पार्वत गुरुङले भने, कोरोनाभाइरसको महामारीको सामना गर्दा गैरसरकारी निकायसँग सहज र प्रभावकारी समन्वय गर्न तथा यो क्षेत्रलाई अनुकूल वातावरण बनाउन हामी प्रतिवद्ध छौं ।

मेडिकल सामग्रीहरुको खरिद चुनौतीपूर्ण भएको अहिलेको संकटको समयमा गैरसरकारी संस्थाहरुको सहयोग प्रशंसायोग्य भएको मन्त्री ढकालले बताए ।
यी सामग्रीहरुलाई प्रदेश र जिल्लाहरुमा पु¥याउन मन्त्रालयसँग समन्वय गर्न म सबै संस्थाहरुलाई आग्रह गर्दछु, उनले भने ।

एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा दीर्घकालीन पुनर्लाभ र मुलुकको उत्थानशीलता निर्माणका लागि सरकार, विकास साझेदार र नागरिक संघसंस्थाले काँध मिलाई आपसमा सवल ढंगमा काम गर्नु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here