खाद्यान्न र तरकारीको मूल्यवृद्धि उच्च, निर्माण सामग्रीको मूल्य घट्यो

काठमाडौं, ५ जेठ । चालु आर्थिक वर्षको नौ महिनासम्ममा महँगी बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । उसले आइतबार राती सार्बजनिक गरेको नौ महिनाको समष्टीगत आर्थिक तथ्यांक अनुसार २०७६ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको बैंकले बताएको छ ।

गत चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ भने गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

कोरोनाभाइरसको महामारीबाट जोगिन सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गरेको थियो ।

सो अवधिमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मुद्रास्फीति रहेको थियो ।

त्यसैगरी २०७६ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ४.३८ प्रतिशत रहेको थियो ।

उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.२० प्रतिशत, ८.४७ प्रतिशत र २.७५ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.७६ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here