दुई महिनामा ८३ अर्ब निक्षेप संकलन, ४९ अर्ब २ करोड अधिक तरलता

काठमाडौं, १४ जेठ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेसँगै आर्थिक गतिविधि घटेपनि बैकिङ कारोबार भने घटेको छैन् ।

गत चैत ११ गतेबाट देश लकडाउनको अवस्थामा छ । लकडाउनको अवधि चैत र वैशाख दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

ऋण बिस्तार भने २२ अर्ब रुपैयाँ मात्र छ। २०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा बैंकिङ्ग प्रणालीमा सुविधाजनक तरलता रहेको छ । बैशाख महिनामा बैकिङ्ग प्रणालीमा औसत ४९ अर्ब २ करोड रुपैयाँ अधिक तरलता रहेको छ ।

लकडाउन हुनभन्दा अगाडी फागुन मसान्तसम्म बैंकहरुले ३० खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

चैतदेखि बैशाखसम्मको अवधिमा ३१ अर्ब ६९ करोड रुपैयाँ तरलता प्रवाह भएको छ । यस अन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत् १ अर्ब ५६ करोड रुपैयाँ खुद तरलता प्रवाह भएको छ ।

२०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरुबीच १ खर्ब ५३ अर्ब २० करोड रुपैयाँ र वित्तीय संस्थाहरुबीच (बाणिज्य बैंकहरुबीच बाहेक) ८ अर्ब ३ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबार दर २०७६ चैतमा २.१३ प्रतिशत रहेकोमा २०७७ बैशाखमा ४.०६ प्रतिशत कायम भएको छ ।

फागुन मसान्तको तुलनामा बैंकहरुको बैशाखसम्म निक्षेप संकलन ३ प्रतिशतले बढेको छ ।

कर्जा भने लकडाउन सुरु भएपछि घट्दै गएको छ । चैत मसान्तमा २७ खर्ब ४८ अर्ब रुपैयाँमा रहेको कर्जा २७ खर्ब ३१ अर्ब रुपैयाँमा घटेको छ ।

त्यस्तै राष्ट्र बैकको तथ्याङक चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने योजना रहेकोमा २०७७ जेठ ९ सम्ममा ४५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल, १ खर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, १३ करोड ५० लाख बराबरको नागरिक बचतपत्र र ५० लाख २० हजार बराबरको बैदेशिक रोजगार बचतपत्रसमेत गरी १ खर्ब ४५ अर्ब १४ करोड २० हजार आन्तरिक ऋण परिचालन भएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here