कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापन कार्यविधि संशोधन

प्रतिनिधी तस्विर

अन्य रोगसँगै कोरोना देखिए कोरोनाकै कारण मृत्यु भन्न नमिल्ने

काठमाडौं, २२ जेठ । सरकारले कोरोना भाइरसले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न ल्याएको कार्यविधि संशोधन गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट मृत भएकाको शव व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।

संशोधित कार्यविधिअनुसार अब अन्य रोगबाट मृत्यु भएको स्पष्ट भएमा त्यसलाई कोरोनाबाट मृत्यु भएको मान्यता नदिइने जनाइएको छ ।

कार्यविधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने छ।

मृतकको शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ। कार्यविधिमा उल्लेख भए अनुसार शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउँदा सर्तकता अपनाउनुपर्छ।

कार्यविधिमा भनिएको छ, ‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरूलाई भन्ने बुझ्नुपर्दछ।

कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ । कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन ।’

त्यसैगरी, बेवारिसे व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएमा वा त्यसको शंका लागेमा त्यस्तो व्यक्तिको शवलाई भने गाड्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

अघिल्लो कार्यविधिमा मृत्यु हुँदाको बखत कोरोना संक्रमण देखिएको व्यक्तिलाई कोभिड १९ का कारण मृत्यु भएको मान्ने गरिएको थियो ।

यसैगरी मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्य अवस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ ।


यस्तो छ निर्देशिका

कसरी गरिन्छ कोरोना लागेर मृत्यु भएकाको शव व्यवस्थापन, यस्तो छ कार्यविधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here