लघुवित्त क्षेत्रकै ठूलो आईपीओ खुल्यो, कति कित्ताका लागि गर्ने आवेदन ?

काठमाडौं, १० असार । एनआईसी एसिया लघुवित्तले बुधबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।

निष्काशनमा आउने आईपीओमध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । यस्तै ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरेको छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्नेछ ।

१०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुन लागेको लघुवित्तको आईपीओमा असार १० देखि १४ गतेसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ । १४ गतेसम्म सबै सेयर बिक्री नभएमा असार २४ गतेसम्म आवेदन दिने समय रहने लघुवित्तले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले लघुवित्तको सेयरमा कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यलयबाट आवेदन गर्न सकिनेछ । साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् ।

लघुवित्तले निष्कासन गर्न लागेको आईपीओ लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो हो । लघुवित्तले निष्काशन गर्न लागेको आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने छ।

धितोपत्र बोर्डले पछिल्लो समय लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ।

यसअनुसार लघुवित्तले सर्वसाधारणमा ४४ लाख ४३ हजार २०० कित्ता सेयर निष्काशन गर्न लागेको हो। यसबाट ४ लाख ४४ हजार ३२० जना आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्न पुग्दछ।

आईपीओ ४ लाख ४४ हजार ३२० भन्दा कम आवेदक भएको खण्डमा सबै आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गर्न पुग्छ। यदि सो भन्दा धेरै आवेदकबाट आईपीओमा आवेदन गरेको खण्डमा सेयर बाँडफाँड गोलाप्रथामा जानेछ भने थोरै संख्यामा आवेदन परेको खण्डमा केही आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरि २० कित्तासम्म पाउनसक्छन्।

यसअनुसार लगानीकर्ताले यस आइपीओमा अधिकतम २० कित्ताका लागि २ हजार रुपैयाँ बराबरको आवेदन गर्दा प्रयाप्त हुने देखिन्छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। जसमध्ये ६७.८७ प्रतिशत बराबरको १ अर्ब ४५ लाख रुपैयाँ संस्थापक समूहतर्फको पूँजी चुक्ता भैसकेको छ। बाँकी ३२.१३ प्रतिशत बराबरको ४७ करोड ५५ लाख रुपैयाँ आईपीओ बिक्रीबाट जुटाउन लागेको हो।

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १६.२९ रुपैयाँ कायम गरेको छ। यस अवधिमा कम्पनीको जगेडा कोषको आकार २२ करोड ७५ लाख ९ लाख रुपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ १२२.६४ रुपैयाँ छ। यस्तै खराब कर्जा अनुपात ०.३२ प्रतिशत, लगानीमा प्रतिफल १८.०३ प्रतिशत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here