विदेशी लगानी प्रतिवद्धता उत्साहजनक, लकडाउनमा आयो ९५ करोड २० लाख

काठमाडौं, १० असार । विश्वको अर्थतन्त्र नै कोरोनाको चपेटामा परेपनि विदेशी लगानी प्रतिवद्धता उत्साहजनक देखिएको छ ।

लकडाउनको अवधि (चैत्र–जेठ) मा उद्योग क्षेत्रमा ९५ करोड २० लाख रुपैयाँको लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी प्रत्यक्ष आउन नसके नेपालमा रहेका उनीहरुका प्रतिनिधिहरुले लगानी स्वीकृति गराएका हुन् ।

कोरानाको परिस्थितिमा पनि भारत, चीन, मलेसिया, सिंगापुर र नेदरल्याण्ड गरी पाँच वटा मुलुकबाट १२ वटा उद्योग स्थापना गर्न लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ ।

लकडाउनको समयमा अन्य देशको तुलनामा चीनबाट बढी लगानी प्रतिवद्धता आएको छ। चीनका लगानीकर्ताले सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रमा गरी आठ वटा उद्योग स्थापना गर्ने घोषणा गरेका छन्।

पछिल्लो समय लगानीको वातावरण बन्दै गएपछि विदेशी लगानीको प्रतिवद्धता पनि बढ्दै गएको हो । विभागकाअनुसार चालु आर्थिक वर्षको ११ महिनामा एक सय ८५ उद्योगमा ४३ अर्बभन्दा बढी विदेशी लगानी आएको छ ।

उक्त प्रतिवद्धता गतवर्षको भन्दा दोब्बर हो । । गत आवको ११ महिनामा २१ अर्ब २४ करोड विदेशी लगानी भित्रिएकोमा यस आवको यो अवधिमा लगानी प्रतिवद्धता बढेर ४३ अर्ब ७१ करोड रुपैयाँ पुगेको हो ।

विभागकाअनुसार सबभन्दा धेरै ऊर्जा क्षेत्रमा लगानी प्रतिवद्धता भएको छ । पाँचवटा ऊर्जा उद्योगमा ११ अर्ब ८२ करोड विदेशी लगानी प्रतिवद्धता भएको विभागको तथ्यांक छ । दोस्रो बढी लगानी प्रतिवद्धता सूचना प्रविधिका क्षेत्रमा भएको छ । २ वटा सूचना प्रविधि उद्योगका क्षेत्रमा १० अर्ब ५५ करोड लगानी प्रतिवद्धता आएको हो ।

पर्यटनका ६९ उद्योगमा नौ अर्ब लगानी प्रतिवद्धता भएको छ । सेवामूलकका ५३ उद्योगमा आठ अर्ब ७२ करोड लगानी प्रतिवद्धता भएको छ । विभागकाअनुसार २२ वटा उत्पादनमूलक उद्योगमा तीन अर्ब लगानी प्रतिवद्धता आएको छ । कृषि तथा वनजन्य क्षेत्रका लागि पनि ५३ करोड लगानी प्रतिवद्धता भएको छ ।

यस आवमा लगानी प्रतिवद्धता धेरै भएपनि कममात्र जनशक्तिले रोजगारी पाउने देखिएको छ । यस वर्ष सूचना प्रविधिको क्षेत्रमा धेरै लगानी आएको पनि कममात्र रोजगारीको अवसर सिर्जना हुने देखिएको हो ।

जेठसम्म भएको विदेशी लगानी प्रतिवद्धतामा ९ हजार चार सय नौ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । तर वर्षको सोही अवधिमा ११ हजार पाँच सय १४ जनालाई रोजगारी दिने प्रतिवद्धता गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here