केरल हवाई दुर्घटना : ६० प्रतिशत तलव कटौतीको तनावमा थिए पाइलट

केरल । १८ जनाको ज्यान जाने गरी भएको भारतको केरलमा भएको हवाई दुर्घटनाका अनेक पक्षबारे अध्ययन शुरु भएको छ । सो क्रममा दुर्घटनाको कारणबारे भारतीय संचारमाध्यमले प्रारम्भीक अनुमान सार्वजनिक गरेका छन् । भनिन्छ, हवाई दुर्घटना तत्कालिन कारणबाट भन्दा पनि यसको दीर्घकालिन पक्षले प्रभाव पारेको हुन्छ । इन्जिन फेल भएको अवस्थामा पनि पाइलटले जहाजलाई सकेसम्म बचाउने कोसिस गर्छन् ।

केरल पछिल्लो एक साता अधिक वर्षाका कारण पनि समस्यामा थियो । जतिबेला जहाज दुर्घटनामा पर्यो, त्यसबेला पनि विमानस्थल क्षेत्रमा भारी वर्षा भएको थियो । पाइलटले दुई पटकसम्म जहाज अवतरण गराउने प्रयास गरेका थिए । दुई पटक नै जहाज ओभरसुट गरिएको थियो । तेस्रो प्रयासमा जहाज दुर्घटनामा पर्यो । संयोगवशः जहाजमा आगो लागेन । सोहीकारण १ सय ९१ यात्रु सवार जहाजबाट धेरै मानिसलाई सकुसल बचाउन सकियो । तर क्याविन क्रुमा बसेका दुई पाइलटलाई भने बचाउन सकिएन ।

पाइलटले यो दुर्घटनालाई टाल्न अन्तिमसम्म प्रयास गरेको पाइएको छ । यद्दपी पाइलट मानसिक तनावमा भने रहेको पाइएको छ । संचारमाध्यमहरुका अनुसार एयर इण्डिया एक्स्प्रेसले दुई दिन अगाडी मात्र एक फैसला गरेको थियो । फैसला अनुसार उक्त कम्पनीका पाइलटको ६० प्रतिशत पारिश्रमिक कटौती भएको छ । कोरोना भाइरसको महामारीका बीच जहाजहरु लामो समय ग्राउण्डेड थिए । विजनेश नभएपछि कम्पनीले तलव कटौतीको निर्णय गरेको थियो । यसले पाइलट र क्याविन क्रुलाई मानसिक तनाव थपेको थियो । यसलाई दुर्घटनाको सम्भावित एक कारणका रुपमा हेरिएको छ ।

अर्कोतर्फ धावनमार्गको संरचनालाई समेत दुर्घटनाको कारण मानिएको छ । सामान्यतया रातको समयमा अवतरण गर्ने जहाजका लागि धावनमार्गमा सेन्ट्रल लाइन लाइट पनि राखिएको हुनुपर्छ । जसले गर्दा पाइलटलाई जहाज अवतरणमा सहज हुन्छ । तर, केरलको कोझिकोड विमानस्थलमा धावनमार्गको बीचमा कुनै लाइट छैन ।

छेउछाउमा मात्र राखिएका लाइटको अन्दाजमा अवतरण गर्नुपर्छ । सोहीकारण यो विमानस्थलमा ठूला जहाज अवतरण सधै जोखिमपूर्ण हुने गर्छ । रातको समममा धावनमार्गमा अत्यधिक वर्षाले पनि समस्या पारेको थियो । त्यसमा सेन्ट्रल लाइट नहुँदा पाइलट अलमलमा परेको देखिन्छ । किनकी पाइलटले यो जहाजको अवतरण तेस्रो प्रयासमा मात्र गरेका थिए । अर्को कारणमा भने लामो समय जहाज नउडाइ बस्नु परेको बाध्यता र त्यसले आपतकालिन समयमा लिन सक्ने निर्णय समयमै लिन नसक्दा दुर्घटना भएको आंशका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here