पाँचौं चरणको चार्टर उडान शुरु, कसलाई कति उडान अनुमति ?

फाइलफोटो/ सीसीएमसी

काठमाडौं, १ साउन । सरकारले कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि सोमबारदेखि पाँचौं चरणको उद्धार उडान शुरु गरेको छ ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन सोमबारदेखि १५ भदौसम्म पाँचौं चरणको चार्टर उद्धार उडान सञ्चालन गर्न लागेको हो ।

नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १६ देखि ३० अगस्तसम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन् । दुवै एयरलाइन्सले नेपालीको उद्धारका लागि हुने उडानको तालिका सार्वजनिक गरिसकेका छन् ।

यसअघि चैतबाट रोकिएको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान १ भदौबाट खोल्ने निर्णय भएकामा काठमाडौं उपत्यकासहित मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकार पूर्वनिर्णयबाट पछि हट्दै आगामी १५ भदौसम्म व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णयमा पुगेको थियो ।

विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछन् ।

सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैँ टिकट काटेर आउने छन् ।

सरकारले यसअघि ३ सय २३ वटा चार्टर उद्धार उडानबाट ५० हजार ६ सय ६२ जना नेपालीलाई स्वदेश फर्काइसकेको छ । अझै लाखौं नेपाली फर्किने प्रतीक्षामा रहेका छन् ।

स्वदेश फर्कने नेपाली सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ ।

सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा र हिमालय एयरलाइन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ ।

युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरलाई पनि अनुमति दिइएको छ ।

दुबईबाट ८ वटा, दोहाबाट ७, क्लालालम्पुरबाट ६, दम्माम र अबुधाबीबाट ५–५, कुवेतबाट ३, रियाद र सारजाहाबाट २–२ र अमेरिका, जापान, जेद्दा, कोरिया र अस्ट्रेलियाबाट १–१ गरी ४३ वटा उडान हुनेछन् ।

हाल तोकिएका १२ वटा गन्तव्यबाहेक युरोप, अमेरिका तथा अफ्रिकाबाट फर्किन चाहने नेपालीलाई पनि यिनै उडानबाट स्वदेश फर्किन खुला गरिएको छ । ‘कतिपय मुलुकमा नियमित उडान सुरु भइसकेको छ । चार्टर उद्धार उडानको टिकट बिक्री तोकिएका वायुसेवाले मात्रै गर्नु पर्नेछ ।

यसैगरी, स्वदेश फर्किन चाहने अलपत्र नेपालीले उड्नुभन्दा अघि पिसिआर परीक्षण गराएको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि भने उनीहरूले अनिवार्य रूपमा नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण स्वास्थ्य प्रोटोकल पालना गर्नु पर्नेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here