उपत्यकाको निषेधाज्ञा झनै कडा, के गर्न पाइन्छ, के पाइँदैन ? (निर्देशनसहित)

काठमाडौं, १० भदौं । उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ।

निषेधाज्ञा र संक्रमणको अवस्था बारेमा छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको दुई दिने बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।

पहिलो चरणमा उपत्यकाभित्र थपिएको समय आज राति १२ बजेबाट सकिँदै छ। थपिएको निषेधाज्ञा झनै कडा गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार औषधि र खाद्यवस्तु खरिदबाहेक घरबाट बाहिर निस्कन नपाइने उल्लेख छ । काठमाडौं जिल्लाभित्र प्रवेश गर्ने सवारी साधनमा पनि थप कडाइ गरिएको छ ।

अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारी साधन काठमाडौं उपत्यका प्रवेश गर्न नदिइने उल्लेख छ ।

संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।

के गर्न पाइन्छ, के पाइँदैन ?

निषेधाज्ञामा यी कार्यहरु गर्न पाइदैन :

१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन।

२. अत्यावश्यक सेवा तथा वस्त बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न।

३. अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेश गर्न।

४. जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न।

५. कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा सवारी साधन सञ्चालन गर्न ।

६. सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, दूग्धजन्य पदार्थ साथै दूग्धजन्य पदार्थ प्याकेजिङका सामग्री, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुन र स्यानिटाइजर लगायतका सामग्री, अस्पताल जाने आउने बिरामी, दाहसंस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधनजस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।

७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला तथा जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न।

८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न।

९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, ट्युसन सेन्टर, भाषा कक्षा, जमघट हुने गतिविधिहरु सञ्चालन गर्न।

१०. सबै प्रकारका सभा,सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस,सपिङ्ग मल, डिपार्टमेन्ट स्टोर, मनोरञ्जनस्थल, सैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न।

११. फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यापाररव्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न।

१२. होटेल, रेष्टुरा सञ्चालन गर्न गराउन

यी कार्यहरु गर्न पाइन्छ :

१३. अत्यावश्यक वस्तु र सेवामध्ये औषधि ,पानीमात्र बेचविखन गर्ने र स्वास्थ्य सामग्री बिकी वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा खुल्ला राख्न सकिने।

१४. अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु दूध र दूग्धजन्य पदार्थ फलफूल र तरकारी ,माछा मासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान ९ः१५ बजेसम्म खोल्न सकिने।

१५. बैकिङ सेवालगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ। सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा सीमित रही आवश्यक सेवा प्रवाह गर्न सक्नेछ।

१६. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ।

१७. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, स्वीकृत हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ।

१८. अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुनबमोजिम कारबाही हुनेछ।

१९. यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।

२०. माथि उल्लेखित अत्यावश्यक वस्तु तथा सेवाको व्यापार र व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक भौतिक दुरी कायम राख्ने, मास्क र स्यानिटाईजर प्रयोग गर्ने लगायतका नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्ने गराउने व्यवस्था मिलाउने।

निषेधाज्ञा उलंघन गरे १ महिना कैद, ५०० जरिवाना

विद्यमान कानून अनुसार निषेधाज्ञा उलंघन गरे १ महिना कैद वा ५०० रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) अनुसार स्थानीय प्रशासन वा सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई १ महिना कैद वा ५ सय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

यस्तै, संक्रामक रोग ऐन, २०२० को दफा २ मा मानिसमा कुनै पनि संक्रामक रोग उब्जे वा फैलिए वा फैलिने सम्भावना देखिए नेपाल सरकारले सो रोग निर्मूल वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्ने उल्लेख छ ।

त्यस्तो अवस्थामा सर्वसाधारण वा कुनै पनि व्यक्तिहरूको समूहउपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने उल्लेख छ । यस्तो आदेश उल्लंघन गरे १ महिना कैद वा १०० रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सकिने उल्लेख छ ।

सम्बन्धितः

उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here