‘कोरोनाविरुद्धको खोपलाई हतारमा स्वीकृति दिँदा गम्भीर खतरा’- डब्लुएचओ

काठमाडौं, १६ भदौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस विरुद्धको खोपलाई हतारमा स्वीकृति दिँदा गम्भीर खतरा उत्पन्न हुने जनाएको छ ।

डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले हरेक देशसँग खोपको पूर्ण परीक्षण बिना प्रयोगका लागि स्वीकृति प्रदान गर्ने अधिकार रहेको भए पनि त्यसलाई हल्का रुपमा लिन भने नहुने बताएकी हुन् ।

कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पूर्णरुपमा नसकिँदै प्रयोगका लागि हतारमा स्वीकृति नदिन र स्वीकृति प्रक्रियालाई गम्भीरतापूर्वक लिन पनि डब्लुएचओले आग्रह गरेको छ।

कुनै पनि नयाँ खोपको प्रयोगपूर्व पूर्ण तहको परीक्षण हुनु पर्ने र त्यसको प्रभावकारिता तथा सुरक्षालाई लिएर शतप्रतिशत विश्वस्त हुनु पर्ने उनले बताएकी छन्।

तर पनि संकटको अवस्थामा बिस्तारित परीक्षण बिना आकश्मिक प्रयोगको स्वीकृति दिने अधिकार देशहरुसँग रहे पनि परिणामबारे भने सचेत हुनु पर्ने वैज्ञानिक स्वामिनाथनले बताएकी छन्।

डब्लुएचओका अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा छन्। यस्तै अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको डब्लुएचओले जनाएको छ।

अमेरिकामा खोपको आकश्मिक प्रयोगका लागि स्वीकृति दिने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले काम गरिरहेको खबर आएका बेला डब्लुएचओले त्यसलाई लिएर सचेत गराएको हो।

यसअघि रुसले कारोनाभाइरस विरुद्धको खोप बनाएको बताएको थियो। तर, उसलाई डब्लुएचओको परीक्षण मापदण्ड पूरा नगरेको आरोप छ। त्यस्तै चीनले पनि तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ मा रहेको खोप उच्च जोखिममा काम गरिरहेकाहरुलाई लगाउन शुरु गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here