धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षणसम्बन्धि नीति कार्यान्वयनमा

काठमाडौं, १५ असोज । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ बिहीबार देखि कार्यान्वयनमा ल्याएको छ ।

बोर्डले अनुमति प्राप्त धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम कारवाहीलाई थप नियमत तथा व्यवस्थित गर्नका लागि यो व्यवस्था लागू गरेको हो ।

अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न जोखिममा आधारित सुपरिवेक्षणको म्यानुअल लागू गरिएको बोर्डले स्पष्ट पारेको छ।

यसबाट जोखिममा आधारित सुपरिवेक्षण कसरी गर्ने भन्ने सम्बन्धमा ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको कारोबार, कार्यालय, ग्राहकलाई समेत समेटेर प्यारामिटर तयार गरी सोही आधारमा जोखिम गणना गरिने बोडले जनाएको छ ।

“अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्) निवारण ऐन, २०६४’ र ‘सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३’ तथा नेपाल धितोपत्र बोर्डबाट जारी भएको ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन- २०७६’ मा भएको कानुनी व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न म्यानुअल जारी गरेको हो,” बोर्डले भनेको छ ।

धितोपत्र व्यवसायीको संरचनागत तथा अन्तर्निहित जोखिम तथा जोखिम व्यवस्थापनलाई रेटिङ्ग संकेत १ देखि ५ को बीचमा गर्ने व्यवस्था समेत यसमा गरिएको छ ।

धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकन धितोपत्र व्यवसायीले प्रदान गर्ने वस्तु तथा सेवा, ग्राहकसम्बन्धी जोखिम, भौगोलिक क्षेत्रसम्बन्धी जोखिम, उच्च पदस्थ व्यक्तिसम्बन्धी जोखिम, वितरण माध्यमसम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनगत जोखिम र धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्थाका आधारमा गर्ने बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here