३० चुचुरा चुम्न ८८१ आरोही हिमालमा, आरोहण शुरु

काठमाडौं, २ जेठ । बसन्त ऋतुको हिमाल आराहण शुरु भइसकेको छ । ३१ वैशाखमा सगरमाथा, कंचनजंगा, ल्होत्से र मकालु हिमाल आरोहण सहजिकरण गर्न आइसफल डाक्टर र रोप फिक्सिङ टोलीले चुचुरो चुमेसँगै आरोहीहरु चुचुरोतर्फ लम्कने मार्ग खुलेको हो ।

पर्यटन विभागका अनुसार यस सिजनमा कूल ३० वटा हिमाल आरोहणको लक्ष्य राखेर करीव ९ सय आरोही हिमालतर्फ लागेका छन् । उनीहरुका साथमा झण्डै दोब्बर संख्यामा नेपाली आरोहण सहयोगी तथा शेर्पाहरु पुगेका हुन्छन् ।

पर्यटन विभागका अनुसार यस सिजनका लागि अहिलेसम्म ११० आरोहण दलले अनुमति मागेका छन् । ती दलमा ८ सय ८१ आरोही समावेश रहेको विभागको तथ्यांक छ ।

यसरी अनुमति लिनेमध्ये सबैभन्दा धेरै आरोही सगरमाथातर्फ लागेका छन् । यस सिजनका लागि ३६ आरोहण दलका ३ सय ६६ विदेशी आरोही सर्वोच्च टाकुरा सगरमाथा चुम्ने लक्ष्यसहित उकालो लागेका छन् ।

यस वर्ष मौसमको प्रतिकूलताका कारण धेरैजसो आरोही अझै पनि आधार शिविरमै रहेको विभागका अधिकारीहरुले बताएका छन् । खासगरी फानी नामक सामुन्द्रीक आँधिको असर नेपालको हिमाली भेगमा पनि देखिएको छ । त्यसको असरले मौसम अझै पनि राम्रोसँग खुलिसकेको छैन ।

बुधबार कीर्तिमानी आरोही कामिरिता शेर्पा २३ औं पटक सगरमाथा चुचुरोमा पुग्न सफल भएका छन् । उनी सेभेन समिट ट्रेकको वरिष्ठ गाइड हुन् ।

यस सिजनमा सरकारले हिमाल आरोहणबाट मात्र ४९ करोड ४२ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ । बसन्तु ऋतुमा आरोहण शुल्क अन्य सिजनको तुलनामा दोब्बर लाग्छ ।

आधार शिविरबाट प्याराग्लाइडिङ गरे कारवाही
यसैबीच, पर्यटन विभागले सगरमाथा आधार शिविरबाट प्याराग्लाइडिङ गरेको पाइए कारवाही हुने चेतावनी दिएको छ ।

आधार शिविरबाट कुनै पनि आरोहीलाई प्याराग्लाइडिङको अनुमति नभएको भन्दै विभागले त्यसो गरेको पाइए कडा कारवाही हुने चेतावनी दिएको हो । यसअघि पर्यटकले अनाधिकृत ड्रोन लगेको पाइएपछि जफत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here