विदेशबाट अध्ययन गरेर फर्किएका यूवाको उपत्यकामा ५० लाखको कालिज फर्म

– जितेन्द्र खनाल

काठमाडौं । पछिल्लो समय फरक सोच राखेर उद्यमशिलता गर्ने व्यक्तिहरुको जमात बढ्न थालेको छ । यस्तैमा काठमाडौं उपत्यकामा पनि ठूलो लगानीमा ‘पंक्षी वाइल्ड लाइफ एग्रो रिसर्च सेन्टर’ नामक समुहले व्यवसायीक कालिज फर्म सञ्चालनमा ल्याएको छ ।

५० लाख भन्दा धेरै लगानी र साढे ७ रोपनी जग्गामा सुरु भएको पंक्षी वाइल्ड लाइफ एग्रो रिसर्च सेन्टरमा अहिले चल्लाको लागि प्रि बुकिङ सुरु गरिएको सञ्चालक अनिष अधिकारीले बताए ।

यो फर्म मासु बिक्रीको साथसाथै चल्ला उत्पादन र बिक्री गर्ने उदेश्यले गत साउन १ गतेबाट करिब ८०० चल्ला राख्दै सुरु गरिएको हो ।

अनिष अधिकारी, अभिषेक पोखरेल, प्रमोद सापकोटा, प्रनिप बज्रचार्य र पेशल सुवेदीको संयुक्त लगानीमा सुरु भएको फर्ममा काठमाडौं उपत्यका र पोखराका फर्महरुबाट ल्याईएका कालिजहरु भएपनि यो कालिज यूरोपियन देश चेक रिपब्लीकको रिङ निक जात भएको कुरा फर्म सञ्चालक अधिकारी बताउँछन् ।

‘हामीले ८०० वटा कालिज राखेर सुरु गरेको फर्ममा काठमाडौं उपत्यका र पोखराबाट चल्ला ल्याएका हौं । पोखरा र काठमाडौंबाट ल्याएपनि यो कालिज यूरोपियन देश चेक रिपब्लीकको रिङ निक जातको हो ।’ अधिकारीले भने ।

कसरी सुरु भयो फर्म

५ जनाको साझा लगानीमा सुरु भएको फर्मका पाँचै जना विदेशमा एमबिए गरेर फर्किएका हुन् । यूवाहरुले कृषिमा केही नयाँ सोँच र वैज्ञानिक क्रान्ति ल्याउनपर्छ भन्ने धारणा र व्यक्तिगत चाहनाले फर्म सञ्चालन गर्न प्रेरणा दिएको कुरा अधिकारी बताउँछन् ।

‘हाम्रो ५ जनाको समुहमा ४ जना वैदेशीक रोजगारीबाट फर्किएका व्यक्तिहरु हौं । यूवाहरुले कृषिमा केही नयाँ सोँच र वैज्ञानिक क्रान्ति ल्याउनपर्छ भन्ने धारणा र व्यक्तिगत चाहनाले फर्म सञ्चालन गर्न प्रेरणा दियो ।’ अधिकारीले भने ।

कस्तो छ बजार

नेपाली बजारमा कालिजको मासु र चल्लाको माग अत्याधिक भएको कुरा फर्म सञ्चालक अधिकारीले बताए ।

‘बजारमा कालिजको मासु र चल्लाको माग राम्रो छ । अहिलेसम्म त हाम्रो स्वदेशी फर्महरुले कालिजको मासु र चल्लाको माग नै पुर्याउन सकेका छैनन् ।’ उनले भने, ‘पुर्ण रुपमा मेहनत गरेर काम गर्ने हो भने कालिजको बजार अत्यन्त राम्रो ।’

मासु बिक्री कहिलेबाट ? मूल्य कति ?

चल्ला बिक्रीको लागि प्रि बुसिङ खुला गरिएपनि मासुको लागि भने अझै केही समय पर्खनुपर्ने अधिकारी बताउँछन् ।

‘सिजनमा बिक्री गर्नको लागि केही सहज हुन्छ भनेर हामीले अहिलेबाट नै चल्लाको लागि प्रि बुकिङ खुल्ला गरेका छौं । चल्लाको मूल्य प्रतिगोटा १ हजार रुपैयाँ कायम गरिएको छ ।’ उनले भने, ‘मासुको लागि भने केही समय पर्खनुपर्ने हुन्छ । मासु बिक्री हामी फागुनबाट सुरु गछौं ।’

कालिजको मूल्य किलोको आधारमा भन्दापनि प्रतिगोटाको आधारमा निर्धारण गरिएको सञ्चालक अधिकारी बताउछन् ।

‘हामीले कालिजको मूल्य त्यसको तौलको आधारमा भन्दापनि प्रतिगोटाको आधारमा गरेका छौं । एउटा कालिजको मूल्य ३,५०० रुपैयाँ कायम गरिएको छ ।’

फर्ममा यूवाहरुको सहभागिता होस् भन्ने चाहना फर्म रहेको कुरा अधिकारी बताउँछन् । यूवाहरु वैज्ञानिक तबरबाट कुषि क्षेत्रमा लागे भने कुषि क्षेत्रमा ठूलो उपलब्धी हुने कुरा फर्म सञ्चालकहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here