डेल्टाको तुलनामा ‘ओमिक्रोन’ किन कम घातक, अस्पताल भर्ना हुने संख्या ७० प्रतिशत कम

काठमाडौं, ९ पुस । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा कम गम्भीर भएको पाइएको छ ।

यूकेको युनिभर्सिटी अफ एडिनबर्गका खोजकर्ताहरूले गरेको अध्ययनले डेल्टाको तुलनामा ओमिक्रोनको संक्रमणबाट अस्पताल भर्ना हुनेको संख्या दुई तिहाइ कम भएको देखाएको छ ।

अध्ययनले यसअघिका भेरियन्टको तुलनामा ओमिक्रोनका संक्रमितहरू अस्पताल गएर उपचार गर्नुपर्ने संभावना ५० देखि ७० प्रतिशतले कम हुने देखाएको छ ।

अध्ययनका क्रममा अस्पताल भर्ना भएका ओमिक्रोनका १३२ संक्रमितसहित नोभेम्बरयता बेलायतमा देखिएका डेल्टा र ओमिक्रोन दुबै भेरियन्टका संक्रमितको अवस्थालाई विश्लेषण गरिएको थियो ।

अध्ययनपछि ओमिक्रोन संक्रमित मानिसलाई अस्पतालको आकस्मिक विभागमा लैजानु पर्ने अवस्था ३१ देखि ४५ प्रतिशतले कम हुने समेत देखिएको छ ।

यस्तै, अर्को अध्ययनले त झनै डेल्टाको तुलनामा ८० प्रतिशत कम भएको देखाएको छ ।

तर दक्षिण अफ्रिकामा आधारित अध्ययनले अस्पताल भर्ना भएपछि हुने जोखिममा भने कुनै फरक नभएको जनाएको छ ।

दुवै अध्ययनले प्राथमिक डाटा समावेश गरेका छन् तर वैज्ञानिक रूपमा समीक्षा गरिएको जर्नलमा भने अझै प्रकाशित भएको छैन ।

किन कम घातक ?

बिबिसिको अनुसार ओमिक्रोन भेरियन्ट कम घातक हुनुका कारण यसको बनौट र खोप वा सङ्क्रमणका कारण मानव शरीरमा बनेको प्रतिरोधी क्षमतालाई मानिएको छ।

लन्डनमा गरिएको एक अध्ययनले ओमिक्रोनलाई उत्परिवर्तनले डेल्टाभन्दा कम घातक बनाएको देखाएको छ।

अध्ययनकर्ताहरूले खोप नलगाएको वा पहिले संक्रमण नभएका व्यक्तिमा पनि ओमिक्रोन संक्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था ११ प्रतिशतले कम हुन्छ।

सो अध्ययनले प्रतिरोधी क्षमता विकास गरेका मानिसमा ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था २५ देखि ३० प्रतिशतले कम हुने र एक दिनभन्दा बढी अस्पतालमा बस्नुपर्ने अवस्था ४० प्रतिशतले कम हुने नतिजा निकालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here