रौनक खोसिएको चाड, कस्तो होला देउसी भैलो बिनाको तिहार ?

– जितेन्द्र खनाल

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । दशैपछिको महान पर्व तिहारको रौनक पनि कोरोनाले खोस्ने पक्कापक्की छ ।

लामो समयसम्म भेटघाट नभएका दाजुभाइ, दिदी बहिनीसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा रहेको तिहारमा यसपटक कोरोनाकै कारण त्यति उत्साह देखिएको छैन् ।

जताततै प्रतिबन्ध

संक्रमणको दर दिनदिनै बढ्दै जादाँ विभिन्न जिल्लाले देउसी–भैलोलाई निषेधाज्ञा गरिरहेका छन् । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी–भैलो नखेल्न, नखेलाउन निर्देशन समेत दिएको छ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले पनि देउसी भैलो नखेल्न र नखेलाउन भन्दै निषेधाज्ञा जारी गरेका छन् ।

योसँगै थुप्रै जिल्ला छन्, जसले तिहारमा देउसी–भैलो सहित मनोरञ्जनात्मक कार्यक्रमलाई निषेध गरेका छन्। देउसी भैलो समूहमा खेलिने हुँदा कोरोनाको जोखिम धेरै हुने र संक्रमण फैलाउने माध्यम बन्न सक्ने प्रशासनको तर्क छ ।

देउसी–भैलो खेल्दा आवाज निकालेर कराउने, गाउने, एकै ठाउँमा धेरै मानिस भेला हुने भएकाले कोरोनाको जोखिम धेरै हुने चिकित्सकहरुको दाबी ।

कोरोनाको जोखिमकै कारण सामूहिक रूपमा भेला भएर गरिने पूजापाठसहितका क्रियाकलापमा समेत प्रशासन कार्यलयहरुले रोक लगाएका छन् ।

यसरी सुरु भएको थियो देउसी भैलो परम्परा

देउसी र भैलो किन खेलीन्छ भन्ने प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ । पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए । त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चलाएका हुन् ।

त्यसो त तिहारमा देउसी भैलो एउटा छुट्टै साँस्कृतिक महत्व छ । तर, यो वर्ष भने बलिराजाको कथासंग जोडिएको देउसीभैलोको परम्पराले निरन्तरता नपाउने भएको छ ।

यसो भन्छन् गायक तथा सर्जक नारायण रायमाझी

यसै सम्बन्धमा देउसी भैलो बिनाको तिहार कस्तो होला भने वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझी यो प्रतिबन्धले दिर्घकालिन असर नपारेपनि केही खल्लो भने बनाएको कुरा बताउछन् ।

‘अहिलेको समय परिस्थिति यस्तै छ, स्वास्थ्य जोखिम दिनदिनै बढ्दो क्रममा नै छ । यस्तो समयमा यसरी भिडभाडमा हुने कार्य कम नगर्नुको विकल्प छैन्, यसलाई हामीले सकारात्क रुपमा नै लिनुपर्छ ।’ उनले भने, ‘यो प्रतिबन्धले देउसी भैलोको परम्परालाई दिर्घकालीन असर त पार्दैन् तरपनि केही खल्लो महशुस भने अवश्य भएको छ ।’

व्यक्तिगत रुपमा पनि सबैभन्दा आफ्नो सबैभन्दा प्रिय चाड तिहार भएको आफूलाई पनि खल्लो महशुस भएको कुरा रायमाझी बताउछन् ।

‘व्यक्तिगत रुपमा भन्ने हो भने तिहार मलाई सबैभन्दा मनपर्ने र मेरो सबैभन्दा प्रिय चाड हो ।’ उनले भने, ‘अन्य समयमा जस्तो रौनक पनि छैन् र देउसी भैलोमा पनि प्रतिबन्ध रहेको कारण व्यक्तिगत रुपमा मैलो अत्यन्त खल्लो महशुस गरेको छु ।’

तिहारसम्बन्धी थपः

तिहार बनाऔं स्वस्थकर: कस्तो मिठाई खाने, यसरी छुट्याउनुहोस् …

किन भनियो तिहारलाई ‘यमपञ्चक’ ? यसका पाँच दिन र सामाजिक महत्व

टेलिकमको तिहार विशेष १३ अफर सार्वजनिक, यसरी लिनुहोस्

तिहार बिदाको तीनदिन बैंकहरु नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह

तिहारलाई स्वदेशी सयपत्री फूल नै पर्याप्त, मूल्य ७० रुपैयाँको हाराहारीमा मात्रै