‘सरकार र निजीक्षेत्र मिलेर नै समस्यासँग जुध्ने हो,गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’

काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९को कारण उत्पन्न समस्यासँग सरकार र निजीक्षेत्र नै मिलेर जुधि रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको आज सरकारी निवास बालुवाटरमा उद्घाटन गर्दै ओलीले सरकारले सबैक्षेत्रलाई साथ र सहयोग दिइरहेको र कठिन अवस्थामा निजीक्षेत्रले ठूलो साथ दिएको बताए ।

उनले कोरोनाको समस्या निजीक्षेत्रको संगठन, व्यक्ति संस्थालाई नै परेकोले हामी हामी मिलेर नै समस्या समाधान गर्न सक्ने बताए ।

सरकार मनको मात्रै धनी भएको बताउँदै गच्छेअनुसारको अपेक्षा गर्न आग्रह गरे । ‘उद्योगीहरुलाई लाग्छ होला, कतिपय देशका सरकारले आर्थिक उत्थानका लागि राहत दिइरहेका छन्, नेपाल सरकारले किन दिँदैन ? नेपाल सरकार मनको धनी नभएको हैन, गच्छेअनुसार दिने गरेको छ । रिजर्भ तथा बचत नभएका कारण सिमित मात्र सहयोग गर्न सकिने बताए ।’

मुलुकको विकासको उन्नती तथा औद्योगिकरणको नेतृत्व गर्दै आएका अनुभवी क्षेत्रको साधारणसभा सार्थक उपलब्धीका साथ सफल हुने उनले बताए ।

‘यतिबेला हामी एउटा असहज परिस्थितीमा उभिएका छौं, सामना गरिरहेका छौं, नत्र आज धेरै भव्यता, ठूलो सहभागिताका साथ यो साधारण सभाको उद्घाटन सत्र सम्पन्न हुने थियो’, उनले भने, कोभिड १९ का कारणले यसरी बसेका छौं ।’

उनले आफ्नो सचिवालयमा उद्योगी व्यवसायीहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको समेत सुनाए । सरकारले सबै उद्यमी, व्यवसायीलाई समान नजरले हेरेको बताए । ‘उद्यमी व्यवसायीमा मेरो पक्ष र तेरो पक्ष हुँदैन ।

सबै व्यवसायी, उद्यमी, राष्ट्रका निम्ति काम गरिरहेका, राष्ट्रका निम्ति कर तिरिरहेका, राष्ट्रका साझा सम्पत्ति हुन् । राज्यका नजरमा सबै समान छन्,’ उनले भने ।

उनले सबैलाई कानुनसम्मत, यथोचित ढंगले संरक्षण, सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरे । तर, उद्यमी व्यवसायीले आफ्नो कारोबार भने निष्पक्ष रुपमा गर्नुपर्ने बताए । ‘स्वच्छ व्यापारको अपेक्षा सरकारले गर्छ,’ उनले भने ।

महामारीका कारण अर्थतन्त्रमा परेको दुस्प्रभावलाई कसरी छुटाउने र कसरी माथि उठ्ने, पहिलेकै अवस्थामा कसरी फर्काउने र अगाडि बढाउने भन्ने प्रश्न अगाडि आएको उनले बताए । यो महामारीले बलिया देशहरुलाई पनि आक्रमण गरेको छ । कमजोरलाई मात्रै होइन, सबल छु भन्नेहरुलाई पनि पिरोलेको छ ।

कोरोनाको रिकभरीका सन्दर्भमा कमजोरहरुलाई मुस्किल पर्नेछ, बलियालाई भन्दा, भ्याक्सिन आविष्कार त भयो तर गरिब देश र जनताले कसरी प्रयोग गर्ने ? मानव जातिको साझा सम्पतिको रुपमा प्राप्त गर्ने वा बिजनेशको रुपमा उपयोग गर्ने भन्ने प्रश्न उठेको छ ।

भ्याक्सिनको आविष्कार मानव जातिका लागि ठूलो उपलब्धि हो र त्यो साझा हुनुपर्छ । यो सबलका निम्ति थप उपलब्धी हुने र दुर्बलका निम्ति अर्थहिन हुने अवस्था आउनु हुन्न ।

कोरोनाले अर्थतन्त्रमा पारेको प्रतिकुलतालाई पराजित गरेर माथि उठाउनुपर्नेछ । गत आवमा ८.५ का दरले आर्थिक वृद्धि हुने प्रक्षेपण थियो तर शुन्यको अवस्थामा पुग्यौं ।

उनले यो साधारण सभाले कोभिड १९ र अबको अर्थतन्त्रबारे सरकारलाई समेत उपयोगी हुने निस्कर्ष निकाल्ने विश्वास लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here