रोकिएन् नेप्सेको ओरालो यात्रा, निफ्राको शेयर मूल्य इतिहासकै सस्तो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले निरन्तरता पाएको छ ।

साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २३.८३ अंकले घटेर १८१५.१३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको ४० लाख १४ हजार ४१९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । इन्भेष्टमेन्ट समूह सबैभन्दा धेरै २.८२ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स, हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज तेह्रथुम पावर कम्पनी र कुमारी धनवृद्धि योजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यसैगरी, कुमारी धनवृद्धि योजना ७, सामुदायिक लघुवित्त ६.६५, निफ्रा ६.४१, बुद्धभूमि नेपाल, अरुण भ्याली, ग्रीनलाइफ हाइड्रोपावर, मन्दकिनी हाइड्रोपावर, मल्टिपर्पस फाइनान्स र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २६ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ ।

निफ्राको शेयर मूल्य अहिलेसम्मकै सस्तो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को दोस्रो बजारमा शेयर मूल्य लगातार घटेर सस्तो मूल्यमा झरेको छ। कम्पनीको शेयर आइतवार प्रतिकित्ता १८७ रुपैयाँमा आइपुगेको छ।

बैंकको शेयर २०७७ फागुन २ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको थियो ।

प्रतिकित्ता ३४० रुपैयाँमा पहिलो कारोबार भएको बैंकको शेयर मूल्य अधिकतम प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकको शेयर मूल्य निरन्तर घट्दै सस्तो मूल्यमा झरेको हो ।

चुक्ता पूँजीका आधारमा नेप्सेमा सूचीकृत कम्पनीमध्ये दोस्रो ठूलो कम्पनी रहेको निफ्राको शेयरमा पछिल्लो समय लगानीकर्ताको खासै आकर्षण देखिँदैन ।

चुक्ता पूँजी धेरै र सो अनुसार व्यापार, व्यवसाय विस्तार गर्न नसक्दा निफ्राले नाफामा उल्लेख् वृद्धि गर्न सकेको छैन् ।

पूँजी अनुपातमा नाफा बढाउन नसक्नु, सेयर संख्या धेरै भएकाले बजारमा सेयर फालफाल हुनु, शेयरधनीलाई न्यून मात्रमा लाभांश दिनु लगायत कारणले यसको शेयर मूल्यमा लगातार गिरावट आएको हो ।

लगानीकर्ताहरूले पर्ख र हेरको अवस्थामा निफ्रालाई राखेका छन्। कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ।

उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्राेत हो।

बैंकले मात्र गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअघि बैंकले आव २०७७/ ०७८ मा सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here