पर्यटक आवागमनमा ८० प्रतिशत गिरावट, १ वर्षमा २ लाख २० हजार भित्रिए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा क्रमशः वृद्धि भएको छ । सन् २०२० को ११ महिनाभित्र २ लाख २० हजार १२० पर्यटकले नेपाल भ्रमण गरेका छन् । ११ महिनाको अवधिमा सबैभन्दा बढी जनवरी, फेब्रुअरी र मार्चमा पर्यटक आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार पछिल्लो पटक नोभेम्बरमा मात्र १ हजार ९ सय ४७ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो अक्टोबारमा १ हजार ७४ पर्यटक नेपाल आएका थिए । तुलनात्मक रूपमा क्रमशः विदेशी पर्यटक आवागमन बढ्दै गएको र प्रतिशतमा पाँचदेखि १० प्रतिशत वृद्धिदर रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा अमेरिकाबाट ४ सय ४७, बेलायतबाट २ सय ९५ र चीनबाट २ सय ९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै, भारतबाट १ सय २३ र रुसबाट १ सय २ तथा क्यानाडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अस्ट्रेलिया ३४, फ्रान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका बोर्डको विवरण छ ।

सन् २०२० जनवरीमा ७९ हजार ६ सय ८६, फ्रेब्रुअरीमा १ लाख १ हजार ४ सय र मार्चमा ३४ हजार २५ विदेशी पर्यटक नेपाल आएका थिए । सबैभन्दा कम मे अप्रिलमा १३, मेमा ३० र जुन महिनामा १०० विदेशी पर्यटक आएको बोर्डले जनाएको छ ।

त्यस्तै, जुलाईमा १ सय ९५, अगस्टमा २ सय ६८, सेप्टेम्बरमा ५ सय ८७ विदेशी पर्यटक आएका थिए । तुलनात्मकरूपमा नेपाल आउने विदेशी पर्यटकको संख्या वृद्धि हुँदै गएपछि बोर्डले सम्भावित अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी प्रवर्द्धनको रणनीति बनाउन लागेको छ ।

बोर्डका निर्देशक मणि लामिछानेले पछिल्ला महिनामा विदेशी पर्यटक बढेको जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवर्द्धनको तयारीमा बोर्ड जुटेको उल्लेख गरे । उनका अनुसार बेलायतमा कोभिड–१९ को खोप प्रयोगमा आउने भएपछि विदेशी पर्यटक बढ्ने नयाँ ढोका खुलेको छ ।

जर्मन औषधि निर्माण कम्पनी बायोइन्टेक र अमेरिकन फाइजर कम्पनीले संयुक्त साझेदारीमा उत्पादन गरेको कोरोनाविरुद्धको खोपले मानव प्रयोगमा पहिलो अनुमति पाएको पाएको थियो । अमेरिका तथा अन्य युरोपेली मुलुकमा पनि खोपको उपयोग भएका खण्डमा ती देशबाट धेरै पर्यटन भित्र्याउन सकिने बोर्डको आँकलन छ ।

नेपालको पर्यटनको प्रमुख स्रोत बजार भारत, चीन र अमेरिकापछि चौथो नम्बरमा बेलायत पर्छ । बेलायतले यसै सातादेखि आमसमुदायमा खोप प्रयोगमा ल्याउने भएपछि विश्व पर्यटन बजारमा आशाका किरण देखापरेका छन् । कोभिडको खोप विकाससँगै पर्यटन बजार पुरानै लयमा फर्कने अनुमान गरिएको छ ।

निर्देशक लामिछानेले बेलायतले खोप प्रयोगका लागि अनुमति दिएसँगै विश्व बजारमा नयाँ आशाको सञ्चार छाएको बताए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत ११ चैतदेखि देशभर बन्दाबन्दी लागू गरेको थियो । गत ८ चैतदेखि नै अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएको थियो ।

लकडाउन र पछिल्लो निषेधाज्ञापछि करिब ६ महिनाको अन्तरालमा गत १६ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो । गत असोज ५ देखि मुलुकको आन्तरिक उडान सञ्चालनमा आएको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको थियो । सुरुका तीन महिना जनवरी, फ्रेब्रुअरी र मार्चमा पर्यटक आगमन राम्रो रहे पनि कोभिड महामारीको विश्वव्यापी असर नेपालमा पनि पर्याे । अर्थतन्त्रका अन्य क्षेत्रजस्तै पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । कोरोनाबाट प्रभावित उद्योग तथा व्यवसाय सञ्चालनका लागि सरकारले राहत दिने घोषणा गरिसकेको छ ।

घरेलु, साना तथा मझौला उद्यम, पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानीका साथै व्यवसाय सञ्चालन निरन्तरताका लागि ५० अर्ब रुपैयाँको राहत कोष कार्यान्वयनको बाटो खुलेको हो । अर्थ मन्त्रालयले व्यावसायिक निरन्तरता कर्जा प्रवाह २०७७ जारी गरिसकेको छ । यसको कार्यान्वयन नेपाल राष्ट्र बैंकमार्फत हुने जनाइएको छ ।

भ्रमण वर्षको उत्साहमा व्यवसायीले पर्यटन पूर्वाधारमा उल्लेख्य लगानी गरेका थिए । कोभिडका कारण उनीहरु अहिले उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । हालको अवस्थालाई पनि मध्यनजर गर्दै बोर्डले आगामी रणनीति बनाउन लागेको निर्देशक लामिछानेले जानकारी दिए ।

उनले अहिले पर्यटन प्रवद्र्धनका लागि विभिन्न काम भइरहेको र आन्तरिक पर्यटन प्रवर्द्धन समितिले पनि प्रवद्र्धनका गतिविधिबारे तयारी गरिरहेको बताए । सरकारले गत १७ अक्टोबरबाट विदेशी पर्यटकका लागि नेपाल खुला गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्ड पालना गरेर विदेशी नागरिक नेपालको पदयात्रा तथा पर्वतारोहणलगायत गतिविधिमा आउन सहज भएको छ ।

सन् २०२० मा अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशत मात्रै पर्यटक आवागमन हुने प्रक्षेपण गरेको छ । अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत गिरावट हो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here