बैंकको कर्जा लगानी आक्रामक, तीन सातामा ५१ अर्ब कर्जा प्रवाह

काठमाडौं, ३० मंसिर । पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । आर्थिक गतिविधि बढ्दै जाँदा वाणिज्य बैंकहरुले पछिल्लो तीन सातामा मात्रै ५१ अर्बले कर्जा विस्तार गरेका छन् ।

निक्षेप संकलनमा भने सुस्त देखिएका छन्। तीन सातामा बैंकहरुको निक्षेप संकलन भने जम्मा ३८ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ ।

बैंकर्स संघका अनुसार मंसिर ५ गते २७ वटा बाणिज्य बैंकहरुको ३० खर्ब ५१ अर्ब कर्जा प्रवाह भएको थियो । त्यस्तो कर्जाको आकार मंसिर २६ गते आईपुग्दा ३१ खर्ब एक अर्ब भएको छ ।

अर्थात २१ दिनमा बाणिज्य बैंकहरुले ५१ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । तर, तिनै बाणिज्य बैंकहरुको निक्षेप भने सो अवधीमा जम्मा ३८ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ ।

मंसिर ५ गतेसम्म बाणिज्य बैंकहरुको निक्षेप ३६ खर्ब ५६ अर्ब थियो । मंसिर २६ गते आईपुग्दा त्यस्तो निक्षेप ३६ खर्ब ९४ अर्ब पुगेको छ ।

लकडाउनका कारण कर्जा लगानी नहुँदा बजारमा अधिक तरलता रहेको अवस्थामा पछिल्लो समय बैंकहरुको कर्जा लगानी बढ्न थालेको छ। यस सँगै बजारमा रहेकाे अधिक तरलता पनि विस्तारै कम हुँदै जाने छ।

वाणिज्य बैंकहरुले पछिल्लो समय विकास बैंक तथा अन्य वित्तीय संस्थाहरुको कर्जा स्वाप गरिरहेको चर्चा चल्न थालेको छ। बजारमा तरलता पर्याप्त हुँदा बैंकहरुले ब्याजदर घटाउन थालेका छन्।

ब्याजदर एकल अंकमा झर्न थालेसँगै सहकारी विकास बैंक लघुवित्त तथा अन्य क्षेत्रबाट कर्जा लिनेहरु पनि बैंकमा पुग्न थालेका हुन्।

वाणिज्य बैंकहरु पनि बैंकमा पैसा थुपारेर राख्नु भन्दा मार्केटिङ गरिरहेका छन्। आयात निर्यात बिस्तारै सहज हुदै जादा बैंकिङ कर्जा बढिरहेको छ। घरजग्गा तथा सेयर कारोबारमा बैंकको लगानी अस्वभाविक रुपमा गैरहेको नेपाल राष्ट्र बैंकको निष्कर्ष छ।

यो आर्थिक वर्ष लागेसँगै वाणिज्य बैंकहरुको कर्जा लगानी एक खर्ब ९८ अर्बले बढेको छ । गत असार मसान्तमा वाणिज्य बैंहरुको कर्जा लगानी २९ खर्ब तीन अर्ब थियो ।

सोही अवधिमा बैंकहरुको निक्षेप दुई खर्ब सात अर्बले बढेको छ । गत असार मसान्तमा ३४ खर्ब ८७ अर्ब रहेको बैंकहरुको निक्षेप मंसिर २६ मा आउँदा ३६ खर्ब ९४ अर्ब पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here