रेमिट्यान्स वृद्धिदर घट्दो, चैतमा २०.९ प्रतिशत

काठमाडौं ९, जेठ । चालू आर्थिक वर्षको नौ महिनामा ६ खर्ब ५३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत महिनाको तुलनामा रेमिट्यान्स वृद्धिदर २०.९ प्रतिशतले बढेको हो । अघिल्लो महिनाको तुलनामा रेमिट्यान्स वृद्धिदर घटेको हो ।

अघिल्लो वर्षको चैतसम्म रेमिट्यान्स आप्रवाह ५.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो ।

चालू आर्थिक वर्षको पहिलो महिनादेखि रेमिट्यान्स वृद्धिदर ३० प्रतिशत बढीले बढेको थियो । त्यसपछिका दुई महिनामा रेमिट्यान्स वृद्धिदर बढेर ३७ प्रतिशतसम्म पुग्यो । पछिल्ला तीन महिनायता भने रेमिट्यान्स वृद्धिदर घटदो क्रममा छ । फागुनमा यस्तो वृद्धिदर २८ प्रतिशत थियो ।

यो वर्ष अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दु १ सय १९ रुपैयाँसम्म पुगेको थियो । डलरको मूल्य बढ्दा रेमिट्यान्समा सकारात्मक प्रभाव पार्छ । यसकारण सुरुका महिनामा रेमिट्यान्स आप्रवाह उच्च भएको हो । पछिल्ला महिनामा डलरको मूल्य घट्दो अवस्थामा छ । यसकारण रेमिट्यान्स वृद्धिदर पनि घटेको हो ।

रोजगारीका लागि विदेशीने नेपालीको संख्या निरन्तर रुपमा घटिरहेको छ । यसले पनि रेमिट्यान्स वृद्धिदरमा प्रभाव परेको जानकारहरु बताउँछन् ।

चालू आर्थिक वर्षको नौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.३ प्रतिशतले घटेको छ । यो अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६.८ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत चैतसम्म ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.१ प्रतिशतले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here