कृषिबाहेकका सहुलियत ऋणमा आकर्षण न्यून, कुन शीर्षकमा कतिले लिए ?

काठमाडौं, १३ पुस । पछिल्लो समय सहुलियतपूर्ण कर्जा लिनेको संख्या बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो ४ महिनाको वित्तीय प्रतिवेदनका अनुसार चालु आर्थिक बर्ष २०७७/ ७८ को कात्तिक महिनासम्ममा ४६ हजार ३४३ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

यो संख्या अघिल्लो वर्षमा १८ हजार २ सय ९५ रहेको थियो । असार मसान्तसम्ममा ३२ हजार ४ सय ४८ जनाले सहुलियत कर्जा लिएका थिए । तथ्यांक अनुसार कृषिबाहेकका क्षेत्रमा तर अझै पनि सहुलियत कर्जा लगानी राम्रोसँग हुन सकेको छैन ।

कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत २८ हजार ७६८ ऋणीलाई ६५ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। दोस्रोमा महिला उद्यमशील कर्जा लिने रहेका छन् ।

कात्तिक महिनासम्ममा १६ हजार ५२ जनाले महिला उद्यमशील कर्जा लिएका छन् । गत वर्ष यसै अवधिमा सहुलियत ऋण लिने महिलाको संख्या ६ हजार ६ सय ८२ थियो ।

ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । असार मसान्तसम्म ४ अर्ब ३५ करोड ऋण प्रवाह गरेका थिए । गत असारसम्म बैंकहरूले यस्तो कर्जा ५१ करोड २२ लाख रुपैयाँ प्रवाह गरेका थिए ।

दलित समुदाय व्यवसाय विकासको लागि ५२१ जनाले सहुलियत कर्जा लिएका छन् । त्यसको लागि बैंक तथा वित्तीय संस्थाले २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उच्च र प्राविधिक व्यावसायिक कर्जा ८५ जनाले र भूकम्प पीडितका लागि निजी आवास पुनर्निर्माण कर्जा २३५ लिएका छन् ।

कपडा उद्योग सञ्चालनका १९६ जनाले सहुलियत ऋण लिएका छन् । शिक्षित युवा स्वरोजगार कर्जा विदेशबाट फर्किएका युवा परियोजना कर्जा जम्मा ४०९ जनाले मात्रै उपयोग गरेका छन् ।

सहुलियत कर्जा लगानी नभएपछि राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था छ ।

कृषिबाहेक अन्य शीर्षकमा जाने कर्जाको अवस्था न्यून छ । कर्जा लगानी राम्रोसँग हुन नसकेको विषयमा राष्ट्र बैंक र सरकारसमेत जानकार छ ।

सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । त्यसको केही महिनापछि मात्र उक्त व्यवस्था कार्यान्वयनमा आएको थियो ।

सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास,उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा र भुकम्प पीडितको निजी आवास निर्माण कर्जा सहित सात किसिमका कर्जाका लागि सहुलियतपूर्ण कर्जा वितरण गर्दे आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here