प्रि–मनसुन सुरु, चट्याङ र हावाहुरी जोगिन अपनाउनुहोस यी उपाय

काठमाडौं, १६ फागुन । यस वर्षको प्रि–मनसुन सोमबारबाट शुरु भएको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपरान्‍ह तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो मौसममा मेघगर्जन/चट्याङ्ग/ हावाहुरी/ असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मौसमविद्का अनुसार पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन् । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ ।

स्थानीय वायुको प्रभावका कारण यो समयमा एक ठाउँमा पानी परे पनि नजिकै पानी नपर्न पनि सक्छ । प्रि-मनसुनमा दिनभर घाम लाग्ने र दिउँसो पछि पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा हुनेछ ।

प्रिमनसुनको समयमा आगलागीका घटना पनि बढ्ने हुँदा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।

चट्याङ के हो ? कसरी पर्छ ?

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ ।

यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो ।

साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ । आवाजविनाको चट्याङलाई “उष्ण बिजुली” भनिन्छ ।

सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन । यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ ।

त्यसैले चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्वतयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिन्छ ।

सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । सो तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ ।

यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ ।

यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् । ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ ।

धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ ।

यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् । जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो हिँड्छन् । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ ।

यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् । सुरुसुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ ।

यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् ।

फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् ।

यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जहरूमा विभिन्न प्रतिक्रिया हुन्छन् । आकाशमा एक बिजुली चम्किने बेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ ।

यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने र सो तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन–अनुसन्धानले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ । त्यसैकारणले चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ ।

जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ । त्यससँगै विस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलमा भएका चार्जहरू पनि बहन्छन् र विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर बग्दछ ।

चट्याङबाट बच्ने उपायः

–बिजुली चम्केको बेला सतर्क रहनु पर्छ।

–फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने।

–विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने।

–बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने।

–सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने।

–खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने।

–सकभर अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने।

–धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने।

–तारबार, पोखरी, ठूला रुख नजिक नबस्ने।

–चट्याङ परेको क्षेत्रमा हुनुहुन्छ र सरिरमा असहज हुनेगरी केही चिजले घोँचेजस्तो महसुस भएको छ, आङ जिरिङ भएर रौँ ठडिएको छ भने चटयाङले हान्ने संभावना भन्ने बुझेर तुरुन्तै टाउकोमाथि हात राखेर कुइना र घुँडाले टेकेर घोप्टो पर्नु पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here