स्वास्थ्य बीमामा ६ अर्ब बजेट, अर्को वर्ष सबै जिल्ला पुर्याइने

काठमाडौं, १७ जेठ । स्वास्थ्य बीमामा सरकारले आगामी वर्षका लागि ६ अर्ब रुपैयाँ छुट्टयाएको छ ।

बीमितलाई गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चित गर्न र सबै जिल्लामा स्वास्थ्य सेवा विस्तारका लागि ६ अर्ब रकम विनियोजन गरिएको हो ।

आगामी वर्ष सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुग्ने भएको छ । यसअघिको लक्ष्यअनुसार स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन नसकेपछि सरकारले अर्को वर्षका लागि पुनः लक्ष्य तय गरेको हो ।

सरकारले ०७२ चैतदेखि कैलालीबाट नमुनाका रूपमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । तीन वर्षभित्र सबै जिल्लामा स्वास्थ्य बीमा पुर्याउने त्यतिबेलाको लक्ष्य थियो । हाल स्वास्थ्य बीमा कार्यक्रम ४६ जिल्लामा मात्र पुगेको छ ।

सोही कार्यक्रमको निरन्तरताका लागि सरकारले आगामी वर्ष लागि ६ अर्ब रुपैयाँ छुट्टयाएको हो । गत वर्ष पनि यत्ति नै रकम छुट्टयाइएको छ ।

गत वैशाखदेखि सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको छ । यद्यपि, सबै नागरिकले उक्त सुविधा पाउन सकेका छैनन । सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत ऊक्त कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रम सञ्चालन नभएका जिल्लाका ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य बीमा पाउने सुविधा पाउदैनन । यद्यपि सरकारले त्यस्ता जिल्लामा पनि कार्यक्रम सञ्चालन भएका छिमेकी जिल्लाका एजेन्टमार्फत स्वास्थ्य बिमा सुविधा दिने बताएको छ । नागरिकले भने सुविधा पाएको गुनासो गरिरहेका छन् ।

स्वास्थ्य बीमाले समेटने आधारभुत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रबाट उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

हाल ७० वर्ष माथिका नागरिकले वार्षिक १ लाख रुपैयाँ सम्मको निशुल्क स्वास्थ्य बीमा सुविधा सरकारले दिएको छ । यस्तै हरेक घरपरिवारलाई वार्षिक १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा कार्यक्रम पनि सरकारले सञ्चालन गरिरहेको छ ।

जसमध्ये एक घरपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम भुक्तानी गर्नुपर्छ । यस्तो बीमा बापत परिवारको चारजना सदस्यसम्मलाई वार्षिक १ लाख रुपैयाँ सम्मको स्वास्थ्य बीमा सुविधा पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here