८५ प्रतिशत रोग खानपानकै कारण लाग्छ !

काठमाडौं । दीर्घरोको प्रमुख कारण खानपानलाई नै मानिन्छ । स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका तथ्यांकलाई हेर्दा जीवनशैली र गलत खानपानकै कारण दीर्घरोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिन्छ ।

खानपानमा ध्यान नदिए रोग लाग्ने सम्भावना उच्च हुन्छ । रोग लागेर उपचार गर्नुभन्दा पनि रोग लाग्नै नदिन यसको रोकथाम गर्नु उचित हुन्छ । स्थायीरूपमा दीर्घकालीन रोगहरूको जोखिमबाट बच्न दैनिक खाइने खानपानमा ध्यान दिन अति आवश्यक हुन्छ ।

मासु, चिल्लो, गुलियो, अमिलो साथै मसलेदार खानाको प्रयोग कम गर्दा नै स्वास्थ्यका लागि फाइदा पुग्ने आहारविद् तथा पोषण विशेषज्ञ ओमप्रकाश शाह बताउँछन् । त्यस्तै, गहुँको आटाको सट्टा मैदाको प्रयोग, सक्करको साटो परिष्कृत चिनीको प्रयोग, शुद्ध तेलको साटो रिफाइन्ड तेलको प्रयोग बढिरहेको छ । समयअनुसार खानपानमा आएको परिवर्तनले शरीरमा विभिन्न रोग निम्त्याउने गरेको छ ।

धेरैजसो शरीरमा देखिने ८५ प्रतिशतभन्दा धेरै समस्या खानपिनको शैलीले हुने गरेको पाइन्छ । खानपानमा लापरबाही गरे शरीरको हर्मोन असन्तुलन भई फुड पोइजनिङ्ग, मधुमेह, प्रेसर, थाइराइड, महिनावारीमा समस्या, कपाल झर्ने समस्या, छालामा हुने समस्या, उच्च कोलेस्ट्रोल, स्ट्रोक, मुटुको समस्यालगायतका थुप्रै रोग लाग्ने वा भविष्यमा रोग लाग्ने सम्भावनालाई उच्च बनाउने गर्छ ।

विशेषगरी सुगर, प्रेसर, मुटुलगायतको समस्या भएका बिरामीले अत्यधिक चिल्लो, पिरो, नुनिलो, गुलियो साथै मसालेदार खानेकुराको सेवन गर्नु हुँदैन । र, यस्ता मानिसले खानपानमा अन्यको तुलनामा एकदम सतर्क रहनुपर्छ । वृद्ध अवस्थामा पाचन प्रणाली पहिलेको तुलनामा कमजोर हँुदै जाने हँुदा पच्न सजिलो हुने खानेकुराको सेवन गर्नु नै उचित हुन्छ ।

त्यस्तै, सकेसम्म एक जनाले दिनको २ देखि ३ चम्चा मात्र तेलको प्रयोग गर्नुपर्छ । र, सकेसम्म मासुको सेवन कम नै गर्नुपर्छ । मासुको सेवन गर्दा पनि छाला र बोसोको सेवन नगरेकै राम्रो हुन्छ । मैदाको साटो आटा र चिनीको साटो सक्करको प्रयोग गर्नुपर्छ । गुलियो मिठाइको साटो फलफूल तथा काजु, बदाम, नरिवल, किसमिस ड्राइ फ्रुट्सको सेवन गर्नुपर्छ ।

शरीरलाई हाइड्रेट राख्नका लागि कम्तिमा पानि दिनको दुईदेखि तीन लिटर पानी पिउनु अनिवार्य हुन्छ । विभिन्न स्वास्थ्य समस्या भएका बिरामीले मात्र नभई स्वस्थ मानिसले समेत व्यायामका साथै खानपानमा धेरै ध्यान दिनुपर्ने हुन्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here