काठमाडौं । नेपालमा पूँजीबजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या ठूलो संख्यामा रहेको छ । एकवर्षको अवधिमा पूँजीबजारमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको हो । कति, लगानीकर्ता शेयर बजार बुझेर लागेको छन भने कति लहैलहैमा लागेको देखिन्छ ।
जसको प्रतिफल हालसालै सार्वजनिक भएको आइपीओमा दिएको आवेदनबाट प्रष्ट देखिन्छ । दुईमहिनाको अन्तरमा खुलेको आइपीओमा परेको आवेदनले रेकर्ड नै ब्रेक गर्दै आएको छ ।
बजार प्रवेश राम्रो पक्ष हो, तर शेयर बजारमा लगानी गरेर रातारात लाखबाट करोड कमाउने पनि छन भने कति करोड लगानी गरेर हजारमा झर्नेपनि छन् । जुन लगानीकर्ताले शेयर बजारलाई गहिरो अध्ययन गरेर बजार प्रवेश गरेको छ त्यसले राम्रै कमाउन पनि सक्छ ।
धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय आफैको मनले गर्ने गरि बजार प्रवेश गर्नु नै उत्तम देखिन्छ ।
बजार प्रवेशको लागि के गर्ने ?
शेयर बजार प्रवेश गर्नेले धितोपत्र बजारलाई मुख्यतया प्राथमिक र दोस्रो बजारमा परिभाषित गरिन्छ त्यो नै बुझ्नु पर्ने हुन्छ ।
ऐन अन्तर्गत स्थापित संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक रुपमा धितोपत्र निष्कासन गरी आफूलाई आवश्यक पर्ने दीर्घकालीन पूँजी प्राप्त गर्ने बजारलाई प्राथमिक बजार (प्राइमरी मार्केट) भनिन्छ ।
प्राथमिक बजार अन्तर्गत प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ), हकप्रद, बोनस सेयर निष्कासन, फर्दर पब्लिक अफरिङ (एफपीओ) र बुक बिल्डिङद्वारा आइपीओ निष्कासन हुने गर्दछ ।
लगानी गर्न सजिलो हुने र गरेको लगानी जोखिम रहित हुने महसुस गरिएकोले प्राथमिक बजारमा आम नागरिकको आकर्षण बढेको छ । प्राथमिक बजारमा सहभागिता जनाउन बैंक खाता, डिम्याट खाता, ‘मेरो शेयर’ सुविधा, सीआरएन नम्बर आवश्यक पर्छ ।
सार्वजनिक निष्कासनमा धितोपत्र खरिद आवेदन गर्न बैंक खाता, डिम्याट खाता, ‘मेरो शेयर’ सुविधा, सीआरएन नम्बर चाहिन्छ । आस्वा र सिआस्वा दुवै माध्यमबाट पनि प्राथमिक बजारमा धितोपत्र खरिद गर्न सकिन्छ ।
अभौतिक शेयर जम्मा गर्न डिम्याट खाता चाहिन्छ त्यसैले लगानीकर्ताको डिम्याट खाता अनिवार्य हुनुपर्ने छ । डिम्याट खाता छैन भने बैंक, ब्रोकर वा डिपी सेवा दिने जुनसुकै डिपी सेवाप्रदायक कहाँ गई खोल्न सकिन्छ ।
जुन खोल्नलाई पासपोर्ट साइजको एउटा फोटो, नागरिकताको प्रतिलिपी र एक सय ५० रुपैयाँ चाहिन्छ ।
तर कतिपय बैंकहरु तथा उक्त सेवा प्रदायकहरुले भने डिम्याट खाता खोल्दा शुल्क लिने गरेका छैनन् । यद्दपी डिम्याट खाता भने एकै व्यक्तिले दुई वा दुईभन्दा बढी खोल्नु हुँदैन ।
पहिले खरिद गरेको शेयर भौतिक (कागजी) प्रमाणपत्रका रूपमा पाइन्थ्यो। त्यो व्यवस्था हटेकाले अहिले विद्युतीयरूपमा डिम्याट खातामा जम्मा हुन्छ।
त्यसपछिको अर्को महत्तवपूर्ण भनेको सीआरएन नम्बर, सीआरएन नम्बरको अर्थ हो सी-आस्बा रजिस्ट्रेसन नम्बर । यो बैंक वा वित्तीय संस्थाले प्रदान गर्छन् । यो ८ वटा नम्बरको हुन्छ । जसलाई कुनै पनि कम्पनीको प्राथमिक सेयर अर्थात् आइपीओ भर्नका लागि आवश्यक पर्छ ।
खास गरी सीआरएन नम्बर बैंक अकाउन्ट अन्तर्गतकै नम्बर हुन्छ । सीआरएन नम्बरकै सहायताले आइपीओ भर्दा आवेदन गरे वापतको नम्बर बैंकमा ब्लक भएर बस्छ ।
आइपीओ परेको खण्डमा आइपओ परे अनुसारको रकम काटिन्छ र त्यसबाहेकको रकम रिजिल भएर बैंक खातामा बस्छ ।
यसका साथै, सीडीएस एण्ड क्लियरिङ ९सीडीएससी० ले उपलब्ध गराउने ‘मेरो सेयर’को सेवा पनि लिनु पर्ने हुन्छ । जुन २०७७ साउनबाट अनिवार्य भएको छ ।
उक्त सेवामार्फत आफ्नो डिम्याट खातामा भएको शेयरको जानकारी लिन र बिक्री गरिएको सेयर विद्युतीय प्रणालीबाट हस्तान्तरण गर्न सकिन्छ । यसमार्फत प्राथमिक बजारमा लगानी गर्नेले पनि यो सेवा लिँदा राम्रो हुन्छ । जसमार्फत आफैले आईपीओ, एफपीओ, हकप्रद सेयरमा आवेदन गर्न सकिन्छ ।
उक्त सेवाको लागि युजर आईडी र पासवर्ड पाउन आफुले डिम्याट खाता खोलेको स्थानबाट मेरो शेयर अकाउन्ट खोल्नु पर्ने हुन्छ । जुन वार्षिक रुपमा ५० रुपैयाँ नविकरण शुल्क तिर्नुपर्ने हुन्छ । नयाँ खोल्दा भने कुनै पनि शुल्क लाग्ने छैन । यसका लागि पनि आफ्नै इमेल ठेगाना हुनुपर्छ ।
‘मेरो शेयर’ पोर्टलको सुविधा लिएपछि मेरो शेयर वा ‘मेरो शेयर’को मोबाइल एप्समार्फत सहजै प्राथमिक शेयर निष्कासनमा आवेदन दिन सकिन्छ।
के हो दोस्रो बजार ?
कुनै पनि कम्पनीले आइपीओ जारी गरेपछि उक्त कम्पनीको शेयर दोस्रो बजारमा सूचिकृत हुन्छ ।
आइपीओका माध्यमबाट बाँडफाँट भएका शेयरहरु दोस्रो बजारमा कारोबार गरिन्छ । आइपीओमार्फत् १० कित्ता शेयर प्राप्त गर्नु भएको छ भने त्यसलाई बिक्री गर्ने वा त्यसमा थप शेयर खरिद गर्ने प्लेटफर्म भनेको दोस्रो बजार हो ।
यो प्राथमिक बजारभन्दा बिल्कुलै फरक हुन्छ । प्राथमिक बजारमा किन्न मात्रै सकिन्छ भने दोश्रो बजारमा किन्न र बेच्न दुबै सकिन्छ ।
प्राथमिक बजारमा शेयरको मूल्य स्थीर हुन्छ भने दोश्रो बजारमा कारोबार हुने कुनै पनि कम्पनीको शेयर मूल्य अस्थिर अर्थात घटबढ भइरहन्छ । त्यसैले यो बजार बढी जोखिमपूर्ण हुन्छ ।
दोश्रो बजारको महत्वपूर्ण अंगको रुपमा धितोपत्र बजार सहभागीहरु जस्तै बजार सञ्चालक नेप्से, केन्द्रीय निक्षेप कम्पनी, धितोपत्र व्यवसायी, आश्वा सदस्य, निक्षेप सदस्य, क्रेडिट रेटिङ सेवा, सूचीकृत कम्पनी र सामूहिक लगानी कोष(म्युचअल फण्ड)हरु रहेका छन् ।
धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यले लगानीकर्ता दोश्रो बजारमा प्रवेश गर्छन् । यस बजारबाट लाभ लिन बजारको प्रवृत्तिसँग पनि परिचित हुनु उत्तिकै आवश्यक हुन्छ ।
अन्य अवस्था यथावत् रहेमा सामान्य अवस्थामा केही दिन बढेको बजार केही दिनपछि घट्छ भने केही दिन निरन्तर घटेको बजार केही दिनपछि बढ्छ ।
बजारमा प्रवेश गर्ने लगानीकर्ताले धितोपत्र बजार सम्बन्धित सूचनाहरु केलाउने क्षमता आफैले राख्नुपर्दछ । किनभने दैनिक सयौं कम्पनीको शेयर किनबेच भइरहेको हुन्छ र सबैलाई सबै कम्पनीको यथार्थ अवस्थाको जानकारी हुँदैन ।
यसको लागि सूचीकृत कम्पनीको विवरणमा उल्लेख भएका शेयर बजारसँग सम्बन्धित शीर्षकहरुलाई केलाई राम्रो नराम्रो आफैले मुल्याङ्कन गर्न सक्नुपर्छ ।
























