‘मार्केट मेकर’ को स्थापना अन्योलमा, अर्थमन्त्रालयको निर्देशन पालना भएन

काठमाडौं २०, जेठ । सेयर बजारलाई स्थायीत्व दिन बजार निर्माता (मार्केट मेकर) स्थापना गर्ने भनिएपनि प्रक्रिया थालनी भएको छैन । सरकार लगायत सम्बन्धित सरोकारवालाले चासो नदिदा प्रक्रिया अघि बढन नसकेको हो ।

मुद्रा तथा पुँजी बजारमा स्थायीत्वका लागि आवश्यक सुझाब दिन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्मा गठित समितिले पनि बजारमा तत्काल मार्केट मेकर वा डिलरको स्थापना गर्नुपर्ने सुझाब दिएको थियो ।

समितिले बुझाएको सुझाब प्रतिवेदनमा ०७५ चैत भित्र मार्केट मेकरका लागि अनुमति प्रदान गरिसक्ने उल्लेख छ । तोकिएको समयसीमा सकिएको पनि करिब २ महिना भइसकेको छ । हालसम्म मार्केट मेकरका लागि औपचारिक रुपमा कुनै छलफल पनि नभएको स्रोतले बताएको छ ।
‘कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीलाई बजार निर्माता÷व्यापारीको रुपमा समेत कार्य गर्न अनुमति प्रदान गर्ने,’ यो समितिको सुझाब प्रतिवेदन उल्लेख गरिएको वाक्य हो ।

बजारमा आउने अस्वभाविक उतारचढाव नियन्त्रणका लागि मार्केट मेकरको स्थापना गरिन्छ । यस्ता संस्थाले आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्ने, धितोपत्रको खरिद तथा बिक्री दुबै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा बिक्री गरी बजार निर्माताको रुपमा कार्य गर्छन ।

यी संस्थाले वोर्डले तोकेको व्यवस्था अनुसार धितोपत्रको ‘अण्डरराइटिङ’ गर्ने गरी बोर्डबाट धितोपत्र व्यवसाय गर्न अनुमति पाएका हुन्छन । बजार निर्माताले आफुले जारी गरेको धितोपत्रको व्यापार गर्न नपाउने कानूनी व्यवस्था छ ।

यस्तै, नागरिक लगानी कोषले मार्केट मेकरको रुपमा काम गर्नकालागि नेप्सेमा अनुमति माग्दै आन्तरिक थालनी गरेको थियो । पछि अर्थमन्त्रालयबाट ‘ग्रिन सिंङनल’ नपाएपछि त्यत्तिकै रोकेको छ ।

सुरुमा एकल लगानीमा मार्केट मेकर स्थापना गर्ने तयारी गरेको कोषले अहिले संचय कोष, नेपाल टेलिकम लगायत ठूला कोष भएका संस्थाको संयुक्त लगानीमा ‘मार्केट डिलर’ स्थापना गर्ने बताइएको छ ।

यो प्रक्रिया पनि औपचारिक रुपमा अघि बढेको छैन । यसले एकातिर २०७५ चैत भित्र मार्केट मेकरकालागि अनुमति दिनुपर्ने अर्थमन्त्रालय (उच्च स्तरिय वित्तीय समन्वय समिति) को निर्देशन अवज्ञा भएको छ भने अर्कोतिर बजारले स्थायीत्व पाउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here