घरबाटै लिनुस् सञ्चय कोषबाट सापटी, यस्तो छ प्रक्रिया

काठमाडौं । कर्मचारी सञ्चय कोषले केही समय अघिबाट अनलाइनबाटै विशेष सापटी सेवा सुरु गरेको थियो । कोरोना भाइरसको महामारी तथा लकडाउनको असहज अवस्थामा सञ्चयकर्ताहरुलाई सुविधा दिनका लागि अनलाइन सेवा सञ्चालन गरिएको थियो ।

अनलाइन सापटी माग गर्न अनिवार्य रुपमा सञ्चयकर्ता र सम्बन्धित कार्यालयको केवाईसी (सञ्चयकर्ता परिचय) अद्यावधिक भने हुनुपर्छ । अद्यावधिक नहुने कार्यालयहरुले अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सक्ने सुविधा छ ।

सञ्चयकर्ताले अनलाईन प्रणालीबाट न्यूनतम २० हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्मको सापटी माग गर्न सक्नेछन् ।

यस्तो छ, अनलाइनबाटै रु. १० लाखसम्म सापटी लिने प्रक्रिया

१. अनलाइन प्रणालीबाट विशेष सापटी आवेदन गर्नको लागि केवाईसी विवरण अद्यावधिक रहेका सञ्चयकर्ताले कोषको वेबसाईट www.epfnepal.com.np मा गएर कोषले सम्बन्धित सञ्चयकर्तालाई उपलब्ध गराएको युजरनेम र पासवर्ड प्रयोग गरी Individual login u/L Online System बाट आवेदन दिनु पर्ने ।

केवाईसी नभरेका ग्राहकले भने पहिले त्यसको प्रक्रिया पूरा गर्नुपर्छ । अनलाइनमै केवाईसी भरेर त्यसको प्रिण्ट कपी सञ्चयकोषको जावलाखेल कार्यालयमा बुझाउनु पर्छ । त्यहाँ डिजिटल औंठा छाप र हस्ताक्षर दर्ता गरेपछि ग्राहकले युजरनेम र पासवर्ड पाउँछन् ।

२. सञ्चयकर्ताले कोषकट्टी रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्छन् ।

३. आवेदन दिंदा सञ्चयकर्ताले तोकिए बमोजिमको सापटी आवेदन फाराम भर्नुपर्छ । त्यसक्रममा आफ्नो कार्यालय प्रमुखबाट प्रमाणित गर्नुपर्ने एक विशेष फाराम पनि हुन्छ ।

त्यो फाराम प्रिण्ट गरी सम्पूर्ण विवरण भरी त्यसको Scanned copy JPEG Image format मा निवेदनसँगै अपलोड गर्नुपर्छ । आवेदन फाराम कोषको वेबसाइट www.epfnepal.com.np को रिसोर्स सेक्सनमा रहेको फर्म डाउनलोडमा पाउन सकिन्छ ।

४. फाराम भरेर सबमिट गरिसकेपछि त्यसलाई आवेदकको कार्यालयले स्वीकृत गर्नुपर्छ । अफिस केवाईसी अद्यावधिक रहेका सञ्चयकर्ता कार्यालयले कोषको वेबसाईट www.epfnepal.com.np मा गएर अफिस लगइन गरी आफ्ना कर्मचारीहरुको विशेष सापटीको अनलाईन आवेदन स्वीकृत गर्न सक्छन् ।

सम्बन्धित कार्यालयले आवेदकको निवेदन स्वीकृत गरेको केही घण्टाभित्रै चाहेको रकम उसको बैंक खातामा आउँछ ।

५. अनलाइन सिस्टमबाट आवेदन दिने सञ्चयकर्ताको सापटी रकम निजको केवाईसी विवरणमा उल्लेख रहेको बैंक खातामै जम्मा (Direct Transfer to Account – DTA) हुन्छ । त्यसको जानकारी आवेदकले मोबाइल म्यासेजमार्फत पाउँछन् ।

६. अनलाइन सिस्टमबाट हाल न्यूनतम रु. २० हजारदेखि अधिकतम रु. १० लाखसम्म विशेष सापटी प्राप्त गर्न सकिने व्यवस्था छ ।

अनलाईन (कनेक्ट आईपिएस) सापटी फिर्ता भुक्तानी यसरी गर्नुहोस्

१. केवाईसी अपडेट गरेका सञ्चयकर्ताले सञ्चयकर्ता सापटीको साँवा तथा ब्याज connectIPS सेवा अन्तर्गत Government Payment section मार्फत आफ्नो बैंक खाताबाट सोझै सञ्चय कोषमा जम्मा गर्न सक्छन् ।

२. यो प्रणालीबाट साँवा–ब्याज जम्मा गर्दा रकम Transfer भएकै समयमा लेखांकन भई कर्जा रकम घट्ने छ ।

३. connectIPS सेवाको लागि Mobile मा connectIPS Application Download गरी वा www.connectips.com मा जानुपर्छ ।

त्यहाँ आफ्नो खाता खोली आफ्नो बैंक खाता लिंक गराई प्राप्त हुने बैंक भेरिफिकेशन फर्म सम्बन्धित (खाता रहेको) बैंकबाट स्वीकृत गर्नु पर्दछ । www.connectips.com को Tutorials section मा त्यसबारे भिडियोसहितको जानकारी उपलब्घ छ ।

४. यो प्रणालीबाट हाल प्रतिदिन ५ हजार रुपैयाँदेखि मोबाइलबाट रु. १ लाख र वेबसाइटबाट रु.१० लाखसम्म सापटी तिर्न सकिने व्यवस्था रहेको छ ।

५. सापटी रकम तिर्नका लागि connectIPS मा रहेको Government Payment section अन्तर्गत कोषको लोगो अंकित EPF मा क्लिक गरी UCIN Number सहित अन्य विवरण भरी प्राप्त हुने सापटीको जानकारीको आधारमा तोकिएको सीमासम्मको रकम तिर्न सकिन्छ ।

६. यो सेवा प्राप्त गर्न अनिवार्य रुपमा कोषमा सञ्चयकर्ताले आफ्नो केवाईसी विवरण अद्यावधिक गरी UCIN Number प्राप्त गरेको हुनुपर्नेछ ।

७. यो सेवाको प्रयोगमार्फत सञ्चयकर्ताले लिएको विशेष सापटीको साथै घर सापटी, शैक्षिक ऋण, सरलचक्र कर्जा तथा घर मर्मत सापटी वापतको सावाँ ब्याज पनि तिर्न सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here