सर्वसाधारणमात्र होइन भिआइपीले पाउन छाडे अक्सिजन, कहाँ गए लाखौं सिलिण्डर ?

काठमाडौं, ३ जेठ । अस्पतालमा कोरोनाका गम्भीर बिरामीको चाप बढेसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको छ । यसको मुख्य कारण हो अक्सिजनको चरम अभाव ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांक अनुसार देशभर करीब १० हजार हाराहारी मात्र बिरामी संस्थागत आइसोलेसनमा छन् । ती सबै मानिस पनि अक्सिजनको सहारा पाउने गरि गम्भीर बिरामी छैनन् ।

यो अवस्थामा देशभर लाखौं अक्सिजन सिलिण्डर हुँदा पनि किन अभाव देखिएको छ ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले मानिसहरुले घरमा सिलिण्डर लुकाउन थालेका छन् । यसको प्रभाव अस्पताल र गम्भीर बिरामीमा परेको हो ।

स्वास्थ मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार उपत्यकामा अहिले दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भएकोमा करिब १० हजार वटा मात्र आपूर्ति भइरहेको छ । उनले पत्रकार सँगको भर्चुअल अन्तरक्रियामा यस्तो जानकारी गराएका थिए ।

भिआइपीकै पहुचमा छैन अक्सिजन

सर्वसाधारण मात्र होइन, अहिले उच्चपदस्थ व्यक्ति र पहुँचवालाले समेत अक्सिजन नपाएर छट्पटीमा पर्नु परेको छ ।

एकहप्ता अघिमात्र माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारको गैरजिम्मेवारी र नालायकीको हद भन्दै सामाजिक सञ्चालमा सरकारको चर्को विरोध गरेका थिए ।

पहुँचवालहरुमा उनिमात्र होइन् आफ्नो अनुभूति धेरैले सार्वजनिक गरिरहेका छन् । श्रेष्ठले अस्पतालहरुको ढोका ढक्ढक्याउदा शुरुमा इमर्जेन्सी र अक्सिजन सहितको बेड नपाएर बुहारी बचाउन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

राजनीतिक एवं सामाजिक ब्यक्तित्वलाई त यतिको हाहाकार भएको अभिव्यक्ति आएपछि सर्वसाधारणहरु झनै त्रसित बन्ने गरेका छन् ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको भोगाइ पनि यस्तै छ । उनले कोरोना संक्रमण भएर भोग्नु परेको पिडा सामाजिक सञ्चालमा पोखेका थिए ।

उनले कोरोनासंग संघर्षरत रहेको र त्यो संघर्ष हाल सम्म जारी रहेको बेलामा अस्पताल बेड नपाएको, अक्सिजन नपाएर छट्पटी परेको भन्दै सर्वसाधारणलाई राज्यको तर्फवाट ठूलो आश नगर्न र आफै सचेत हुन सुझाव दिएका छन् ।

तुलनात्मक रुपमा नेपालको एक साधन सम्पन्न र शिक्षित नागरिकहरुले यस्तो हैरानी व्यहोर्नु परिरहेको छ भने अरु सर्बसाधारण गरिब अशिक्षित जनताले कति दुःख भोगी रहेका होलान् ।

स्थानीय निकाय, सरकारी संयन्त्र त असफल भए तर रेडक्रस, लायन, रोटरी, जेसिज् जस्ता सामाजिक संस्था पनि यस्तो अवस्थामा पन्छिएको भन्दै विरोध भैरहेको छ ।

विरामी धेरै भएको कारण अस्पताल र डाक्टरहरुको पनि आफ्नै बाध्यता होलान् । तर सार्वसाधारणको अक्रोश राज्यको निकाय भन्दापनि उनिहरुले नै व्यहोर्नु परेको छ ।

उता, चीन सरकारले अनुदानमा दिएका सिलिण्डर भने संसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा पुर्याएको पाइएको छ ।

कोरोनाका गम्भीर बिरामी रहेको क्षेत्र रहेको स्थान पहिचान नगरी सिलिण्डर बाँडफाँड गर्दा आवश्यकता हुने ठाउँ चरम अभाव हुने र आवश्यक नहुने ठाउँमा प्रयोगबिहिन हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here