विश्वभर ७८ करोडभन्दा बढी धुम्रपान त्याग्ने प्रयासमा, यसरी त्याग्न सकिन्छ लत

काठमाडौं, १७ जेठ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालमा पनि विभिन्न भर्चुअल कार्यक्रम गरी मनाइएको छ ।

हरेक वर्ष मे ३१ गतेका दिन सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउने गरिन्छ ।

दिवसको यस वर्षको नारा ‘सुर्तिजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस् कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन्’ भन्ने रहेको छ ।

धुम्रपानबाट हुने हानीबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रमहरु गरिन्छ । तर, विश्वभर नै धुम्रपान नियन्त्रणको लागि विभिन्न प्रकारका अभियानहरु चलाए पनि त्यस्ता कार्यक्रमहरु त्यति धेरै प्रभावशाली बनेको पाईदैन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्कलाई आधार मान्दा विश्वभरको सम्पुर्ण जनसंख्याको एक तिहाई भन्दा बढी मानिसले धुम्रपान गर्ने गर्छन् ।

विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तिजन्य पदार्थको सेवनका कारण जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपालमा भने वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण ज्यान गुमाइरहेका छन् ।

विश्वभर ७८ करोडभन्दा बढी मानिसले सुर्तिजन्य पदार्थ प्रयोगलाई त्याग्न खोजिरहेको तर ती मध्ये एक तिहाइभन्र्दा कमले मात्रै त्याग्नका लागि सही परामर्श वा वातावरण पाएको संगठनको तथ्यांक छ ।

धुम्रपान र सुर्तिजन्य सामग्रीका सेवनबाट लाग्ने रोगहरुको बारेमा सम्पुर्ण जानकारी हुँदाहुँदै पनि किशोर किशोरीहरु यस्तो कुलतमा फस्ने गरेको पाईन्छ ।

विश्वका प्राय सबै भु—भागहरुमा सुर्ती र सुर्तीजन्य पदार्थको सेवन विरुद्ध अभियान चलाईदै आएको छ । नेपाल सरकारले पनि यस्ता पदार्थहरुको बिक्रि वितरण कम गर्न सञ्चारमाध्यममा यस्ता पदार्थको विज्ञापन गर्न र होडिङ बोर्डहरु लगाउन रोक लगाएको छ ।

यसका साथै सार्वजनिक स्थानहरुमा धुम्रपान गर्ने मानिसहरुलाई दण्ड सजाँयको व्यवस्था पनि सरकारले गरेको छ । जसकारण केहि मात्रामा भने पनि यस्ता पदार्थहरुको सेवनमा कमी आएको पाईन्छ ।

धुम्रपानको सेवनबाट विभिन्न प्रकारका रोगहरु लाग्ने गर्दछ । जस्तैः फोक्सोको क्यान्सर, मुखको क्यान्सर, मुटु रोग, हृदयघात, अल्सर, दम र डिप्रेसन जस्ता रोगहरुको जोखिम उच्च हुन्छ ।

गर्भवती महिलाहरुले धुम्रपानजन्य पदार्थहरुको सेवन गर्दा गर्भपतन हुनुका साथै बच्चाहरुमा विभिन्न प्रकारका समस्याहरु हुने गर्दछ । धुम्रपानजन्य पदार्थहरुमा क्यान्सर पैदा गर्ने निकोटिन, नाइट्रोसामाइस, बन्जोपाईरिस, आर्सेनिक र क्रोमियम अत्याधिक मात्रामा पाईन्छ ।

धुम्रपान जन्य पदार्थमा निकोटिन, क्याडियम र कार्बनमोनो अक्साईड पनि पाईन्छ जुन स्वास्थ्यको लागि हानीकारक हुन्छ ।

धुम्रपानको कारण देखिने स्वास्थ्य समस्या

१. स्वासप्रस्वासमा समस्या

२. छाती दुख्ने समस्या

३. कम भोक लाग्ने

४. धेरै थकाई लाग्ने, निन्द्रा कम लाग्ने र धेरै चिन्ता भएको महशुस हुने

५. घाँटी सम्बन्धि समस्याहरु हुने, धेरै समयसम्म खोकी लाग्ने र पछि खोक्दा रगत आउने समस्या हुन्छ ।

६. शरीरमा धेरै ठाँउमा घाउ हुने र घाउ धेरै समयसम्म ठिक नहुने समस्या हुने र भिन्दाभिन्दै ठाउँहरुमा क्यान्सर हुने समस्याहरु देखा पर्दछन् ।

धुम्रपान कसरी त्याग्ने ?

बानी परेको कुनै पनि कुराहरुलाई तत्काल छोड्न भने त्यति सजिलो हुँदैन् । यदि तपाईं पनि धुम्रपान गर्नहुन्छ वा खैनी, सुर्ती सेवन गर्नुहुन्छ भने आजैदेखि त्याग्नुहोस् ।

यस्ता पदार्थको सेवन छाड्ने सङकल्प गर्नु भयो भने असम्भव भन्ने कुनै कुरा हुँदैन् ।

यसरी सकिन्छ धुम्रपान त्याग्नः

१. धुम्रपानजन्य पदार्थहरु छाड्ने सङ्कल्प गर्दै चिकित्सकले भनेका कार्यहरु गर्ने

२. नशामुक्त केन्द्रमा गएर उपचार गर्ने

३. समयमा नै चिकित्सककोसल्लाह अनुसार उपचार गर्ने

४. खानपानमा विशेष ध्यान दिने, अमला आँप जस्ता खानेकुराहरु धेरै खाने

५. फाईबर युक्त खानेकुराहरु धेरै खाने

६. चिन्ताबाट मुक्त रहने, यसको लागि धेरै समय आफुलाई व्यस्त बनाउने

७. धुम्रपान र धुम्रपान जन्य पदार्थहरुबाट हुने समस्याहरुको बारेमा जानकारी लिने

८. क्यालोरी युक्त पदार्थको सेवन कम गर्ने र पेय पदार्थको प्रयोग धेरै मात्रामा गर्ने

९. प्रत्येक दिन व्यायाम गर्ने

१०. घरमा चुरोट, सुर्ती नराख्ने र यस्ता पदार्थहरु पाउने स्थानहरुबाट आफुलाई टाढा राख्ने

११. परिवारसँग धेरै समय विताउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here