स्वीस बैंकमा नेपालीको ४६ अर्ब ६४ करोड रुपैयाँ, सन् २०२० मा बचत दोब्बरले वृद्धि

काठमाडौं, ५ असार । स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) मा नेपालीको सम्पत्ति बढेको छ । पछिल्लो सार्वजनिक वार्षिक विवरण अनुसार सन् २०२० सम्ममा त्यहाँ नेपालीले राखेको रकम आधा खर्ब रुपैयाँ नजिक पुगेको हो ।

सन् २०१९ मा स्वीस बैंकमा २२ अर्ब ७३ करोड बचत गरेका नेपालीको गतसाता सार्वजनिक गरिएको विवरणमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रुपैयाँ रहेको उल्लेख छ ।

नेपालमा द्धन्द्ध शुरू भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्वीस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ ।

स्वीस नेशनल बैंकले विवरण अनुसार, पहिलो वर्ष १ करोड १० लाख ४२ हजार स्वीस फ्र्यांक अर्थात् १ अर्ब २४ करोड ७७ लाख ४६ हजार रुपैयाँ बचत गरेको देखिन्छ ।

द्धन्द्धकालको १० वर्षे अवधिमा २४ करोड २ लाख ७२ हजार स्वीस फ्र्यांक (२७ अर्ब १५ करोड ७ लाख ३६ हजार रुपैयाँ) नेपालीले स्विस बैंकमा रकम जम्मा गरेका छन् । द्धन्द्ध सकिएपछिका रकम बचत बढ्दै गएको छ ।

नेपालको कानुनले नेपाली नागरिकलाई विदेशी बैंकमा रकम जम्मा गर्न वर्जित गरेको छ। विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले स्पष्ट रुपमा विदेशी बैंकमा रकम राख्न नपाउने व्यवस्था गरेको छ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ मा भनिएको छ–‘यो ऐन प्रारम्भ भएपछि कसैले विदेशमा कुनै किसिमको लगानी गर्न हुँदैन।’

सन् २०२० मा भारतीयले स्वीस बैंकमा २०,७०० करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

स्विट्जरल्यान्डमा सन् १८५४ मा ‘स्वीस बैंक कर्पोरेशन’ का रूपमा स्थापित स्विस बैंकका शाखा ५० देशमा छन् । स्वीस बैंकले आफ्नो बारेमा ‘उच्चस्तरको गोपनीयता र कम स्तरको वित्तीय जोखिमको व्यवस्था गरेको’ दाबी गरेको छ ।

आयस्रोत नखोजिने र लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले गैरकानूनी आर्जन यस बैंकमा जम्मा गर्न सहज मानिन्छ । स्विट्जरल्याण्डको अनलाइन पत्रिका स्विस इन्फो न्यूज डट सिएच का अनुसार, ‘खासगरी सम्बन्धविच्छेद (डिभोर्स), गम्भीर आपराधिक कार्य, बैंक टाट पल्टिंदा, अंशबन्डा गर्दा प्राप्त रकम यो बैंकमा मौज्दात गर्नु सुरक्षित मानिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here