वर्षायाममा माछा खानु हानिकारक, कसरी छुट्याउने ताजा र बासी ?

काठमाडौं । नेपालजस्तो कृषिमा आश्रित मुलुकका लागि कृषिक्षेत्रको विविधीकरणका लागि माछापालन एक महत्वपूर्ण साधनको रुपमा लिइएको छ । मत्स्यपालनले ग्रामीण क्षेत्रहरूमा रोजगारी, उद्यमशीलता तथा आय आर्जनका अवसरहरू सिर्जना गरेको छ ।

माछापालनप्रति कृषकको संलग्नता दैनिक रूपमा बढिरहेको भए पनि अर्कातर्फ माछाको खपतलाई नेपालमा उत्पादित माछाले मात्र पर्याप्त उपलब्ध गराउन सकिरहेको छैन । यहाँ खपत हुने माछाको ठूलो हिस्सा भारतबाट आउने गरेको छ ।

त्यसैले हामीले माछाको उत्पादन बढाउन अब ध्यान दिनुपर्ने बेला भएको छ । नेपालमा उत्पादित माछाको अधिकांश उत्पादन तराईका जिल्लाहरूमा केन्द्रित रहे पनि नेपाल चिसोपानीको धनी देश भएकाले चिसोपानीमा हुने माछाको व्यावसायिक खेती गर्ने ठूलो सम्भावना पनि रहेको छ ।

नेपालमा बिहे भोजदेखि लगायत अन्य परिकारमा माछा नै रुचाउनेको संख्या धेरै रहेको छ । नेवारी परिकारमा माछालाई शुभसाइतको रुपमा नै अगाडि सारिन्छ ।

तर माछाको सौखिन हुनुहुन्छ भने यो मौसममा ख्याल गर्नुहोस् । वर्षायाम माछाको प्रजनन समय हो । यो वेला माछा नखाँदा राम्रो हुन्छ । खानु नै छ भने राम्रोसँग सफा गरेर र पकाएर खानुपर्छ ।

धेरैलाई माछा निकै मिठो लाग्छ तर यदि तपाईंलाई वर्षायाममा माछा खान मन लागेको छ भने एकपटक सोच्नुहोस् किनभने यसको सेवनले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । माछामा अत्यधिक मात्रामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । तर पनि वर्षायाममा यसको सेवन निकै हानिकारक हुनसक्छ ।

वर्षायाममा पानीको स्तरमा अत्यधिक वृद्धि हुने भएकाले माछा मारिँदैन । जसकारण बजारमा ताजा माछा पाउन मुश्किल हुन्छ । धेरैजसो प्याक गरिएको र स्टोर गरिएका माछा मात्र पाइन्छन् । १० दिनभन्दा बढि स्टोर गरिएको माछा खराब हुनसक्छ जसको सेवनले गर्दा संक्रमणको खतरा बढ्ने गर्छ ।

पानी प्रदुषणको सम्भावना हुने भएकोले वर्षायाममा माछामाथि फोहोर जम्मा हुन्छ जुन सफा पानीले धुँदासमेत जाँदैन । फोहोर माछा खाँदा टाइफाइड, जन्डिस र झाडापखालाजस्ता रोग लाग्नसक्छ ।

वर्षायाम माछा र अन्य समुन्द्री जीवका लागि प्रजननको मौसम हो तसर्थ अण्डा भएको माछा खाँदा पेटमा संक्रमण र फूड पोइजनिङको खतरा बढ्ने गर्छ ।

कसरी छुट्याउने ताजा माछा

१ ताजा माछाको मुख जोडिएको हुन्छ, बासीको भने आँ परेको हुन्छ ।

२ कलेजो रातो भए त्यो माछा ताजा नै हुन्छ ।

३ माछाको गिल्स हेरेर पनि ताजा माछा थाहा पाउन सकिन्छ । गिल्स चम्किलो राता भयो भने माछा ताजा, सुकेको र कलेजी कलर भयो भने बासी हुन्छ ।

४ माछाको कत्लाहरुमा हातले छाम्दा, हातमा केही नआएमा त्यो माछा ताजा र हातमा कत्ला आएमा त्यो माछा बासी हुन्छ ।

५ ताजाको माछाको आँखा सफा हुन्छ भने बासी माछाको आँखा धमिलो हुन्छ ।

-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here