२७ प्रतिशत रोपाइँ सकियो, ५९ प्रतिशत भूभाग आकासे पानीको भरमा

फाइलफोटो

काठमाडौं, १५ असार । यो वर्ष देशैभरका किसानले २७ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ कृषिविज्ञ डा.महादेवप्रसाद पौडेलले यो वर्ष हालसम्म २७ प्रतिशत रोपाइँ सकिएको क्लाउड पत्रिकलाई बताए ।

असार १५ सम्मको यो परिमाणमा तुलनात्मक रुपमा उच्च पहाडी क्षेत्रमा रोपाइँ समयमै भएको छ । उच्च पहाडी क्षेत्रमा रोपाइँका लागि क्षेत्रफल कम भएकाले उक्त क्षेत्रमा असारको सुरुवाती समयमै बढी परिमाणमा रोपाइँ सम्पन्न भएको हो ।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ भएको थियो भने २०७६/७७ मा १४ लाख ५८ हजार ९ सय १५ हेक्टरमा रोपाइँ भएको थियो ।

‘नेपालका रोपाइँ हुने जमिनमध्ये ५९ प्रतिशत खेत आकासे पानीको भरमा रोप्नुपर्ने अवस्था रहेको र अन्य ४१ प्रतिशतकोलाई सिंचाई सुविधा रहेको छ पौडेल क्लाउडले पत्रिकासँग भने’ । अर्कोतर्फ अव्यवस्थित रूपमा खेतीयोग्य जमिन प्लटिङ हुनुले पनि खेतीयोग्य जमिन मासिँदै जान थालेको छ।

कृषकका समस्यामा भने अझै पनि सरकार गम्भीर छैन । भारतलगायत तेस्रो मुलुकहरूबाट बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

एकातर्फ सिंचाई सुविधा नहुँदा कृषकले आकासे पानीकै भरमा रोपाइँ गर्नुपर्छ, अर्कोतर्फ रोपाईकै मुखमा मल नपाएर कृषक आत्तिनु पर्ने अवस्था रहने गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म)को अवधिमा ४४ अर्ब ४६ करोड ३५ लाखको चामल आयात भइसकेको छ ।

गत वर्ष सोही अवधिमा २६ अर्ब ६१ करोड ८६ लाखको चामल आयात भएको थियो । यसरी हेर्दा यो वर्ष चामल आयात ६७ प्रतिशतले बढिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here