काठमाडौं, १७ असार । मनकामना स्मार्ट लघुवित्तको आइपीओमा पहिलो दिनमै माग भन्दा २१ बढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पहिलो दिन बिहीबार साँझ ५ बजेसम्म ५ लाख ८८ हजार ३७२ जना आवेदकबाट ७९ लाख ५३ हजार ८७० कित्ताका लागि आवेदन परेको छ ।
यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २१.८८ गुणा बढी हो । लघुवित्तले विहिबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ जारी गरेको हो ।
निष्काशन हुने कुल सेयरमध्ये ६ हजार ५८ लघुवित्तका कर्मचारी, १९ हजार ४५० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा असार २१ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै विक्री नभएमा ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन पाइनेछ । लघुवित्तको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटल रहेको छ । निष्काशन कित्ता अत्यन्त न्यून भएकाले १० कित्ता शेयर पनि गोलाप्रथाबाट मुस्किलले पाउने भएकाले १० कित्ताका लागि मात्र आवेदन गर्दा उत्तम हुनेछ
।
आइपीओमा आवेदन दिनेको संख्या मागभन्दा धेरै रहेने हुनाले १० कित्ताको लागि पनि भाग्यमा भर पर्नुपर्ने देखिन्छ । उक्त शेयर १० कित्ताका दरले बाँडफाँट गर्ने हो । त्यसैले नै १० कित्ताको लागि नै आवेदन दिनु उपयुक्त हुनेछ ।
लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।
हाल ८ करोड २२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ । लघुवित्तले हाल देशका १२ वटा जिल्लाका ३७ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख खुद मुनाफा कमाएको छ । ८ करोड २२ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ रहेको छ ।