छालाको रङ फिक्का किन हुन्छ ?

काठमाडौं । छालाको रङ फिक्का हुनु भनेको (पेलनेस) सामान्य रङको तुलनामा छालाको रङ असामान्य हल्का हुनु हो ।

सामान्यतया रगत प्रवाह र अक्सिजनको फ्लो घट्दा वा रातो रक्त कोशिकाको सङ्ख्या कम भएको कारण छालाको रङ फिक्का हुनु हो ।

धेरै कारणहरूमध्ये एनेमिया छालाको रङ फिक्का हुने सबैभन्दा सामान्य कारण हो । शरीरले पर्याप्त रातो रक्त कोशिका उत्पादन नगर्दा एनेमिया हुने हुन्छ । एनेमिया अचानक सुरू भई छोटो समयका लागि वा बिस्तारै विकास हुँदै लामो समयसम्म रहन सक्छ ।

एनेमिया पनि विभिन्न कारणले गर्दा हुनसक्छ । शल्यक्रिया, आन्तरिक (पेट वा आन्द्राबाट) रक्तस्राव भएमा, महिनावारीमा धेरै रक्तश्राव हुने महिलामा, पोषणको कमी, भिटामिन बी १२, फोलेट तथा आइरनको अभावका कारण पनि एनेमिया हुनसक्छ । सिकल सेल रोग तथा थालासिमिया जस्ता आनुवंशिक कारण, हाइपोथायरायडिजम, मिर्गौलाको समस्या तथा केही क्यान्सरका कारण पनि एनेमिया हुनसक्छ ।

यसबाहेक घाममा धेरै समय नबस्दा, पहिलादेखि पहेँलो छाला भएकामा, चिसोका कारण, खतरनाक रूपमा रक्तचाप कम भएमा, धमनीमा अवरोध भएमा, रगतको सङ्क्रमण भएमा, फ्रोस्ट बाइटका कारण पनि छालाको रङ फिक्का हुने हुन्छ । छालाको रङ फिक्का भएमा धेरैजसो आँखाको भित्री झिल्ली, हात, नङ, जिब्रो र मुखको झिल्लीमा धेरै देखापर्ने हुन्छ ।

छालाको रङ फिक्का भएसँगै बेहोस भएमा, ज्वरो आएमा, रगत बान्ता गरेमा, पेट दुखेमा, थकान, दिसामा रगत देखापरेमा तुरुन्त जाँच गराउनुपर्ने हुन्छ । योसँगै सास फेर्न गाह्रो हुने, हात खुट्टा चिसो हुने तथा दुख्ने, छाती दुख्नेजस्ता गम्भीर लक्षण देखिए तत्काल मेडिकल हेरचाह आवश्यक पर्ने हुन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here