कोरोना त्रासकै बीच थपिए २०३ उद्योग, उर्जा क्षेत्रमा मात्रै १ खर्बभन्दा बढीको लगानी

जितेन्द्र खनाल

काठमाडौं, ३ साउन । नयाँ आर्थिक वर्षको सुरुवात भईसकेको छ । आर्थिक वष २०७७/७८ केही महिना सामान्य रहेपनि धेरैजसो समय कोरोना संक्रमण र त्यसको कारण भएको लकडाउन र निषेधाज्ञामा नै बित्यो ।

जसको कारण हरेक क्षेत्र प्रभावित भए । तरपनि औधोगिक लगानीमा भने यसको असर अन्य क्षेत्रका तुलनामा केही कम मात्रामा देखिएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २०३ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा ७० वटा रहेका छन् भने कम खनिजको क्षेत्रमा १ उद्योग दर्ता भएका छन् ।

धेरै उद्योग उत्पादनमूलक क्षेत्रमा

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा संख्याको हिसाबमा सबैभन्दा धेरै उद्योग उत्पादनमूलक क्षेत्रमा थपिएका छन् । उक्त समयमा उत्पादनमूलक क्षेत्रका मात्रै ७० उद्योगमा लगानी प्रतिवद्धता आएका छन् ।

त्यस्तै, दोस्रो धेरै लगानी प्रतिवद्धता आउने उद्योगमा भने पर्यटन क्षेत्र रहेको छ । गत आर्थिक वर्षमामा पर्यटन क्षेत्रका ४० नयाँ उद्योगमा लगानी प्रतिवद्धता आएका छन् ।

त्यस्तै, सेवामूलक क्षेत्रमा ३३, उर्जामूलक क्षेत्रमा ३०, कृषि तथा वन पैदावर क्षेत्रमा २१, सूचना, सञ्चार तथा प्रशारण प्रविधिमा आधारित क्षेत्रमा ६, पूर्वाधार क्षेत्रमा २ र खनिज क्षेत्रमा १ उद्योगमा लगानी प्रतिवद्धता आएको छ ।

धेरै लगानी उर्जा क्षेत्रमा

गत आर्थिक वर्षमा लगानीको आधारमा भने सबैभन्दा धेरै लगानी प्रतिवद्धता उर्जा क्षेत्रमा आएको छ । विभागको तथ्यांक अनुसार एक वर्षमा उर्जा क्षेत्रमा मात्रै १ खर्ब ९ अर्ब रुपैयाँ बरारको लगानी प्रतिवद्धता आएको छ ।

त्यस्तै, उत्पादनमूलक क्षेत्रमा १९ अर्ब ५२ करोड, पर्यटन क्षेत्रमा १३ अर्ब ४८ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

झण्डै १२ हजारलाई रोजगारी

गत आर्थिक वर्षमा दर्ता भएका उद्योगले झण्डै १२ हजार जनाको लागि रोजगारी सिर्जना गरेको छ । विभागको तथ्यांक अनुसार उक्त उद्योगमा ११ हजार ८ सय ३३ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने उद्योगमा उत्पादनमूलक क्षेत्र पहिलो स्थानमा रहेको छ । विभागको तथ्यांक अनुसार उत्पादनमूलक क्षेत्रले गएको एक वर्षमा ४ हजार २ सय ८४ जनाको लागि प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

त्यस्तै, कृषि तथा वन पैदावारमा आधारित उद्योगले १ हजार ९ सय २३ जना, पर्यटन क्षेत्रले १ हजार ८ सय ९४ जानको लागि प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

वैदेशिक लगानी घट्यो

गत एक वर्षमा औधोगिक क्षेत्रमा वैदेशिक लगानी प्रतिवद्धता भनेको घटेको विभागको तथ्यांकले देखाउछ । विभागको तथ्यांक अनुसार गएको १ वर्षमा उर्जा क्षेत्रमा २७ करोड रुपैयाँ बराबरको मात्रै वैदेशिक लगानी स्वीकृत भएको छ ।

तर, गत बर्षको यही अवधिमा भने उर्जा क्षेत्रमा विभिन्न देशबाट ५ ओटा परियोजना मार्फत ४ अर्ब ९७ करोड ८७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

अघिल्लो बर्षको तुलनामा गत आवमा विदेशी लगानी प्रतिवद्धतामा ४ अर्ब ७० करोडको गिरावट आएको विभागको तथ्यांकले देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here