काठमाडौं महानगरः कला मेटाउँदै, व्यापारी पोस्दै

विन्देश खनालको ट्वीटर

काठमाडौं । कोभिड–१९ महामारीमा अग्रपंक्तीमा खटिएकाहरुको सम्मानमा बनाएको चित्रले भित्ता फोहोर बनाएको भन्दै मेटेको काठमाडौं महानगरपालिकाले सोही ठाउँमा व्यापारिक होर्डिङबोर्ड भने राख्न दिएको छ ।

रत्नपार्कको आकाशे पुलको भित्तामा बनाएको चित्रले भित्तालाई फोहोर बनाएको भन्दै महानगरपालिकाले मेटाएको थियो । साथै त्यसको केही दिन पछी आफ्नै खर्चमा अर्को चित्र बनाएको थियो ।

सोहि पुलमा अहिले अम्बे सिमेन्टको होर्डिङ बोर्ड राखिएको छ । पुल बनाउने ठेकेदार कम्पनीसँग होडिङ बोर्ड बनाउने शर्त पहिले नै राखिएकोले यस विषयमा महानगरको अधिकार नरहेको नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले बताए । ‘पुल निर्माण अघि नै होर्डिङ बोर्ड राख्ने शर्त अनुसार सम्झौता भएको हुन्छ, त्यसमा महानगरपालिकाले केही गर्न मिलेन’ उनले भने ।

त्यसो त सर्वोच्च अदालतले पनि वाल पेन्टिङ र होर्डिङ बोर्ड हटाउन आदेश दिएको थियो । तर अदालतको आदेश भन्दा अघि नै सम्झौता भएकोले त्यसमा केही गर्न नमिल्ने उनको भनाई छ ।

महानगरपालिकाले २०५८ सालदेखि नै वाल पेन्टिङमा प्रतिबन्ध लगाएको थियो । साथै सर्वोच्च अदालतले पनि वाल पेन्टिङ, होर्डिङबोर्ड हटाउन आदेश दिएको थियो ।

सोही नियमलाई पालना गरेर चित्र मेटाउने महानगरले व्यापारिक होर्डिङ बोर्ड किन राख्यो त भन्ने प्रश्नमा महानगरका एक कर्मचारीले भने – पुल बनाउने ठेकेदार कम्पनीले विभिन्न व्यापारिक विज्ञापन राख्ने र त्यसवापत आउने पैसा पाउने शर्त राखिएको थियो ।

सोहीअनुसार ठेकेदार कम्पनीले बोर्ड राखेको हो । यद्यपि यो विज्ञापन नीति र सर्वोच्च अदालतको नियम विपरित भएको भने उनले स्वीकार गरे ।

त्यसो त महानगरपालिकाको यो कदमप्रति सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी भएको छ । कोरोना महामारीमा खटिनेको सम्मानमा बनाएको चित्रले शहर कुरुप हुने, नियम विपरित हुने तर सिमेन्टको होडिर्ङ बोर्डले नहुने कस्तो तर्क हो, एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् – यो व्यापारीलाई पोस्ने बहाना मात्र हो ।

चार जना कलाकार र तीन जना स्वयंसेवकले छ दिन लगाएर कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेकाहरुको सम्मानका लागी चित्र बनाएका थिए । तर चित्र बनाएको १५ दिन पनि नहुँदै चित्र गैरकानुनी भएको तथा यसले भित्ता फोहोर बनाएको भन्दै महानगरले मेटाएको हो ।

कोरोना महामारीमा शहरका अधिकांश मानिसहरु घरभित्र बसेको बेलामा फिल्डमा अटिने स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, सफाइकर्मी, पाइलट, शव व्यवस्थापकहरुको सम्मानका लागी सो चित्र बनाइएको थियो । चित्रको परिकल्पना डोजनाङ शेर्पाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here