जितेन्द्र खनाल
काठमाडौं । नेपालसहित विश्वले कोरोना संक्रमणको दोस्रो लहर झेलिसकेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहान राज्यबाट फैलिएको कोरोना संक्रमणको कारण विश्वभर करोडौं मानिस संक्रमित भएका छन् भने लाखौंको ज्यान गएको छ ।
त्यसो त कोरोना संक्रमणको भ्याक्सिन पनि बनिसकेको छ । तर, भ्याक्सिन लगाएकै देशमा पनि अस्वभाविक रुपमा कोरोना संक्रमणको दर बढेको तथ्यांकले तेस्रो लहरको संकेत गरिरहेको छ ।
नेपालमा पनि पछिल्लो समय दैनिक ३ हजारको हाराहारीमा कोरोनाको नयाँ संक्रमित थपिएको कारण नेपाल तेस्रो लहरको कोरोना संक्रमणको उच्च जोखिममा रहेको कुरा विशेषज्ञहरु बताउछन् ।
कोरोना संक्रमणको दर बढ्दै गएको कारण टेकु अस्पतालले अस्पताल हाताभित्र रहेको पार्किङ क्षेत्रमा समेत अस्थायी बेडको व्यवस्था गरिसकेको छ । त्यसै सन्दर्भमा नेपालमा कोरोनाको तेस्रो लहर भित्रिएको हो भन्ने प्रश्नमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन एकै दिनको संक्रमण दरलाई हेरेर कोरोनाको अवस्था भयावह भयो भन्न नमिल्ने बताउँछन् ।
‘अस्पतालमा बेडको संख्या बढाईएको छ, जसको लागि पार्किङ क्षेत्रमा अस्थायी बेड पनि राखिएको छ । यसलाई महामारी आईसक्यो भन्दा पनि केही दिनयता संक्रमण दर बढेको घटनालाई मध्यनजर गर्दै यसको लागि पुर्व तयारी गरिएको भन्ने बुझ्नुपर्छ,’ डा. पुनले भने ।
त्यसो त टेकु अस्पतालमा मात्रै नभएर अन्य निजी अस्पतालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
‘तर हामीले स्विकार गर्नै पर्ने कुरा भनेको संक्रमण दर अस्वभाविक रुपमा बढ्न थालेको चाहीँ हो । मेरो अन्य अस्पतालका साथीहरुसँग पनि कुरा भईरहेको छ, त्यहाँ पनि कोरोना संक्रमितको चाप बढेको छ । त्यसकारण हामी सचेत भने अवश्य हुनुपर्छ,’ सरुवा रोग विशेषज्ञ डा. पुनले बताए ।
मानसिक स्वास्थ्यमा प्रभाव पर्ने तीन कारण
पहिलो
चारैतिर तेस्रो लहरको चर्चा चल्दै गर्दा यसले मानसिक स्वास्थ्यमा थप प्रभाव पार्ने कुरा सी.एम.सी. नेपालमा कार्यरत मनोविद् करुणा कुँवर बताउँछिन् । संक्रमण बढ्दै गर्दा मानिसमा आफू वा आफ्ना आफन्तलाई केही हुन्छ कि भन्ने डरको कारण थप असर परेको कुँवरको भनाइ छ ।
‘विशेष गरी पहिलेदेखि नै स्वास्थ्य समस्यासँग जुध्दै आएका मानिसहरु सबैभन्दा धेरै विचलित भएका छन् । उनीहरुमा मलाई केही भईहाल्छ कि भन्ने प्रश्नले सबैभन्दा धेरै पिडा दिने गर्छ,’ कुँवरले भनिन् ‘बाहिरी संसार बन्द जस्तै भएको अवस्थामा केही समस्यामा भएका मानिसहरुले थप समस्या भोग्नु परेको छ ।’
संक्रमणको कारण कामकाज बन्द हुँदा मानिसले आर्थिक संकट पनि भोग्नु पर्यो । यसरी लामो समयसम्म आर्थिक क्रियाकलाप बन्द भएसँगै देखा परेको आर्थिक संकटको कारण पनि मानिसहरुको मानसिक स्वास्थमा असर परेको छ ।
‘कोभिड सुरु भएको झण्डै दुईवर्ष पुग्न लागिसक्यो । यसबिचमा संक्रमण दर घट्ने भन्दा पनि बढ्दो क्रममा नै छ । यसरी लामो समयसम्म आर्थिक गतिविधि बन्द हुँदा आर्थिक संकट हुनु स्वभाविक कुरा हो । जसले मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ,’ कुँवर भन्छिन्, ‘खासगरी ऋण गरेर व्यवसाय सुरु गरेका व्यक्तिहरुको मन कति बिचलित भएको होला हामी सहजै अनुमान गर्न सक्छौं ।’
दोस्रो
सबैतिरबाट नराम्रा र डरलाग्दा खबरहरु आउँदा मानिसमा त्यो नराम्रा र डरलाग्दा खबरहरुसँग लड्दै आफ्नो मानसिक स्वास्थ्लाई स्वस्थ राख्ने क्षमतामा पनि कमी आउने र उसले केही सोच्नै नसक्ने भएको कारण एङ्जाइटी डिसअर्डर र डिप्रेसनको समस्या बढेको मनोविद् कुँवरको अनुभव छ ।
तेस्रो कारण
तेस्रो कारणमा कोभिड १९ को संक्रमण भएका व्यक्तिको भित्री अंग र मस्तिष्कमा भाइरसले कस्तो प्रभाव पार्यो भन्ने कुराले पनि मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ।
कुन उमेर समुहमा कस्तो प्रभाव ?
बालबालिकाको मानसिक स्वास्थ्यमा संक्रमणले कस्तो प्रभाव पार्यो भन्ने कुरामा पनि उनीहरुमा उमेर अनुसारको प्रभाव देखिने गरेको छ । बालबालिकाको दैनिक क्रियाकलापमा असर पुगेको, स्कुल बन्द भएसँगै बाहिरी वातावरणमा निस्कने, साथीसँग खेल्ने जस्ता क्रियाकलाप बन्द भएको कारण उनीहरुको मानसिक स्वास्थमा असर परेको मनोविद् कुँवर सुनाउँछिन् ।
उनका अनुसार कोरोना संक्रमणको कारण स्कुलहरु बन्द भए, बालबालिका घरमा नै बस्नुपर्यो । उनीहरुको साथी छुटे । अनलाईनमा नै सबैकुरा सिमित भए । जसको कारण स्क्रिनमा बिताउने समय बढेको र त्यसले उनीहरुमा पनि एङ्जाइटी डिसअर्डर र डिप्रेसनको समस्या बढेको छ ।
कोभिड सुरु भएसँगै दीर्घरोगी र वृद्धवृद्धामा यसले धेरै प्रभाव पार्छ भन्ने समाचार तथा सूचना धेरै आएको कारण वृद्धवृद्धामा अत्यास र अन्यौलको भावना बढेको र मानसिक स्वास्थ्मा थप समस्या परेको कुरा मनोविद् कुँवर बताउँछिन् ।
‘एकातिर त्यस्ता सूचना र समाचार आईरहेको छ अर्को तर, संक्रमणको कारण समान्य अवस्थामा पाउने जस्तो उपचार नपाईएको कारण वृद्धवृद्धाको मानसिक स्वास्थ्मा थप समस्या परिरहेको छ,’ उनले भनिन् ।
युवामा पनि दैनिक कामहरु रोकिदाँ आर्थिक संकटदेखि परिवारको चिन्ताको कारण उनीहरु पनि यस अवस्थामा मानसिक रुपमा पूर्ण स्वस्थ नरहेको मनोविद् कुँवर बताउँछिन् ।
मानसिक रुपमा कसरी स्वस्थ रहने ?
मानसिक स्वास्थ्यको लागि सबैभन्दा महत्वपूर्ण कुरा खानपिन र निद्रामा विशेष ध्यान दिनुपर्छ । पौष्टिक आहारले रोग प्रतिरोधक क्षमता वृद्धिमा सहायोग गर्ने र पर्याप्त निद्राले डर, चिन्तालाई कम गर्ने विज्ञहरु बताउँछन् ।
यसबाहेक निम्न कुरामा ध्यान दिनुपर्छः
१. घर–परिवार, नाता– गोता र आफन्तसँग घरमै समय विताउने, मनमा लागेका कुराहरू आदानप्रदान गर्ने,
२. घरबाट टाढा रहेका परिवारका सदस्य र साथीहरूसँग फोन, भिडियो कल तथा मेसेजका माध्याम बाट सम्पर्कमा रहने,
३. शारीरिक र मानसिक रूपमा स्वस्थ रहन व्यायाम र योगको ठूलो भूमिका भएकाले दैनिक शारीरिक व्यायाम र योग गर्ने,
४. रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्न स्वच्छ पौस्टिक आहार सेवन गर्ने,
५. मष्तिस्कलाई सन्तुलनमा राख्न मस्त निद्राको पनि आवश्यक पर्ने भएकाले समयमै सुत्ने बानी बसाल्ने,
६. व्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान दिने,
७. रुचिअनुरुप किताब र पत्रपत्रिका पढ्ने, चित्रकला बनाउने, लेखहरु लेख्ने र बालबालिकाहरुलाई पनि रचनात्मक कार्यहरू सिकाउने,
८ बालबालिकाहरुलाई घरमै बसेर खेल्न मिल्ने ‘इनडोर गेम’ हरु खेलाउने
९. बालबालिका तथा जेष्ठ नागरिकका कुराहरु सुनिदिने, उनिहरुले राखेका जिज्ञासाको बुझ्ने ढङ्गमा जवाफ दिने, उनिहरूलाई स्नेह र माया गर्ने,
१०. फेसबूक र इन्टरनेट बढी नचलाउने, बढी भन्दा बढी समय परिवारसँग बिताउने ।