‘ओटीटीको विकल्प छैन, गुणस्तरीय डिजिटल सिनेमा चाहिएको छ’- आकाश अधिकारी

आकाश अधिकारी अध्यक्ष,चलचित्र निर्माता संघ/सभापति,फिल्म तथा मनोरञ्जन समिति उद्योग वाणिज्य महासंघ

सफल निर्माता तथा निर्देशक एवम कलाकार आकाश अधिकारी अहिले चलचित्र निर्माता संघको अध्यक्षको नयाँ जिम्मेवारीमा छन् । कोभिड–१९ को महामारीले थला पारेको चलचित्र निर्माण तथा प्रदर्शन व्यवसायलाई उठाउन लागि परेका उनले चलचित्र क्षेत्रलाई राष्ट्रिय मान्यताप्राप्त उद्योगमा राख्ने सफलता पाइसकेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको फिल्म तथा मनोरञ्जन समितिको सभापति समेत रहेका उनी यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्र दुवैको जोडबल आवश्यक रहेको बताउँछन् । नेपालको चलचित्र क्षेत्रको विकास, प्राविधि हस्तान्तरण, न्यू मिडिया र नीतिगत विषयमा क्लाउडपत्रिकाका जितेन्द्र खनालले गरेको कुराकानीको सारः

हाल के मा व्यस्त हुनुहुन्छ ?

केही समय अघिसम्म बजेटमा चलचित्र क्षेत्रका लागि आवश्यक विषय समावेश गराउनमा लागियो । सिनेमा उद्योगको तर्फबाट पनि विभिन्न निकाय, संघसंस्था, सारोबार वाला सबैको साथ लिएर अघि बढ्यौं । साथै उद्योग वाणिज्य महासंघमा पनि चलचित्र मनोरञ्जनको साधन भन्दा वृहत क्षेत्र हो भन्ने बुझाउन सफल भयौं ।

यसका साथै निरन्तरको प्रयासबाट सेवामूलक क्षेत्रका रुपमा रहेको सिनेमा क्षेत्रलाई ‘राष्ट्रिय प्रथमिकता प्राप्त उद्योग’ बनाउन सफल भयौं । यो भनेको सिनेमा क्षेत्र अब कृषि, पर्यटन क्षेत्र जत्तिकै महत्वपूर्ण रहनेछ । सिनेमा उद्योग, उद्योग वाणिज्य महासंघ र मेरो निरन्तरको प्रयासबाट सिनेमा क्षेत्रलाई बहसको विषय बनाउन सकिएको छ ।

गत साता घोषणा भएको मौद्रिक नीतिले चलचित्रलाई के दियो ?

मौद्रिक नीति हाम्रो अपेक्षाअनुसार आएन । हामीले ३ देखि ५ प्रतिशत व्याजदरमा राज्यले सिनेमा क्षेत्रलाई उठाउनको लागि १० वर्षलाई ऋण दिओस् र ३ वर्षको लागि सावाँव्याज नलियोस् भन्ने माग गरेका थियौं । त्यो सम्बोधन भएन । यहाँ म के जोड्न चाहन्छु भने राज्य र सम्बन्धित निकायले चलचित्रलाई मनोरञ्जन मात्र मान्नु हुँदैन ।

चलचित्र वा टेलिभिजन कार्यक्रम राम्रा आएनन् भने युट्युवमा हेरौं हेरौं लाग्ने सामग्री नेपालीमा बनेनन् भने भोलि हाम्रा बालबालिका तथा किशोरकिशोरी छिमेकी देशको र अंग्रेजी भाषा बोल्ने हुन्छन् । नेपाली भाषा, कला संस्कृति सबै बिर्सन्छन् । तर नीतिनिर्माताहरुले यो विषय बुझेकै छैनन् । यस्ता कुरामा ध्यान नदिंदा अहिले नै नर्सरीबाट माथिका साना बच्चाहरुले नेपालीको हाराहारीमा हिन्दी बोल्ने र बुझ्ने गरेका छन् । मेरो चिन्ता त्यही साँस्कृतिक कुरामा हो ।

तपाईं एक सफल चलचित्र निर्माता हो । नयाँ प्रोजेक्ट के ल्याउँदै हुनुहुन्छ ?

गत फागुनबाट नै सिनेमा निर्माण गर्ने सोचमा थिए । तर स्क्रिप्ट चित्त बुझेन । अब एक नयाँ सिनेमामा काम हुँदैछ । दार्जिलिङ, सिक्किम र काठमाडौंमा सुटिङ हुने यो फिल्म नेपाली र हिन्दीमा बन्नेछ र यसले बलिउड र कलिउडलाई जोड्ने छ ।

कोभिडका कारण सिनेमा हल बन्द हुँदा सिनेमा उद्योग नै थला परेको छ । पुनरुत्थानको बाटो के होला ?

हामी अप्ठ्यारो र अनिश्चित समयमा छौं । सिनेमा हल बन्द हुँदा यसको विकल्प खोज्ने प्रयास पनि भइरहेको छ । त्यसका लागि मैले अमेजन, नेटफ्लिक्स जस्ता विश्वका टप ओटीटी प्लाटफर्मसँग पनि कुरा गरें । तर नेपालमा उनीहरुका प्रयोगकर्ता नभएको उनीहरुको भनाइ छ ।

नेपालमा उल्लेख्य रुपमा अमेजन, नेटफ्लिक्सको प्रयोग गरिन्छ । तर उनीहरुले विदेशमा रहेका साथी वा परिवारका सदस्यहरुले दिएको युजनरनेम र पासर्वडबाट हेरेका कारण नेपालमा यस्ता ओटीटीको सदस्य नभएको देखियो ।

यसकारण २०७७ सालको साउन १ गते राष्ट्र बैंकमा म लगायत सिनेमा क्षेत्रका अन्य साथीहरु गएर प्रत्येक नेपाली नागरिकलाई डलर भिसा कार्ड दिन माग गर्यौं । हाम्रो माग त २००० डलर थियो तर, ५०० डलरको व्यवस्था भएको छ । त्यसपछि अमेजन र नेटफ्लिक्समा नेपालबाटै सदस्यता लिन सुरु भएको छ । यस्ता प्लाटफर्ममा सदस्यता बढेपछि बल्ल अमेजन, नेटफ्लिक्सले हाम्रा सिनेमा किन्छन् ।

यस्ता ओटीटीमा त गुणस्तर कुरा पनि आउँछन्, नेपाली सिनेमालाई त्यो यात्रा कति सहज होला ?

अन्तरराष्ट्रिय प्लाटफर्ममा जानका लागि सिनेमाको गुणस्तर सबैभन्दा ठूलो कुरा हो । नेपालमा अहिले एउटा क्वालिटीको सिनेमा निर्माण गर्नको लागि डेढ करोडदेखि ४ करोड रुपैयाँसम्म लाग्छ । त्यसकारण यसमा जोखिम लिएर एक्लै सिनेमा बनाएर हिड्नुभन्दा बरु पाँच व्यक्ति वा कम्पनी मिलेर गुणस्तरीय सिनेमा बनाउन सक्यौं भने बल्ल हामी अन्तर्राष्ट्रिय क्षेत्रमा सिनेमा बिक्री गर्न सक्छौं । त्यसकारण मैले निमार्ण गर्न लागेको चलचित्रमा दुई देशका भाषा, कलाकारलाई जोड्ने प्रयास गरिएको छ ।

अहिलेको समयमा नेपाली सिनेमा उद्योगलाई कसरी हेर्ने ? न्यू मिडियामा सिनेमालाई लैजाने बारेमा के भन्नुहुन्छ ?

अबको नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा जानै पर्छ । नत्र हामीलाई बजार सानो हुन्छ । किनभने केही समयअघिसम्म नेपालका साढे २ प्रतिशत जनताले मात्रै हलमा गएर सिनेमा हेर्थे । त्यसमा पनि घटेर साढे १ प्रतिशत भएको थियो ।

अबको दिनमा भन्ने हो भने त ०.५ प्रतिशत मात्रै हुन्छ । किनभने सबैको हातमा स्मार्टफोन र इण्टरनेट छ । इण्टरनेटमा मनोरञ्जनका यति धेरै साधन छन कि उसलाई सिनेमा हलसम्म जानु पर्ने वाध्यता छैन । त्यसकारण नेपाली सिनेमालाई पनि डिजिटल प्लाटफर्ममार्फत ति ग्याजेटमा हेर्ने सुविधा दिनै पर्छ । त्यहाँ विश्वभरका सिनेमा हेरेका दर्शकलाई क्वालिटीको सिनेमा दिनुपर्ने अर्को चुनौति पनि थपिएको छ ।

कोभिडको समयमा निर्माता र सिनेमा हललाई सरकार र अन्य निकायले सहयोग गरेका छन् ?

कोभिड केही कम भएपछि गतवर्ष हामी सीसीएमसीदेखि समबन्धित सबै निकाय गयौं । सिनेमा छायांकनको लागि निश्चित मापदण्ड सहित अनुमति दिइयो । त्यसको एक महिनापछि सिनेमा हल पनि खुल्यो । तर दर्शक हलसम्म आएनन् ।

त्यो स्वभाविक पनि थियो । कसैले खोप पाएका थिएनन्, आत्मबल बढेकै थिएन्, कोभिडको त्रास उत्तिकै थियो । अब अहिलेको कुरा गर्ने हो भने झण्डै ८५ वटा सिनेमा छायांकन सकेर प्रर्दशनको तयारीमा छन् । झण्डै १ अर्ब ६० करोड रुपैयाँ लगानतका सिनेमा निर्माण भएर पनि प्रदर्शन नहुँदा त्यो पैसा फ्रिज भएर बसेको छ । १०/१५ अर्ब लगानी गरे बनेका सिनेमा भवनहरु यतिकै बसेका छन् ।

हामीले तिर्ने १३ प्रतिशत भ्याटबाट आधा फिर्ता गर्न र मनोरञ्जन कर दुई वर्षको लागि छुट गर्न भनेका थियौं । यसो गरिदिनु भयो हामी उठ्छौं, हामी सिनेमा चलाउछौं भनेको हाम्रो कुराको कुनै सुनुवाई भएन् । यसको मतलब के हो भने नेपालमा विदेशी सिनेमा भित्रियोस्, विदेशी भाषा संस्कृतिले नेपाली भाषा संस्कृतिलाई तल पारोस् भन्ने नै राज्यको धारणा हो । या त सरकारी निकायमा आफ्नो कला संस्कृतिप्रति माया नभएका व्यक्ति छन् या उनीहरुले यसको महत्व नै वुझेका छैनन् र दुरदर्शी कुरा सोच्नै सक्दैनन् ।

यो कुरामा सिनेमा क्षेत्रले प्रज्ञा प्रतिष्ठानलगायतलाई पनि सँगै लैजानु पथ्र्यो कि ?

यो राम्रो कुरा हो । अहिलेसम्म हामीहरुले सिनेमा उद्योग र सांगितिक क्षेत्रलाई मात्रै हेर्यौं । अबको समयमा यो कुरामा पनि बहस हुनेछ । यस क्षेत्रका विज्ञहरुसँग बसेर यस्तो संकटको अवस्थामा हामी कसरी मिलेर अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बेला आएको छ ।

‘राष्ट्रिय प्रथमिकता प्राप्त उद्योग’ भएपछि सिनेमा क्षेत्रलाई फाइदा चाहीँ के भयो ?

यो विषय लेख्य रुपमा त आयो । तर त्यसका लागि ऐन, कानुन र नियमावलीमा पनि परिमार्जन हुनुपर्छ । त्यो नहुँदा फाइदा लिन सकिएको छैन ।

कोभिडको त्रास अझै छ, कालाकार, निर्माता आदीले कसरी जीवन चलाईरहेका छन्, सर्भाइभल पोलीसी के हो ?

अहिले अधिकांश प्राविधिक र केही कलाकारहरु म्युजिक भिडियो, सर्ट फिल्म र वेब सिरिजरुपी भिडियोमा निर्भर छन् । त्यसकारण हामीले डिजिटल प्लाटफर्ममा उपस्थिति बढाउनु परेको छ । कोरोना केही कम भएपछि म मुम्बई र मद्रास जाँदैछु । त्यहाँका डिजिटल प्लाटफर्मसँग हाम्रा फिल्म मेकरको भेट गराउने मेरो चाहना छ । डिजिटल सामग्रीमा अंग्रेजी सबटाइटल राख्ने हो भने जुनसुकै भाषाको फिल्म चल्न सक्छ ।

यसका साथै सिरिज र सर्ट फिल्ममा पनि सबटाइट राख्ने हो भने विश्वभरी नै हेर्छन् । अब डिजिटल प्लाटफर्मको विकल्प छैन् यसको लागि विशेषत सिनेमाको क्वालिटीमा विशेष ध्यान दिनुपर्छ । तत्काल सिनेमा हल खुल्ला र हाम्रो सम्पूर्ण लगानी उठ्ला भन्नु बेकार छ ।

सिनेमा क्षेत्रको विकासको लागि एफएनसीसीआईको भुमिका के हुन्छ ?

एफएनसीसीआईमा रहनु भएका अधिकांश साथीहरु व्यापार व्यवसायबाट आउनुभएको हो । उहाँहरुको धारणा एक लगानी भएको ठाउँबाट दुई कमाउने हुन्छ । त्यसमा पनि सिनेमा क्षेत्र डुबेको अवस्थामा उहाँहरुले पैसा खर्च गरेर सिनेमा क्षेत्रलाई माथि उठाउनु होला भन्नेमा म अहिले विश्वास राख्दिन । नेतृत्व गर्ने स्थानमा रहनुभएका उहाँहरुले सिने क्षेत्रलाई सहयोग भने गरिरहनु भएको छ । खासगरी निती निर्माणको विषयमा गर्नु पर्ने सहयोग भने उहाँहरुले गरिरहनु भएको छ ।

सिनेमा क्षेत्रको प्राविधिक कुरामा अहिलेपनि प्रश्न उठिरहन्छ, प्राविधिक पक्षलाई कसरी राम्रो बनाउने ?

हाम्रो सिनेमाको तुलना जहिलेपनि हलिउड बलिउडका सिनेमासँग हुन्छ । अहिलेका दर्शकहरुले विश्वका उत्कृष्ट सिनेमा हेरिरहनु भएको छ । यस्तो अवस्थामा नेपाली सिनेमालाई ती सिनेमासंग तुलना गरेर हेर्न चाहीँ मिल्दैन् । अमेरिका र नेपालको तुलना कसरी गर्ने ? तरपनि हामीले तुलना गर्न मिल्ने प्रविधिको कुरा गर्दा १०० मा ५०/६० प्रतिशतसम्म तुलना गर्न मिल्ने सिनेमा बनाईरहेका छौं । यो पनि निकै ठूलो उपलब्धी हो ।

मैले नेगेटिभमा बनाएको शासन भन्ने फिल्मको एउटा प्रिन्ट निकाल्नको लागि मलाई ३५ लाख रुपैयाँ लागेको थियो । तर आज त्यो भन्दा राम्रो क्वालिटी ५ लाख रुपैयाँमै निकाल्न सकिन्छ । अहिले २५/३० वटा रेड क्यामरा नेपालमा छन् । त्यसकारण बजार बलियो भएसंगै प्रविधिमा पनि विकास हुन्छ । मुख्य कुरा बजार नै हो ।

बलिउड, सार्क तथा अन्य क्षेत्रमा नेपाली सिनेमा पुर्याउनको लागि केही योजना बनाउनु भएको छ ?

यो विषयमा फिल्म मेकरको बिचमा कुनै चिन्तन नै छैन् । म एक्लै कराउँदै हिडे भने या त मलाई पागल भन्छन्, या त मैले आफ्नो समय बर्बाद गरिरहेको हुन्छु । म सन् २०१८ मा चीनको ‘मोसन पिक्चर प्रोडुसर एसोसियसन अफ एसिया प्यासिफिक’ मा सहभागी भएँ । त्यो समयसम्म त्यसमा २४ राष्ट्र सदस्य थिए । मैले नेपाललाई पनि सहभागी गराएर २५ पुर्याँए । हाम्रो प्रस्तुतिपछि नेपाल बोर्ड मेम्बरको लागि योग्य छ भन्ने कुरा भयो ।

अहिले १७ जनाको समितिमा सन् २०२३ सम्मको लागि म पनि सदस्य छु । चिनमा सिनेमा रिलिजको लागि हलिउडले ७ र भारतले ५ वटाको अनुमति पाएको छ । मैले पनि नेपालको २ वटा सिनेमा रिलिज गर्नका लागि पहल गरिरहेको छु । चीन ज्यादै ठूलो बजार हो । भारतीय सिनेमाले त्यहाँ धेरै राम्रो व्यापार गरिरहेका छन् । त्यसको लागि सिनेमाको गुणस्तरको कुरा आईरहेको छ, मैलै नेपाली निर्माता साथीहरुलाई बारम्बार यही भनिरहेको छु ।

वर्मामा पनि कुरा भएको छ । वर्मामा नेपाली सिनेमालाई माया गर्ने धेरै नेपाली भाषी छन् । तर दुई पटकसम्म भिसा लिएर टिकट लिंदा पनि मैलै नेपाली सिनेमा क्षेत्रबाट संगै जाउँ भन्ने साथी पाईन् । सिनेमाको राष्ट्रिय बजारले मात्रै पुग्दैन् अन्तराष्ट्रिय बजार चाहिन्छ । त्यसमा नेपाली दूतावासहरुले सहयोग गर्नुपर्छ । यसरी विभिन्न देशमा सिनेमा देखाउँदा सिने क्षेत्रको विकास त हुन्छ नै पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here