गरिबी र मोटोपनाले विश्वव्यापी रुपमा बढाउदैछ रक्तचापका बिरामी

काठमाडौं । संसारभरिका मानिसहरूमा उच्च रक्तचाप बढ्नुको कारण गरिबी र मोटोपना पनि रहेको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का र इम्पिरियल कलेज लन्डनका शोधकर्ताहरूले उच्च रक्तचापको विषयमा अनुसन्धान गरेका थिए । लान्सेट जर्नलमा प्रकाशित अनुसन्धानअनुसार पछिल्लो ३० वर्षमा उच्च रक्तचापका केसमा केही परिवर्तन भएको छ । उच्च आय भएका देशहरूमा उच्च रक्तचापका केस घट्दैछ भने कम आय भएका देशहरूमा उच्च रक्तचापका बिरामीको सङ्ख्या बढ्दो छ ।

धनी देशहरूले समयसँगै उच्च रक्तचाप नियन्त्रण गर्ने तरिका सिकेका छन् । इम्पिरियल कलेज लन्डनका प्रोफेसर माजिद इजातीका अनुसार गरिबका कारण अफ्रिका, दक्षिण एसिया र प्रशान्त टापुहरूमा बिरामीले अझै पनि आवश्यक उपचार पाउन सकेका छैनन् । उच्च रक्तचापका लागि किफायती उपचार भए पनि एउटै स्वास्थ्य सुविधा संसारको हरेक भागमा प्रदान गर्न बीमा प्रणालीको आवश्यकता रहेको डब्लुएचओका नसर्ने रोगका निर्देशक बेन्ट मिकेलसन बताउँछन् ।

धेरैजसो मानिसहरू यसको बारेमा सचेत नहुँदा वा उच्च रक्तचापको लक्षण नदेखिने कारण समयमा उपचार पाएका छैनन् । यो रोगलाई साइलेन्ट किलर पनि भनिन्छ । उपचार नपाउँदा हृदयघात जस्तो प्राणघातक समस्या निम्तिन सक्छ । उच्च रक्तचापको लागि आनुवंशिक जोखिम कारकहरूबाहेक परिवर्तन गर्न योग्य जोखिम कारकहरू जीवनशैलीसँग जोडिएको हुन्छ ।

यसमा मोटोपनाबाहेक अस्वस्थ आहार, शारीरिक व्यायामको कमी, धुम्रपान तथा मदिरापानको सेवन, अनियन्त्रित मधुमेह पनि समावेश छन् । डब्लुएचओका अनुसार हाल विश्वभर १५ करोड मानिसहरू उच्च रक्तचापको समस्याबाट पीडित छन् । सन् २०१९मा १।७९ करोड मानिसको मृत्यु मुटु रोगका कारण भएको छ । जसमा उच्च रक्तचाप एक तिहाई मृत्युको लागि जिम्मेवार रहेको पाइएको छ ।

डब्लुएचओका अनुसार मोटोपनले मुटु रोग, स्ट्रोक र मिर्गौला रोगको जोखिम बढाउँछ । रोयटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here