फुटपाथमै हुन्छ फलफूलको दोकान, उपभोक्ताको स्वास्थ्यमा कसले दिने ध्यान ?

–जितेन्द्र खनाल

काठमाडौं, १३ असार । स्वस्थ रहने हामी सबैको चाहना हुन्छ । स्वस्थ रहनको लागि खानपानमा ध्यान दिनुपर्छ भन्ने पनि हामी सबैलाई थाहा छ ।

स्वस्थकर हुन्छ भनेर हामी विभिन्न किसिमका मौसमी फलफूल खाने गर्छाैं । फलफूल भनेपछि त्यत्तिकै पनि स्वस्थ हुने हाम्रो मान्यता छ ।

त्यसैले अस्पतालमा बिरामी भेट्नदेखि कसैलाई कोसेली लगिदिनुपर्यो भने पनि हामी फलफूल नै किन्ने गर्छौं ।

अझै गर्मी मौसममा त, झनै फलफूल खान राम्रो मानिन्छ । हामी फलफूल खान त खान्छौं तर, के हामीले बजारमा किनेर खाइरहेका फलफूल स्वस्थ र विषादी रहित छन् त ? यसबारेमा भने हामी ध्यान दिँदैनाैं ।

बजारमा हामी देख्न सक्छौं, विभिन्न सपिङ सेन्टर तथा मलहरुमा आकर्षक सिसाको सोकेश भित्र जुत्ता, चप्पलजस्ता सामानहरु बेच्न राखिएको हुन्छ तर, हामीले खाने फलफूल जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ त्यसलाई चैं सडकपेटीमा, असरल्ल बनाएर बेचिन्छ ।

फलफूल बिक्रीमा यस्तो लापरबाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्नेबारे कसैको ध्यान गएको देखिँदैन ।

गर्मी मौसमको सुरुवात काठमाडौंमा फलफूलको बिक्री बढ्ने गर्छ । स्याउ, केरा, आँप, भुँइकटहर, तरबुजा, खरबुजा, अंगुर, लिची आदी मौसमी फलफूलहरु यो मौसममा धेरै बिक्री हुन्छन् ।

फलफूल पसलमा भन्दा सडकपेटी, साइकल वा ठेलामा फलफूल बेच्ने साना व्यापारीहरुले सस्तो दिन्छन् भनेर उपभोक्ताहरु पनि यस्ता व्यापारीहरुकोमा फलफूल किन्ने गर्छन् ।

तर, यस्ता फलफूलहरु कति गुणस्तरीय र विषादीरहित छन् भन्ने बारेमा हाम्रो कमै मात्रामा ध्यान जान्छ ।

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहदा पनि कसैले यसबारेमा गुनासो गर्दैनन् । न त यसबारेमा कसैले अनुगमन नै गर्छन् ।

काठमाडौं बानेश्वरकी सुजिता श्रेष्ठलाई पनि फलफूल बाटोमा बेच्न राखेको राम्रो लाग्दैन । ‘बाटोमा राखिएको फलफूल केहि सस्तो भएपनि राम्रो हुँदैन, तौलमा पनि कमी हुन्छ’, उनी भन्छिन्, ‘त्यसैले केहि महंगो परेपनि म सँधै घर नजिकैको पसलमा मात्रै किन्छु ।’

खुल्ला स्थानमा राखिने फलफूलको सेवनले आम उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पारेको बारेमा कसले बोलिदिने ?

यस विषयमा उपभोक्ताको अधिकार र हालसम्म यस क्षेत्रमा भएका अनुगमनहरुको सम्बन्धमा कुरा गर्दा उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना सरकार निरिह रहेको र खाद्य विभागले पनि उचित ध्यान नदिएको बताउँछन् ।

‘यस विषयमा सरकार र खाद्य विभागहरुले खासै ध्यान दिएका छैनन्’ उनले भने ‘यस्ता फलफूलहरुको कारण उपभोक्ताको स्वास्थ्यमा कस्तो असर गरेको छ, भविष्यमा कस्तो जोखिम उत्पन्न हुन सक्छ भन्नेमा स्वयमं उपभोक्ता समेत अनविज्ञ छन् ।’

यस्ता फलफूलको कारण उपभोक्ताको स्वास्थ्यमा गम्भिर प्रकारको असरहरु समेत परेको उनी बताउँछन् ।

अधिकारकर्मी तिमल्सिना फलफूल वा अन्य कुनै प्रकारका तरकारीहरुलाई पनि सिधा घामको प्रकाश पर्ने स्थानहरुमा राख्न नहुने बताउँछन् ।

‘ओजोन तहको मात्रा पातलो हुँदै गएको छ, यस्तो अवस्थामा सूर्यका हानिकारक किरणहरु सिधा पर्ने कारण स्वास्थ्मा गम्भिर असर पार्छ’, उनले भने ।

पैसा खर्च गरेर विष किन्छन् उपभोक्ता

फलफूल किन्दा ठगिएको महसुस हुने काठमाडौं सामाखुसीका उपभोक्ता सञ्जिव मिश्र बताउँछन् ।

‘विषादी बिनाको फलफुल त आउनै छाड्यो, मैले आँप किने खाँए न त्यसमा कुनै रेशाहरु छन् न कुनै स्वाद छ आँप खाएर म सन्तुष्ट भईन’, उनी भन्छन्, ‘बेला नभएको फलफुललाई जवरजस्ती विषादी हालेर पकाईन्छ यसको असर प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्यमा पर्छ, यस्तो कार्य रोकिनु पर्छ ।’

आजभोली फलफूलमा धेरै मात्रामा विषादीको प्रयोग हुने गरेको पाइने अधिकारकर्मी तिमल्सिना पनि बताउँछन् । कुन मात्रामा विषादीको प्रयोग गर्ने, कुन समयमा प्रयोग गर्ने भन्ने कुनै विषयको ज्ञान नभएका कृषकहरुले धेरै मात्रामा विषादीको प्रयोग गर्ने गरेको उनी बताउँछन् ।

‘उपभोक्ता दुःख गरेर कमाएको पैसाले विष किनेर खान बाध्य भएका छन’ उनले भने ‘यसमा सरकारले चासो देखाउन जरुरी छ ।’

नेपालको संविधानले समेत उपभोक्ता अधिकारलाई मौलिक हकको रुपमा व्याख्या गरेको कारण मौलिक हकको उल्लंघन गर्न नहुने उनले बताए ।

‘आवश्यक पैसा खर्च गरेपछि सामान गुणस्तरीय हुनु अनिवार्य हुन्छ’ उनले भने ‘यस्तो भएको छैन् र यहाँ मौलिक हक नै हनन् भएको छ तर सरकारलाई कुनै प्रभाव परेको छन् ।

त्यस्तै, उपभोक्ता संरक्षण ऐन २०७५ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चत गर्नुका साथै गुणस्तरहीन वस्तु बिक्री वितरण गरेर उपभोक्ताको स्वास्थ्यमा नोक्सान पुगेमा तीन लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजायको व्यवस्था गरेको छ ।

कानूनमा जे व्यवस्था भएपनि नियमिन अनुगमन हुन नसक्दा उपभोक्ता गुणस्तरीय खानेकुरा किनेर खान बाध्य छन् ।

गरणस्तरहिन खाद्य पदार्थ बिक्री बितरण रोक्नको लागि मुख्य रुपमा त सरकारको खाद्य नीति हुनु आवश्यक रहेको अधिकारकर्मी तिमल्सिना बताउँछन् ।

राज्यको खाद्य नीति तथा उपभोक्ता नीति नहँदा उपभोक्ताहरु यस्ता गुणस्तरहिन र अखाद्य बस्तुहरु खान बाध्य रहेको उनले बताए ।

सरकारबाट कुनैपनि प्रकारको प्रयास समेत नभएको उनको भनाइ छ । १० वर्ष अघि देखि फलफूल तरकारी बजारको सहि व्यवस्थापन हुनुपर्छ भनेर सरकारलाई दबाब दिँदा समेत सरकारले उपभोक्ताको स्वास्थ्यमा ध्यान नदिएको उनी बताउँछन् ।

‘उपभोक्ताले सामानको मूल्य तिरेपछि मूल्य अनुसारको गुस्तरीय उत्पादन प्राप्त गर्नु उपभोक्ताको नैसर्गिक अधिकार हो’ उनले भने ‘तर त्यो अधिकारको रक्षा गर्नको लागि सरकारले जे जे काम गर्नुपर्थ्यो त्यो काम नगरेका कारण जनाताको अधिकार हनन् भएको छ ।’

कसरी गर्न सकिन्छ नियन्त्रण ?

हालसम्म ठुलो नतिजा ल्याउन सक्ने गरी यस क्षेत्रमा अनुगमन नभएको तिमल्सिना बताउँछन् । पसले र उपभोक्ताहरु यसबारेमा अनविज्ञ भएको कारण जनचेतना फैलाउन समेत आवश्यक रहेको उनको धारणा छ ।

खाद्यवस्तुको स्वच्छता कायम गर्नको लागि विभिन्न प्रकारका अभियान सुरु गर्नुपर्ने आवश्यकता उनी औंल्याउँछन् ।

कृषक तथा उपभोक्तालाई जागरुक बनाउनुका साथै व्यवसायीलाई पनि फलफुल र अन्य सामग्रीहरु न्युनतम तापक्रममा मात्रै भण्डारण गरेर राख्ने व्यवस्था मिलाउन पर्ने उनको सुझाव छ ।

सबैभन्दा महत्वपूर्ण कुरा सरकार जिम्मेवार बन्नुपर्ने र व्यवसायीहरु पनि ईमान्दार बन्नुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here