काठमाडौं, २० मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा ओमिक्रोन पुष्टी भएपछि सबैजसो मुलुकका यात्रामाथि प्रतिवन्ध लागेको छ ।
अझ विकसित मुलुक यो मामलामा अगाडी छन् । उनीहरुले मुलुक भित्र सामाजिक दूरीसहितका मापदण्ड निकै खुकुलो बनाएका छन् । तर, अन्तरदेशिय यात्रामा भने प्रतिवन्ध लगाएका छन् ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त आफ्नो देशमाथि लगाइएको यात्रासम्बन्धी प्रतिबन्धको आलोचना गर्दै कोरोनाको फैलावटमा विकसित मुलुकहरुकै हात रहेको बताउँछन् ।
उनको तर्क, विकसित मुलुकमा नागरिकले खोप नलगाउनु र ती मुलुकले अनावश्यक खोप थुपारेर गरिब मुलुकमा खोपको अभाव हुनुलाई कोरोनाको फैलावटमा मूख्य कारण मान्छन् । उनले भनेका छन्, ‘यात्रामाथिको प्रतिबन्ध विज्ञानका आधारमा लगाइएको होइन, न त यो भेरियन्टको विस्तार रोक्न नै प्रभावकारी पुष्टी भएको छ ।’
ओमिक्रोन उत्पत्ति भएको पुष्टि भएपछि विश्व स्वासथ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक सुझाव जारी गर्यो । जसमा भनिएको थियो, यात्रा प्रतिबन्धले मात्र भेरियन्ट फैलिन रोकिँदैन ।
यात्रा प्रतिबन्धले मानिसहरूको जीवन र जीवयापनलाई कष्टकर बनाउनेमा डब्लुएचओ समेत स्पष्ट छ । सन् २०२० मा कोरोनाभाइरस महामारी सुरु हुँदा डब्ल्यूएचओले यात्रा प्रतिबन्ध उपयुक्त र प्रभावकारी नहुने बरु त्यसले आर्थिक र सामाजिक रूपमा नराम्रो प्रभाव पार्ने भनेको थियो ।
अन्तर्राष्ट्रिय ट्राफिकलाई उल्लेख्य रूपमा हस्तक्षेप गर्ने यात्रासम्बन्धी उपाय प्रकोपको सुरुमा औचित्यपूर्ण हुन्छ किनभने त्यसले देशहरूलाई नियन्त्रणका लागि समय दिन सक्छ,ू उसले त्यतिबेला भनेको थियो। विश्व स्वास्थ्य सङ्गठनको उक्त भनाइको अमेरिकी तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गरेका थिए। चीन र युरोपबाट हुने उडानहरू रोक्न उनको निर्णय विफल भएको थियो।
सङ्गठनको सुझाव सिङ्गापुर, ताइवानजस्ता एशियाली देशहरूले बेवास्ता गरेर चीनमाथि सुरुमै यात्रा प्रतिबन्ध लगाएका थिए। पछि विश्वका अन्य देशले पनि सोही कदम चालेका थिए ।
डब्ल्यूएचओले खोपका कारण वा सङ्क्रमण भइसकेका कारण मानिसमा बढिरहेको रोग प्रतिरोध क्षमताबारे हेक्का राखिनुपर्ने बताएको छ। अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध लगाउँदा भेरियन्टको फैलावट र परीक्षण तथा क्वारन्टीनजस्ता उपायको प्रभावकारिता ख्याल गर्नुपर्ने उसको मान्यता छ।
यद्यपि उसका अनुसार भाइरसको भेरियन्टले खतरा निम्त्याउन सक्छ भनेर चिन्तित देशहरूले सतर्कतासम्बन्धी दृष्टिकोण अवलम्बन गर्नुपर्ने र यात्रा प्रतिबन्ध पनि सीमित समयावधिका लागि थप कठोर प्रतिबन्ध लगाउनुपर्नेछ। गत वर्ष महामारीको प्रारम्भिक चरणपछि गरिएको अध्ययनले सुरुका चरणमा लगाइएका यात्रा प्रतिबन्धको भाइरसलाई केही मत्थर पार्न प्रारम्भिक रूपमा असर रहने जनाएको थियो।
सन् २०२० को डिसेम्बरमा नेचर जर्नलमा प्रकाशित अनुसन्धानले एकदमै सुरुमा त्यसले काम गरे पनि ढिला यात्रा प्रतिबन्ध लगाउँदा कम प्रभावकारी हुने जनाएको थियो। यो नेपालको सन्दर्भमा समेत लागु भएको थियो ।
गत अक्टोबरमा जर्मनीस्थित डब्ल्यूजेडबी बर्लिन सोशल साइन्स सेन्टरले गरेको अध्ययनले १८० भन्दा बढी देशमा यात्रा प्रतिबन्ध र मृत्युदरबारे गरेको अध्ययनले पनि समान खालका निष्कर्ष निकालेको थियो।
१० वा त्योभन्दा बढी जनाको मृत्यु पुष्टि हुनुअघि देशहरूले लगाएको यात्रा प्रतिबन्धको प्रभाव धेरै रह्यो । प्रवेशमाथिको प्रतिबन्धभन्दा यात्रुहरू अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम थप प्रभावकारी रह्यो ।
सबै विदेशी यात्रुमाथि सोलोडोलो प्रतिबन्ध लगाउनुभन्दा खास देशहरूलाई लक्षित गरी प्रतिबन्ध लगाउँदा त्यसको प्रभाव बढी रहेको देखिएको थियो । बेलायतमा महामारीको सुरुमा गरिएको अध्ययनका अनुसार थोरै यात्रा प्रतिबन्ध लगाएको बेला हजार जनाभन्दा बढी कोभिडका बिरामी देखिइसकेका थिए।
उनीहरू प्रायः युरोपेली देशबाट आएका थिए। लन्डनस्थित क्वीन्स मेरी विश्वविद्यालयकी सङ्क्रामक रोगविज्ञ डा. दीप्ति गुर्डासनीले यात्रा प्रतिबन्धले सङ्क्रमणलाई सुस्त बनाए पनि कोरोनाभाइरस विश्वमा यसअघि नै धेरै भागमा फैलिसकेकाले अब प्रभावकारी नहुने बताउँछिन् ।
यात्रा प्रतिबन्ध लगाउनुभन्दा परीक्षण र आइसोलेशनको राम्रो नीति हुनुपर्ने उनको तर्क छ । महामारीको प्रारम्भिक चरणसँग तुलना गर्दा अहिलेको मुख्य भिन्नता भनेको अहिले विश्वभरि नै खोप दिइँदैछ। यद्यपि,खोप लगाउने गति भने देशअनुसार फरक छ।
बीबीसीको सहयोगमा