प्रयोग गर्न नजान्दा ग्यास गिजरले लिनसक्छ ज्यान !

रक्षा रेग्मी

काठमाडौं,२० मंसिर । ‘केही दिन अघि मेरो एक मित्रकी छोरी नुहाउन बाथरुम छिरेको १ घण्टासम्म बाहिर ननिस्किएपछी ढोका फोरेर हेर्दा बेहोस अवस्थामा फेला परिन ।

गिजर चलाएर नुहाएकी उनलाई अस्पताल त लगियो तर डाक्टरले मृत्यु भइसकेको बताए । आज दिनभर मुटु दुखेको जस्तो भइरहेको छ। साह्रै नरमाइलो लागेको छ ।’ सामाजिक सञ्जाल ट्वीटरमा यादव देवकोटा लेख्छन् ।

एक साता अघि पोखरामा पनि त्यस्तै घटना भयो । पोखराका विष्णु सिग्देल सुनाउछन् ‘मेरो फुपुको छोरा बाथरुम छिरेको लामो समयसम्म बाहिर नआएपछी ढोका फेरेर हेर्दा बेहोस अवस्थामा भेटिए । तत्काल अस्पताल पुर्याएकोले उनको ज्यान बच्यो ।

त्यस्तै काठमाडौंको आर्मड पोलिस हस्पिटल (एपीएफ) मा केही दिन अघि १३ बर्षकी किशोरी त्यसो त बाथरुममा नुहाउँदा नुहाउँदै बेहोस भएको भनेर इमर्रजेन्सीमा ल्याइएको थियो । उपचार पश्चात उनी अहिले ठिक भएर घर फर्किसकेकी छिन् ।

यी त प्रतिनिधि घटना मात्र हो । बाथरुममा निसास्सिएर बेहोस हुने तथा मृत्युसम्म हुने घटना बार्षिक रुपमा धेरै सुनिन थालेको छ । सबै घटनाको एउटा कारण हो, ग्यास गिजर ।

एपीएफ अस्पताल तथा पारिजात क्लिनिकका जनरल फिजिसियन एमडी इन्टरनल डाक्टर अपूर्व श्रेष्ठ सकेसम्म ग्यास गिजर नै प्रयोग नगर्न सल्लाह दिन्छन् ।

‘कुनै घटना हुन दिनु भन्दा शुरुमा सावधानी अपनाउन बेश, म त ग्यास गिजरको विकल्पमा सोलार वा त्यो सम्भव नभए तातोपानीले नुहाउन सुझाव दिन्छु’ उनले भने । साथै ग्यास गिजर नै प्रयोग गर्न परे विभिन्न सावधानी अपनाएर मात्र प्रयोग गर्नुपर्ने उनले बताए ।

कसरी हुन्छ दुर्घटना ?

ग्यास गिजरले कार्वन मनोअक्साइड उत्पादन गर्छ । जुन रङहिन तथा गन्धहिन हुन्छ । जसले गर्दा हामीले कार्वन मनोअक्साइड कोठामा फैलिदा पनि थाहा पाउदैनौ । यसले हाम्रो शरिरको हेमोग्लोविनमा भएको अक्सिजनलाई रिप्लेस गर्छ । दिमागमा अक्सिजन नपुगेपछी रिंगटा लाग्ने तथा बेहोस बनाउछ ।

‘हामीमध्य प्रायको नुहाउन बाथरुम छिर्दा झ्याल ढोका लगाएर मात्र ग्यास गिजर चलाउने बानी हुन्छ । त्यसपछि ग्यास गिजरबाट निस्कने कार्वन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जान्छ । झ्याल ढोका बन्द भएकोले अक्सिजन भित्र छिर्न पाउदैन । अक्सिजन कमी हुन्छ र मानिस बेहोस हुन्छन्।’ डाक्टर श्रेष्ठ भन्छन्

प्रायजसो वाथरुम साँघुरो हुने तथा हावा आवतजावत गर्ने ठाँउ नहुँदा बाथरुममा पर्याप्त अक्सिजन पुग्दैन । त्यसले यस्तो घटना निम्त्याउछ ।

शरिरमा अक्सिजन कम भएपछी शुरूमा टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ । त्यसैले नुहाउँदा आफुलाई टाउको दुखेको वा रिंगटा लागेको महशुस भएमा तत्काल बाहिर निस्कने वा गिजर बन्द गरेर झ्याल ढोका खोल्नु पर्छ । किनकी वेवास्ता गर्दा विस्तारै दिमागले काम गर्न छोड्छ र मानिस बेहोस हुन्छ । लामो समयसम्म बेहोस भएको थाहा नपाउदा मृत्यु हुन सक्छ ।

डाक्टर श्रेष्ठ गिजर अन गरेर लामो समयसम्म बाथरुममा नबस्न सुझाउछन् । ‘कसैको लामो समयसम्म वाथरुममा नुहाउने बानी हुन्छ, सकेसम्म छोटो समयमा निस्किनु पर्छ ।’ त्यस्तै बेलाबेलामा गिजर बन्द गर्ने बानी बसाल्नु पर्छ ।

त्यसो त ग्यास गिजर किन्दा तथा जोड्दा यसको प्रयोगबारे जानकारी नराख्दा पनि जोखिम बढेको देखिन्छ । हामीमा ग्यास गिजर किन्दा तथा जडान गर्दा कसरी गर्ने, के नगर्ने भन्ने जस्ता प्रश्न गर्ने बानी छैन । ग्यास गिजर विक्रेताले पनी त्यसबारे जानकारी दिएको पाइदैन् । त्यसैले यस्तो दुर्घटना बढेको छ।’

त्यस्तै जाडो महिनामा कोठा तताउन झ्याल ढोका बन्द गरेर हिटर तथा मकल बाल्दा पनी यस्ता घटना हुने गरेका छन् । यदी बेहोस भइहालेमा बिरामीलाई तत्कालै खुल्ला ठाउँमा वा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here