बाबुराम पौडेल
शिक्षा नीतिमा सैद्धान्तिक परिवर्तन आए पनि व्यवहारिक रुपमा हेर्ने हो भने शून्य नै छ । पाठ्यक्रम विकास केन्द्रले धेरैजसो विषयमा प्रयोगात्मक २५ अंक छुट्टाए पनि शिक्षा क्षेत्रमा यसलाई सही सदुपयोग गर्न सकेको देखिँदैन ।
व्यवहारिक ज्ञान साच्चिकै लिएका भए आज किन नेपालीहरु बिकासका पूर्वाधार पहिले नै सिर्जना भएको ठाउँमा विदेशिनु पर्थ्यो र ? आफूमा भएको ज्ञान र सीपको माध्यमबाट आफ्नै देशमा पूर्वाधारको विकास गरी अनेकौ रोजगार सिर्जना गर्नसक्थे ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमलाई आधार मानेर अध्ययन अध्यापन कार्यलाई अगाडि बढाउनु आजको आवश्यकता देखिन्छ । मानवको तेस्रो आँखा शिक्षालाई तीन घण्टामा दिने परीक्षाको परिणामलाई मानेर ब्यक्तिको मुल्यांकन गर्नु सरासर गलत हुनसक्छ ।
शिक्षा विद्यालयमा अध्यापन गराउँदा आफ्नो क्रियाकलाप नभईकन विद्यार्थीको क्रियाकलाप केन्द्रमा राख्नु उचित देखिन्छ । अहिलेको यो समयलाई विज्ञान र प्रविधिको समयमा शिक्षकले अध्यापन गराउँदा परम्परागत शिक्षण विधिलाई त्यागी प्रविधिको माध्यमबाट सिकाउन सकिने तरिकालाई अबलम्बन गरिनु आवश्यक छ ।
यसका अलवा शिक्षकले विद्यार्थीलाई घोक्न दिनेभन्दा पनि कसरी उसले लामो समयसम्म स्मरण गर्न सक्छ भन्ने विधि अपनाएमा शिक्षण कार्य प्रभावकारी बन्नेछ ।
त्यसै गरी कक्षा कोठा भित्र गएपछि भाषण बिधिबाट पढाउने परम्पराको अन्त्य गर्नुपर्छ । हरेक विषय शिक्षकले आफ्नो विषयलाई प्रयोगात्मक शैलीबाट शिक्षण गर्न गराउन जान्नुपर्छ ।
यसरी शिक्षकको शिक्षण विधिमा काँचुली फेर्न शिक्षा सम्बन्धित निकायले समय समयमा शिक्षकलाई तालीम दिनु र तालीममा प्राप्त ज्ञान र सीप कक्षाकोठामा प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।
शिक्षालाई गम्भिर रुपमा लिन सम्बन्धित निकायको ध्यान जाओस भन्ने चाहना छ । त्यसो त समय समयमा दिइने तालिमबाट पनि शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन सकिन्छ ।
बच्चाको शिक्षा क्षेत्रलाई बलियो बनाउन अभिभावकको भूमिका पनि महत्वपूर्ण हुन्छ । यसमा कुनै दुईमत नै छैन । सर्वप्रथम अभिभावकले आफ्नो बच्चा प्रति गरिने जिम्मेवारीलाई ख्याल राख्नुपर्छ ।
बच्चा भन्दा पैसालाई अगाडि सारेमा बच्चा आफै साहारा विहिन हुन्छ र उसमा नकरात्मक सोचको विकास हुन्छ । यसरी शैक्षिक प्रक्रियामा कमी आउनेछ । अझ भन्ने हो भने विद्यालयमा विद्यार्थीले परीक्षा दिई सकेपछी नतिजा प्रकाशन गर्दा अभिभावकको उपस्थिति धेरै कम देखिन्छ ।
यस्तै गरि बच्चाले घरमा रहँदै राम्रा नराम्रा कार्य के गरेको छ भन्ने कुराको निगरानी गर्न पनि आधुनिक अभिभावकलाई फुर्सद हुँदैन । यसले गर्दा पनि विद्यार्थीको दिमाग एकाग्र हुन पाउदैन र उसले प्राप्त गर्ने ज्ञान तथा सिपमा प्रत्यक्ष असर परेको हुन्छ ।
यसरी नियाल्दाखेरि अभिभावकले पनि बच्चाको शिक्षालाई प्रभाबकारी बनाउन भूमिका खेल्छ भन्ने कुरालाई पुष्टि गर्दछ । शिक्षा क्षेत्रलाई बुलन्द तरिकाले लैजानका लागि शिक्षक, अभिभावक अथवा शिक्षा क्षेत्रसँग सम्बन्धित निकाय मात्र नभईकन विद्यार्थीको पनि धेरथोर हात रहेको हुन्छ ।
शिक्षाको महत्वबारे ज्ञान हुँदा–हुँदै पनि विद्यार्थीहरु बेवास्ता गरेको पाइन्छ । अहिले बजारमा आएका विज्ञान र प्रविधिको सामग्रीले उनीहरुलाई आकर्षण गरेको छ ।
यो उनीहरुलाई थाहा हुँदाहुँदै पनि आकर्षित भएका छन् । कोराना काल सुरु भएदेखि अहिलेसम्म आउँदा उनिहरुमा पढाइ प्रती रुचि धेरै कम पाइन्छ।हरेक बिद्यालय ठप्प रहे ।
यसरी हेर्दा बिद्यार्थीहरु घर रहदा बजारिया सामग्रीले उनीहरुमा भएको ज्ञान र सिपमा कमी आयो।यो सबै उनीहरुले नजानेर होइन ।जान्दाजान्दै उनीहरु आफै फसिरहेका छन।
अर्को कुरा उनीहरुले पढाईलाई परीक्षामा लेखिने कुरामा सिमित बनाएका छन ।यसरी उनीहरुले शिक्षाको महत्त्वलाई पुनः एकचोटि सोच्न आवश्यक देखिन्छ।विद्यार्थी आफैले सोतह रुपमा भित्र बाट पढाईमा रुचि निकालेमा ज्ञान र सीप विकास हुन्छ ।
अन्तमा शिक्षाले मानिसदेखि राष्ट्रसम्ममा चमत्कार ल्याउन सक्छ। यसका लागी सबै क्षेत्रबाट आफूले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी हुन पर्छ। यस विषयलाई कुनै खेलबाड गर्नु हुँदैन ।
शिक्षासँग सम्बन्धित निकायले शिक्षकलाई तालिम दिने ,अभिभावक र बच्चालाई शिक्षाको महत्व बुझाएमा चारैतिरको विकास तिव्र गतिमा बढ्छ। शिक्षा क्षेत्र बलियो र मजवुत बनाउन सबै आ-आफ्नो ठाउँबाट उभिन आवश्यक देखिन्छ।